क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे



नेपाल समाचारपत्र, काठमाडौं

सरकारले कोरोना संक्रमितको आशंकामा देशभर निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका १५ जनाले आत्महत्या गरेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमण नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन निर्माण गरिएको थियो ।

खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले क्वारेन्टाइनमा नै बस्दा आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुले त्यहाँको बासस्थानको अवस्था तथा कोरोना संक्रमण पुष्टि भए मरिने डरले पनि आत्महत्या गरेको विज्ञहरुले बताएका छन् ।

यसपटक क्वारेन्टाइनमा बस्दै आएका महिलाभन्दा बढी पुरुषले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नुको कारण भने अहिलेसम्म नखुलेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा बसेकामध्ये पाल्पा, बझाङ, रोल्पा, दैलेख, अर्घाखाँची, सुर्खेत, बाजुरा, महोत्तरी, सर्लाही, बुटवल, बैतडी, गोरखा, बागलुङ, झापा र महोत्तरीमा एक–एक गरी जम्मा १५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । भदौसम्मको तथ्यांकमा क्वारेन्टाइनमा आत्महत्या गर्नेमा एक महिला र बाँकी पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

विगत ६ महिनामा नेपालमा ३ हजार ४ सय १५ जनाले आत्महत्या गरेका छन् । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा रहेको छ । गत असार र साउनमा आत्महत्या गर्ने संख्या अत्यधिक रहेको छ । गत असारमा आत्महत्या गर्नेको संख्या ९ सय ७२ रहेको थियो भने साउनमा ७ सय ९ जनाले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । राजधानीमा भन्दा बढी उपत्यकाबाहिरका व्यक्तिहरुले आत्महत्या गरेको देखिन्छ । चरम गरिबी, अभाव र हिंसाका कारण पनि आत्महत्या गरेको देखिन्छ ।

नेपालमा हरेक दिन २८ जनाले विभिन्न कारणले आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । गत आर्थिक वर्षमा ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए । अघिल्लो आर्थिक वर्षमा हरेक दिन मुलुकभर १७ जनाका दरले आत्महत्या गरेको देखिएको थियो । यो वर्ष कोरोना संक्रमणको महामारीका कारण पनि आत्महत्या गरेको हुन सक्ने आशंका विज्ञहरुले गरेका छन् ।

आर्थिक वर्ष २०७५–२०७६ मा ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेको पनि प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्