पठनपाठन शुरू गर्दै विद्यालय



बैतडी, (नेस)
लामो समयदेखि बन्द रहेका बैतडीका विद्यालयहरू सञ्चालनमा आउने भएको छन् । जिल्लाका दुई स्थानीय तहले असोजदेखि विद्यालय खोल्ने तयारी गरेका हुन् ।

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

जिल्लामा कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र लामो समयदेखि विद्यालय बन्द रहेकाले विद्यालय खोल्ने तयारी भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । यस्तै शिवनाथ गाउँपालिकाले पनि असोजदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षण सिकाइलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

गाउँपालिकाले एक सँचना जारी गर्दै असोज ४ गतेदेखि नियमितरूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । जिल्लामा अहिले कोरोना सक्रिय संक्रमित नरहेकाले स्थानीय तहहरूले विद्यालय सञ्चालनको तयारी गरेका हुन् ।

सरोकारवालाहरूको बैठकले विद्यालय कोभिड–१९ बाट बच्नका लागि आवश्यक सतर्कता अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार गाउँपालिकाका सबै विद्यालयमा नियमित पठनपाठन गर्न आग्रह गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लामा अहिले कोरोना सक्रिय संक्रमित न्यँन रहेकाले स्थानीय तहहरूले विद्यालय सञ्चालनको तयारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्