दुई संकटका बीच गुडाउनै पर्ने जिन्दगीको गाडी



कपिल काफ्ले, काठमाडौं ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस र आर्थिक संकटका बीच जिन्दगीको गाडी गुडाउनै पर्ने अवस्था देखाउनुभएको छ । ठूला खाल्टा र ढुंगाहरुबाट गाडीका चक्का बचाउँदै अघिबढेको अवस्थालाई साहित्यकार पनि रहेका मन्त्री ज्ञवालीले सटिक व्याख्या गर्नुभएको छ ।

‘स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनै पर्ने भएको छ, व्यवसाय चलाउनै पर्ने, बजार खोल्नैपर्ने भएको छ, तर स्वास्थ्य जेसुकै होस् भनेर अघि बढ्ने अवस्था पनि छैन।’ –कोरोना महामारीको संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएकाले अर्थतन्त्रमा संकट बढ्दै गएको मन्त्री ज्ञवालीले स्वीकार गर्नुभएको छ ।

बिहीबारको एक पत्रकार सम्मेलनमा ज्ञवालीले लाखौंको रोजगारी गुमेको, दैनिक ज्याला मजदुरी गर्नेहरु संकटमा परेको, बैंकबाट ऋण लिएर पेसा व्यवसाय गर्नेहरुलाई ठूलो संकट परेको र पेसा व्यवसाय नभएपछि राजस्व पनि नउठ्ने भएकाले मुलुकको अर्थतन्त्रमा असर परेको कठिन अवस्थाको चित्रण गर्नुभयो ।

बिहीबारदेखि नै सरकारले लामो दूरीका सवारी साधन चल्न अनुमति दिएको छ, आगामी सातादेखि आन्तरिक उडान पनि चल्ने भएका छन् । तर कोरोना घटेको छैन, बरु बढिरहेको छ । यस्तो बेला विश्वका त्यस्ता मुलुकलाई आदर्श मानेर उनीहरुको बाटो अनुशरण गर्नु आवश्यक भएको छ– कोरोना भाइरसबाट बच्दै, यसको संक्रमण रोक्दै अर्थतन्त्र चलायमान बनाएका समाजको संख्या पनि बढिरहेको छ ।

छिमेकी चीन कोरोना भाइरसलाई पूर्णतः परास्त गर्न सफल मुलुक हो, तर उसले नागरिकको गोपनीयताको हकलाई समेत दाउमा रोखेर व्यक्ति–व्यक्तिको ‘ट्रेसिङ’ ग¥यो, यो नेपालजस्तो लोकतान्त्रिक मुलुकमा सम्भव छैन । यसभन्दा पनि हामीसँग स्रोत–साधनको विकास नै त्यस स्तरमा पुगेको छैन । त्यसैले चीनको बाटो हाम्रा लागि चाहेरै पनि अनुकरणीय देखिँदैन ।

विकसित अमेरिकी र युरोपेली मुलुकका केही सफलताका कथा पनि मननीय छन्, तर त्यसलाई पछ्याउन पनि स्रोत–साधनले साथ दिँदैन । अफ्रिकी मुलुक बोत्स्वानाजस्तालाई पछ्याउनु व्यावहारिक हुनेछ । नेपालजस्तै भूपरिवेष्ठित बोत्स्वानामा गत फाल्गुन महिनामा पहिलो संक्रमित फेलापरेका थिए । विश्व स्वास्थ्य संगठनको निर्देशिकाको पूर्ण पालना र पहिलादेखि नै सतर्कता अपनाएका कारण कोभिडलाई जित्न यस गरिब मुलुकलाई सफलता मिलेको विज्ञहरुको भनाइ छ ।

सन् १९६६ मा बेलायती उपनिवेशबाट मुक्त यस मुलुकको प्रतिव्यक्ति आय ७० अमेरिकी डलर रहेको छ, जब कि नेपालको अवस्था योभन्दा निकै राम्रो छ । तर, नेपालले कल्पनै गर्न नसक्ने काम बोत्स्वानाले गरेको छ ‘कोरोनामुक्त मुलुक’ घोषणा गरेर । चिसोमा माइनस २३ डिग्रीसम्म तापमान घट्ने यस मुलुकमा चीसोमा कोरोना भाइरस बढ्छ भन्ने मान्ने हो भने यसको सतर्कता गतिविधिको अझ बढी प्रशंसा गर्नुपर्ने हुन्छ ।

स्थायी अर्थतन्त्र, शान्तिपूर्ण राजनीतिक पद्धति, मानव अधिकारको सम्मान गर्ने बोत्स्वाना मार्चको पहिलो सातादेखि नै कोभिडका लागि जनताको निःशुल्क परीक्षण शुरु ग¥यो । विद्यालय–विद्यालयमा हातधुने पाठ सिकाइयो र विद्यार्थीलाई आ–आफ्ना अभिभावकलाई पनि सिकाउन भनियो । मार्च महिनामै कोरोना भाइरस नियन्त्रणका लागि एक कानुन जारी गरियो र पालनाका लागि जनतामा अनुरोध गरियो ।

बोत्स्वानाले छिमेकी चार मुलुकको सिमाना पहिला नै बन्द गरिदियो । अब सिमाना खोल्नुपर्छ भन्ने माग आज पनि उठिरहेको छ, तर आमजनता र मुलुकको हितका लागि सरकारले नखोल्ने अडान कायम नै राखेको छ । साथै, क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापनका कारण पनि संक्रमण समयमै नियन्त्रण गर्न सम्भव भयो । नेपालका लागि आपूर्तिमा भारतको जस्तो स्थान छ बोत्स्वानाका लागि दक्षिण अफ्रिकाको स्थान त्यही नै छ, तर उसले विभिन्न दबाब सहेको छ तर सिमाना खोलेको छैन ।

दैनिक एक लाख निकट संक्रमितको संख्या थपिइरहेको छिमेकी मुलुक भारतमा मृत्यु हुनेको कुल संख्या पनि एक लाख पुग्ने क्रममा छ । तर पनि यसका केही क्षेत्रमा कोरोनाको नियन्त्रण उदाहरणीय मानिन्छ । भारतको दक्षिणी राज्य केरलाले कोभिड नियन्त्रणमा प्रशंसा पाइरहेको छ । प्रान्तीय राजधानी त्रिभान्द्रमको निकटमै रहेको पुन्थुरा माछा मारेर गुजारा चलाउने समुदायको बस्ती हो ।

त्यहाँ ‘घरमै बस’को आदेश यसरी पालना गरियो कि तीव्र गतिमा बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणमै आयो । ‘माछा बजार नै भाइरस संक्रमणको स्रोत सावित भएपछि त्यहाँ निश्चित समयसम्म कसैले पाइलो टेकेन’, अमेरिकाको वासिङ्टनमा बसेर भारतमा कोभिडको अवस्था हेरिरहेका डा. लाल सदासिभवले भन्नुभयो– ‘सीमाभित्र रहने र सिमाना बन्द गर्ने उपायले नै कोरोना संक्रमणलाई रोक्न सकिन्छ ।’

नजिकै आएको ठूलो चाड मान्ने तत्परता देखाएका र असोज १ देखि खुलेको यातायात सेवालगायतका अन्य व्यवसायमा आबद्ध कतिपय नेपालीले पनि विश्वका यस्तै उदाहरणबाट प्रेरित हुनु आवश्यक भएको छ ।

प्रतिक्रिया दिनुहोस्