ट्रम्प अमेरिकाका सबैभन्दा राम्रा राष्ट्रपति : असद



सिरियाली राष्ट्रपति बसर अल असदले एक अन्तरवार्तामा आफ्नो विचारमा डोनाल्ड ट्रम्प अहिलेसम्मकै सबैभन्दा राम्रो अमेरिकी राष्ट्रपति भएको बताए ।

राष्ट्रपति ट्रम्प अरबको तेल हत्याउने अमेरिकी मनसायलाई लिएर इमान्दार रहेकाले उनी वास्तव मै अमेरिकाको अहिलेसम्मकै सबैभन्दा राम्रा राष्ट्रपति भएको असदको भनाइलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । तर अमेरिकी बलले आईएसआईएस नेता अल बगदादीलाई मारेको ट्रम्पको घोषणामा आफुलाई आशंका रहेको असदले बताए ।

यस विषयमा उनी रुसी धारणाको पक्षमा देखिएका छन् । रुसले पनि उक्त घोषणालाई लिएर थप प्रमाण देखाउनु पर्ने माग गरेको थियो । सिरियाबाट अमेरिकी फौज हटाउने ट्रम्पको निर्णयले टर्कीलाई त्यहाँका कुर्द विरुद्ध सैन्य कारवाही थाल्न मार्ग प्रसस्त गरेकोमा त्यसलाई आफ्नै कुर्दिस गठबन्धनलाई अमेरिकाले दिएको धोकाका रुपमा लिइएको थियो । यस मुद्दामा असदले सिरियामा टर्किस बल वा इदलिबमा लडाकुहरु विरुद्ध कुनै पनि सैन्य कारवाही गर्नु अघि कुटनितिक पहल हुन आवश्यक भएको बताए ।

सिरियामा गृहयुद्धका क्रममा आईएसआईएसको उदयसँगै त्यस क्षेत्रको ठुलो हिस्सामा उक्त इस्लामिक कट्टरपन्थी समुहले कब्जा गरेको थियो । उक्त घटनाले सिरिया तथा इराकको भौगोलिक तथा राजनितिक शक्ति सन्तुलनलाई तहस नहस पारेको थियो । उक्त समुहको सम्भावित वर्चश्व समाप्त पार्न रुस सिरियाका राष्ट्रपति असदको साथमा आएका थिए । यसले मध्यपुर्व खाडी क्षेत्रमा सिरियाको रुस र इरानसँग एक प्रकारको गठबन्धन बनेको थियो ।

मध्यपुर्वमा देखिएको नयाँ समिकरणलाई चुनौती दिन अमेरिका र नेटो गठबन्धनले सिरियाका विद्रोहीलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्