नेपालीसँग नागरिकता र आधारकार्ड दुवै



नेपाल समाचारपत्र, बाँके

नेपालगन्ज नाकाबाट यतिबेला दैनिक दुई सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरिरहेका छन् । ५ नम्बर र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेपाली कामका लागि भारत जाने गरेका हुन् । कोरोनाको त्रास शुरु भएसँगै घर फर्किएका उनीहरु यतिबेला भारत गइरहेका छन् । नाकामा भारत जाने नेपालीको घुइँचो देख्न सकिन्छ ।

आफ्नै उत्पादनले वर्षभरि खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने नौलो कुरा होइन, उनीहरु जाने–आउने गरिरहेको देखिन्छ । तर, अहिले भारत जाने नेपालीले देखाउने कार्डले भने सबैलाई आश्चार्यमा पारेको छ ।

अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेको पाइएको छ । नेपालमा नागरिकता भनेझैं भारतमा आधार कार्ड दिने गरिन्छ । आधार कार्ड भएकाले भारतीय सरकारले दिने सबै सेवा सुविधा पाउँछन् । सीधा भाषामा भन्नुपर्दा भारतीय नागरिकसरह नै मानिन्छ । आधार कार्ड भएकाले मताधिकारदेखि जग्गाजमिन खरिदबिक्री गर्न पाउँछन् ।

कोरोनाको कहर चलिरहेकाले नाकामा नागरिकता देखाएपछि मात्रै नेपाल प्रवेश गर्न दिइएको छ । भारत जाँदा पनि उताको आधार कार्ड हुनुपर्छ । आधार कार्ड भएकालाई भारतीय मान्ने गरिएको छ । पहाडी जिल्लाका अधिकांश नेपाली नेपाल आउँदा नागरिकता र भारत जाँदा आधार कार्ड देखाउने गरेका छन् ।

खासमा नेपालीहरु मौसमी कामका लागि जाने गर्दछन् । कामदारलाई पनि भारतमा आधार कार्ड बनाइदिएको पाइएको छ ।

कोरोना कहरसँगै घर फर्किएका नेपालीहरु भारत जान ढिलाइ हुँदा कतिपय ठाउँका भारतीय रुपैडिहासम्म नै नेपालीलाई लिन आइरहेका छन् । आधारकार्डले नाका पार गरिरहेका उनीहरुलाई भारतीय मालिकहरुले ‘पास’को समेत व्यवस्था गरिरहेका छन् ।

चरम कामदारको अभाव भएकाले नेपालीहरु नाका कट्नेबित्तिकै मालिकले पठाइदिएको गाडीमा बसेर गन्तव्यमा जाने गरेका छन् । विशेष गरेर उत्तराखण्डका विभिन्न ठाउँमा स्याउ खेतीमा ठूलो संख्याका नेपाली परिचालन भएको पाइएको छ ।

नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले नेपालीहरु पनि आधार कार्ड देखाएर भारत गइरहेको जानकारी दिनुभयो । ‘आधार कार्ड देखाएर दिनमा डेढ सयदेखि दुई सयसम्म नेपाली भारततिर गइरहेका छन्।’ –गिरीले भन्नुभयो ।

कानुनतः एकै व्यक्तिले नागरिकता र आधार कार्ड लिन पाइँदैन । अधिवक्ता लोकबहादुर शाह भन्नुहुन्छ– ‘एकै व्यक्तिले नागरिकता र आधार कार्ड लिनु कानुनतः गलत हो । कतिपय नेपालीले लिइरहेको देखिन्छ ।’ आधार कार्ड भएका व्यक्तिलाई विभिन्न सुविधा हुन्छ । खाद्यान्न मात्रै होइन, रेल यात्रामा समेत छुट हुन्छ ।

विशेष काम पर्दा मात्रै घर आउने नेपालीले भारतीय सरकारबाट दिइने सेवासुविधा लिनका लागि पनि आधार कार्ड लिने गरेको बुझिएको छ ।

नेपालमा आधार कार्ड भएका भारतीयलाई नागरिकता दिइँदैन । कानुन विपरीत हुने भएकाले यदि कसैले लिएको छ भने सजायको भागीदार हुन्छ, चाहे त्यो मजदुर वा अन्य । नेपाली मजदुरलाई भने भारतले सजिलै आधार कार्ड देखिएको पाइएको छ । नेपाली मजदुरले भारतको माथिल्लो तहमा कुनै बिगार गर्न सक्दैनन् भन्ने बुझाइ हुन सक्ने आकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्