आजबाट महानगरका १० वडाको राजस्व प्रणाली अनलाइनमा

प्रविधिमा आधारित सेवाले करदातालाई निसंकोच बनाउँछ : प्रमुख प्रशासकीय अधिकृत अर्याल



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरले आजदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागु गर्ने योजनासहित आज वडा २६ बाट सेवा सुरु गरिएको हो ।

वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । सापकोटाले भूमिकर शीर्षकमा विवरण भर्नुभएको थियो ।

सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले -‘ महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताउनुभयो । ‘राजस्व प्रशासनमा करदातालाई बिश्वाश दिलाउनु पर्छ । करदातामा सार्वजनिक निकायप्रति बिश्वाश भयो भने राजस्व संकलन बढ्दै जान्छ । सार्वजनिक प्रशासन पहिलेको जस्तो होइन । अवको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प हो ।‘ उहाँको भनाइ थियो ।

महानगर स्थानीयप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउनु पर्छ । आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयले महानगरको सुशासनमा बिश्वाश गर्नुहुन्छ । त्यसैले पनि शासनलाई अनलाइनमा नलगी सुखै छैन ।’

अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजस्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्छ । त्यस अवसरमा सहसचिव राजेश्वर ज्ञवालीले भन्नुभयो — ‘अब प्रविधिविनाको सेवा व्यवस्थापन कल्पना गर्न सकिँदैन । महानगरले प्रविधि पूर्वाधारमा लगानी बढाएर सेवा व्यवस्थापन र सुविधा वितरणमा थप काम गर्नेछ । प्रणाली सुरु गरिसकेपछि प्रतिक्रिया दिँदै वडा २६ का अध्यक्ष एवं सूचना प्रबिधि समितिका सदस्य ख्यामराज तिवारीले, विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गर्नुभयो । ‘डिजिटल साक्षरताको दर बढ्दै गएको छ । यसकारण सेवाग्राहीले प्रणालीमा सजिलै पहुँच राख्नुहुनेछ । यसले चुस्त सेवा प्रवाहमा ठूलो योगदान हुनेछ ।’ तिवारीको भनाई थियो ।

प्रविधि प्रयोगको प्रारम्भिक चरणमा केही असजिलो हुन सक्छ । यसलाई क्रमशः आनीबानीमा रुपान्तरण गर्दै जानु पर्छ । प्रविधि प्रयोगको दिगोपनाका बिषयमा कुरा गर्दै राजस्व बिभागका प्रमुख नुरनिधि न्यौपानेले भन्नुभयो — ‘हामी वडाका कर्मचारीको क्षमता बिकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेका छौं । यसलाई सबैको पहुँचमा लैजान्छौं ।’

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीकाअनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो । यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ ।’ अधिकारीको भनाइ छ ।

यो कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यसलाई नेपाल सरकारले सञ्चालनमा ल्याउन लागेको नागरिक एपमा इन्टिग्रेसन गराइसकिएको छ । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउनु हो । विद्युतीय सुशासनलाई स्थानीयकरणको पूर्वाधार बनाउनु यसको कार्यान्वयनपछि प्राप्त हुने उपलब्धी हो ।

अब महानगरबासी सबैले आफूले महानगरलाई तिर्नु बुझाउनु पर्ने तिर्न बुझाउन धाएर वडा वा राजस्व बिभागमा पुग्नु पर्र्दैन । काठमाडौं महानगरको वेभ पेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपि मा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारकार कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।

बिद्युतीय सुशासनका लागि यस अघि पनि प्रयास भएका छन् । अहिले कोविड १९ महामारीले व्यक्ति-व्यक्तिबीचको भौतिक दुरी टाढा बनाउने अवस्थाको माग गरिरहेको छ । यसबेला महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई बिद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिन्छ ।

यसप्रकारको शासन प्रणाली जनमुखी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बन्नेछ । प्रणालीका विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा. लि. का अध्यक्ष बसन्त वन भन्नुहुन्छ – ‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँचयोग्य बनाउन यस प्रकारको प्रणाली अनिवार्य आवश्यकता हो । कोरोना महामारीका कारण स्वयं उपस्थित भएर सेवा प्रदान गर्न असहज भएको यस अवस्थामा विद्युतीय प्रणाली विकास गर्ने र कार्यान्वयन गर्ने उपयुक्त अवसर पनि हो ।’

यस प्रणालीको पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो । पब्लिक पोर्टलमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर, घर नक्सापास दस्तुरलगायतका सम्पूर्ण कर र दस्तुरका बारेमा विवरण भर्ने, प्रारम्भिक करको अङ्क प्राप्त गर्नेलगायत सुबिधा लिन सक्छन् ।

सेवा कसरी लिने ?

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले महानगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्याङ्क करदाता आफैंले घरमै बसेर गर्न सक्ने सुबिधा छ । करदातासँग सम्बन्धित र सोधिएका÷माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजस्वको अङ्क देखाउँछ । यसबाट महानगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धी हो ।

करदाताको विवरण पेस भएपछि कर मूल्याङ्कन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मुल्याङ्कनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा, कनेक्टआईपीएस, खल्ती, फोनपे, आईएमईपे, प्रभु पेलगायत) बाट भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएको रकम सम्बन्धि सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्