नेपालको दुर्भाग्य, विज्ञ छायामा



नेपाल सरकार आफंैमा अलमलिँदै स्पष्ट नीति र योजनामा हिँड्न नसक्दा देश उँधो गतितर्फ धकेलिरहेको छ । देशका लागि काम गर्न सक्ने क्षमता र दक्षता भएका विज्ञहरूलाई पाखा लगाएर आफूले आफैंलाई विज्ञ भन्न रुचाउनेको पछि लाग्दा सरकारका योजना असफल हुन पुगेका हुन् । तर, सरकारलाई यस विषयमा चिन्ता छैन । बरु आगामी चुनावलाई कति जम्मा गर्ने र आफ्ना र आफन्तलाई कुन तरिकाले पदमा आसीन गराउने भन्नेमा नै नेताहरूको ध्यान केन्द्रित भएकै कारण आज नेपाल झन्–झन् पछि पर्दै छ ।

नेपालको विद्युत् प्राधिकरणमा अर्बौको घाटा देखाएर नेताहरूलाई गुलियो चटाई आफ्नो दुहुनु स्वझ्याउँदै आएका कर्मचारी र नेताको कुदृष्टिमा पर्नुभएका ज्ञान, बुद्धि, सीपका साथै उच्च विचारका धनी व्यक्ति कुलमानसिंह घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट ४ वर्षको अवधिमा ठूलो परिवर्तन ल्याई नेपाललाई अँध्यारोबाट उज्यालोतर्फ लम्काएबापत अवकासको पुरस्कार लिएर मंगलबार बाहिरिन बाध्य हुनुभयो ।

त्यसै गरी चिकित्सा शिक्षाको सुधार र जनस्वास्थ्यको सुधारका लागि आफ्नो जीवननै दाउमा लगाएर अहोरात्र देश र जनताको स्वास्थ्य सेवाको चिन्तनमा लम्किरहनुभएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी यति बेला १७औं पटकको अनशनमा बसेर पनि अनशनस्थलमै पुगेका बिरामीको सेवामा तल्लीन हुनुहुन्छ ।

डा. केसीले देशमा गरिब जनताका छोराछोरीले चिकित्सा शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउनुपर्ने, जनस्वास्थ्य निःशुल्क हुनुपर्ने र स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा पैसामा किनबेच हुनुहुन्न भनेर पटक–पटक सरकारको ध्यानाकर्षण गराउनुभयो । जनविश्वास र समर्थन प्राप्त गर्नुभएका ६० वर्षे डा. केसी ४ दिनदेखि पुनः जनस्वास्थ्यका १२ बँुद्धे मागसहित विषम परिस्थितमा पनि आमरण अनशन रोज्न बाध्य हुनुभएको छ ।

उहाँको साथमा डाक्टर, इन्जिनियर, वकिल, विद्यार्थी, कर्मचारी, सर्वसाधार, आम सञ्चारका माध्यम मात्र नभई बिरामी र कतिपय राजनैतिक दलका नेतासमेत जुटेका छन् । उहाँले मान्ने मुख्य धर्म भनेकै बिरामीको सेवा हो । उहाँ यही अडानमा रहेकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताको मन–मनमा अड्डा जमाउन सफल हुनुभएको हरेक पटकको अनसनको समर्थन र साथले प्रमाणित गरेकै छ ।

यो देशका नेता र सरकारलाई भने देश र जनताको पक्षमा काम गर्ने, डाक्टर, इन्जिनियर, कर्मचारी, पत्रकार, सर्वसाधारण जनता आँखाको कसिङ्गर जत्तिकै बिझाउँछ । जसले चाकडी र चाप्लुसी गर्छ ऊ नै नेता र सरकारको आँखामा टिक्छ । यो नै नेपालका लागि सबै भन्दा दुर्भाग्य हो ।

नेपालमा यति बेला विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको महामारी, बाढी–पहिरो, भूकम्पलगायतका प्रकोपका कारण दिनदिनै उपचार नपाएर मानिसको ज्यान गइरहेको अवस्था छ । कतिपय सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित संस्थागत अस्पतालहरूमा आउने हरेक बिरामीलाई पहिलो नजरमै कोरोनाको दृष्टिले हेरिन्छ । समयमै अस्पताल भर्ना नगर्ने तथा घर फर्काउने गर्नाले कति गर्भवती महिलाले अकालमा ज्यान गुमाएका छन् भने पाको उमेरका दम, खोकी, मृगौला, मुटु, पत्थरीका बिरामीले समेत अकालमा ज्यान गुमाइरहेका छन् ।

यतिमात्र नभई कोरोनाको परीक्षणमा एउटै व्यक्तिको एकैदिनमा एउटै अस्पतालमा पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका घटना छन् । यस्ता विषयमा सरकारले गम्भीररूपमा अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनुको सट्टा ढाकछोप गर्दै छ । चितवनमा गरिएको एक अध्ययनअनुसार ५० प्रतिशत कोरोना संक्रमण अस्पतालबाटै सरेको पुष्टि भइसक्दासमेत सरकारको ध्यान सुधारोन्मुख नदेखिनु दुःखद विषय हो । सरकार सम्हालेका नेताहरूको भ्रष्ट नीतिका कारण आज देश र जनताले दुःख पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्