भाइरल गायक दुर्गेशको मेलोडियस ‘यति राम्री किन’



दुर्गेश थापा गायक हुन्, त्योभन्दा बढी मोडल हुन्। खास गरी मोडलिङमा छाएका उनी पछिल्लो समय गायक बनेर आएका छन्। एकपछि अर्को गर्दै उनका गीतहरु बजारमा आइरहेका छन्।

गायनमा भने दुर्गेश अजिव सुनिँदै आएका छन्। उनले गाएका प्रायः गीतहरू विवाद र आलोचनाका विषय बन्दै आएका छन्।

आफ्ना गीतहरूले जति गाली खाए पनि जति ताली पाए पनि उनले गाउने कामलाई चाहिँ निरन्तरता दिइरहेका छन्। गायकका रूपमा आलोचना र विवादका बीच उनको चर्चा भने चुलिएकै छ।

उनले जति पनि गीत बजारमा ल्याइरहेका छन्, त्यसबाट दुर्गेश भाइरल भइरहेका छन्। गीतमा प्रयोग हुने शैली तथा त्यसको म्युजिक भिडियोमा दुर्गेशले अपनाउने शैलीका कारण उनी सधैं ट्रोल हुने गरेका छन्।

स्वरसम्राट नारायण गोपालको गीत भन्दै भक्तराज आचार्य र एम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाएर पनि उनी ट्रोल हुँदै भाइरल भइरहेका हुन्छन्।

जतिसुकै ट्रोल र भाइरल भए पनि यसबाट उनलाई फरक परेको छैन। उनको शैली हेर्दा लाग्छ उनी नाम होस् बदनाम होस् गुमनाम नहोस् भन्ने मान्यता राख्ने गर्छन् र जानेरै ट्रोल तथा भाइरल हुन चाहन्छन्। यसैका कारण उनलाई भाइरल गायक पनि भन्ने गरिन्छ।

उनै भाइरल गायक दुर्गेश थापाले पछिल्लोपटक भने मेलोडियस गीत गाएर सार्वजनिक गरेका छन्। दुर्गेशले एक फिल्मका लागि भनेर तयार पारेको गीत फिल्मबिनै म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्।

उनले अञ्जु पन्तको साथमा गाएको तिमी यति राम्री किन बोलको यो गीत म्युजिक भिडियोसहित हालै सार्वजनिक गरिएको हो। गीत उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

रोशन सिंहको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोमा दुर्गेश आफैंले मोडलिङ गरेका छन्। म्युजिक भिडियोमा उनको साथमा प्राची लामाले अभिनय गरेकी छिन्।

शिव बिकले निर्देशन गरेको म्युजिक भिडियोमा प्राचीले दुर्गेशका साथमा दमदार अभिनय गरेकी छिन्। अर्जुन तिवारीले छायांकन गरेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्