खुर्कोटका आधा दर्जन बस्ती जोखिममा



दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका आधा दर्जन बस्ती जोखिममा परेका छन् । जथाभावी सडक खन्ने होडबाजीका कारण बस्ती नै जोखिममा परेको हो ।

केही दिनदेखि आएको भारी वर्षाका कारण सडकमा ठूलो बाढी आएको थियो । सो बाढी बस्तीमा पसेपछि घर भत्कने, पुरिनेदेखि धेरै ठाउँमा बस्ती नै बग्ने गरी पहिरो गयो । भिरालो जमिनमा चौडा सडक बनेका कारण बस्तीका धेरै ठाउँमा पहिरो गएको स्थानियबासीले बताएका छन् ।

‘सडक पनि चाहिएको छ, पक्की सडक बनाउने क्रममा वर्षाका कारण बाढी र पहिरोले धेरै बस्ती जोखिममा परे’, तत्कालीन खुर्कोट गाविसका अध्यक्ष मीनबहादुर रेग्मीले भन्नुभयो– ‘बस्ती पनि संरक्षण हुने र सडक विस्तारको काम पनि सँगसँगै गर्न आवश्यक छ ।’

बाढी–पहिरोको कारण पाथ्रे ढुंगा, गहते, खाल्टा, खत्रीटोल, कोटगाउँलगायतका बस्तीहरू जोखिममा छन् । कुस्माको छमर्केबाट छिपछिपे हुँदै कोटगाउँ पुग्ने सडक चौडा बनाउने क्रममा बस्ती जोखिममा परी कम्तीमा ५० परिवार विस्थापित भएका छन् । विकासका नाममा चौडा सडक बनाउँदा विनाश निम्तिएको स्थानीय बताउँछन् ।

बाढी–पहिरोका कारण खुर्कोटको पाथ्रे ढुंगाको दलित बस्ती सबैभन्दा उच्च जोखिममा परेको छ । यो बस्तीका ३६ भन्दा धेरै घर जुनसुकै बेला पनि पहिरोमा बग्न सक्ने खतरा देखिएको छ । बस्ती माथिबाट खनिएको सडकबाट पहिरो झरेपछि बस्तीका केही घरमा गाह्रो भत्कने, धेरैमा पानी पसेर भत्कने अवस्थामा पुगेका छन् ।

सडकको कल्र्भटबाट बगेको बाढी बस्तीमा पसेपछि खाल्टाको दलित बस्ती पनि जोखिममा छ । खाल्टामा बाढी पसेपछि धेरै दिनदेखि रातभर जाग्राम बस्दै आएको स्थानीय तेजबहादुर दर्जीले बताउनुभयो । खत्री टोललगायतका बस्तीबाट आउने बाढी सबै कल्र्भटबाट खाल्टाको बस्तीमा पुग्दा पानी पर्दा घर छाडेर हिँड्न थालेको उहाँको भनाइ छ ।

कल्र्भट हटाउने र पानीलाई खोलामा पुग्ने गरि व्यवस्थापन गर्ने हो भने समस्या नआउने स्थानीय बताउँछन् । बाढी पसेपछि स्थानीय गणेश्वर आधारभूत विद्यालयका धेरै कोठा जलमग्न भएका छन् । बिद्यार्थी र शिक्षकले हिलोमा नै पठनपाठन गर्दै आएका छन् ।

बाढी–पहिरोले धेरै बस्ती जोखिममा परेपछि पर्वतबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य पदम गिरी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सबै सुरक्षा निकायका प्रमुखले स्थलगतरूपमा निरीक्षण गर्नुभयो । बस्ती संरक्षण र सडक निर्माणलाई व्यवस्थित गर्नका लागि पहल गर्ने आश्वासन सबैले दिनुभएको छ ।

‘जोखिम हटाउन व्यवस्थित नालीसहित पानीको निकास र जोखिममा रहेका घर तथा बस्तीको संरक्षण नगर्ने हो भने धेरै ठूलो मानवीय र भौतिक क्षति हुने अवस्था देखिएको छ ।’ –सासद पदम गिरीले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्