मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी



एजेन्सी ।

स्पेनिस क्लब बार्सिलोना प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा विजयी भएको छ ।

कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बुधबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले दोस्रो डिभिजनको टिम जिरोनालाई ३–१ गोलअन्तरले हरायो ।

बार्सिलोनाले पकड जमाएको खेलमा बायर्न म्युनिखबाट फर्केका ब्राजिलियन फिलिपे कोउटिन्होले पहिलो गोल गरे । उनले खेलको २१औं मिनेटमा युवा खेलाडी फ्रानसिस्को ट्रिनकाओको पासमा सहजै गोल गरेका थिए । त्यसपछि पहिलो हाफको अन्तिम समयमा कप्तान मेसीले फिलिपे कोउटिन्होकै पासमा गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म २–० ले अघि रह्यो ।

दोस्रो हाफ सुरु हुनासाथ पाहुना टोली जिरोनाले गोल गरेर खेलमा फर्किने संकेत देखाएको थियो । ४६औं मिनेटमा सामुएल सइजले गोल गरेर खेल २–१ को स्थितिमा पुर्‍याएका थिए । तर, गोल बेहोरेको ५ मिनेटमै कप्तान मेसीले सर्जी रोवेर्टोमो पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा बार्सिलोनाले ३–१ को अग्रता बनायो ।

खेलको ६३औं मिनेटमा बार्सिलोनाले सुरुआतको सिंगै टोली परिवर्तन गरेर नयाँ टोली उतारेको थियो । युवा खेलाडीको दोस्रो सेटले बाँकी समयमा थुप्रै पटक गोलका अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । तर, बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले ३–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्