प्रतिनिधि सभामा पराजित गौतम राष्ट्रिय सभा सांसद



नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको छ । गत
प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित हुनुभएका गौतम ३४ महिनापछि माननीय बन्नुभएको हो ।

राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनका लागि नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय गरेसँगै निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको थियो ।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभएको छ । शपथपछि सञ्चारकर्मीसँग उहाँले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्दै राष्ट्रियसभाको गरिमा बढाउन नियमावलीअनुसार काम गर्ने बताउनुभयो । उहाँले समाजवादमा जाने संकल्प पूरा गर्न भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको बताउनुभयो ।

गौतम राष्ट्रियभसा सदस्य बनेसँगै अब नेकपाका नौ सदस्यीय सचिवालयमा सबै जना सांसद भएका छन् । नौ सदस्यीय सचिवालयमा ३ जना राष्ट्रिय सभा र ६ जना प्रतिनिधिसभा सदस्य रहेका छन् ।

उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सदस्य रामबहादुर थापा राष्ट्रिय सभा सदस्य हुन् भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल प्रतिनिधि सभाका सदस्य हुन् ।

गोरखाबाट गत प्रतिनिसभा निर्वाचनमा पराजित हुनुभएका प्रवक्ता श्रेष्ठलाई नेकपाले केही समयअघि राष्ट्रियसभा सदस्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्