गंगालाल र पुष्पलालको जन्मभूमिमा ४४ करोडको पार्क



मधुसूदन रायमाझी, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र शहीद गंगालाल श्रेष्ठको जन्मभूमि रामेछापको भँगेरीमा ४४ करोड लागतमा पुष्पलाल स्मृति पार्क निर्माण हुने भएको छ । पार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम सम्पन्न गरेर सरकारले पार्क निर्माणको काम अगाडि बढाउन लागेको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले भँगेरीमा निर्माण हुने पार्कको डीपीआर तयार गरिसकेको छ । चार वर्षअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भँगेरीमा पुष्पलाल पार्क निर्माण गर्ने घोषणा गरेको थियो ।

भँगेरीमा पार्क निर्माण गर्ने घोषणा गरे पनि जग्गा प्राप्तिका लागि मुआब्जा दिन समयमा नै बजेट निकासा नहुँदा काम रोकिएको थियो । तर यस आर्थिक वर्षबाट निर्माणको काम अगाडि बढ्ने भएको छ ।

  • यस वर्षबाट शुरु हुने पार्क निर्माणमा प्रधानमन्त्रीको चासो
  •  अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका रुपमा विकास गरिने

पार्क निर्माणप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष चासो राख्दै तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । पुष्पलाल स्मृति उद्यानको कार्यप्रगति र डिजाइनका बारेमा शहरी विकास तथा भवन निर्माण विभागले प्रधानमन्त्री ओलीलाई केही दिनअघि जानकारी गराएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले यस आर्थिक वर्षबाटै पार्क निर्माणको काम अगाडि बढाउने बताउनुभयो । पुष्पलालको जन्मस्थललाई विशेषरूपमा पूर्वाधार निर्माण गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सरकारले लिएको छ । पार्क निर्माण गर्न ५२ रोपनी जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम सम्पन्न गरिसकेको छ ।

शहरी तथा भवन निर्माण आयोजना कार्यालय रामेछापका प्रमुख नारायणप्रसाद भण्डारीले यस आर्थिक वर्षबाट पार्क निर्माणको काम अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यस वर्ष पार्क निर्माणका लागि ४ करोड बजेट छ, ठेक्का आह्वान गरेर काम अगाडि बढाउँछौं ।’

नेकपा रामेछापका इन्चार्ज एवं पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष देवशंकर पौडेलले पुष्पलाल पार्क निर्माण गरेर रामेछापको भँगेरीलाई राजनीतिक गन्तव्यस्थलका रूपमा विकास गर्ने बताउनुभयो ।

पार्कभित्र पुष्पलाल, गंगालालसहित नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरुको सालिक राखिने बताउँदै उहाँले पार्कलाई अध्ययन केन्द्रका रुपमा विकसित गर्न संग्रहालय पनि निर्माण गरिने बताउनुभयो ।

राणा शासनविरुद्धको प्रजातान्त्रिक आन्दोलनका शहीद गंगालाल श्रेष्ठ र नेकपाका संस्थापन अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृतिमा पार्क निर्माणका लागि यस वर्ष संघीय सरकारबाट १० करोड ५ लाख रुपियाँ विनियोजन गरेको रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तीन लालको जन्मभूमि रामेछापको भँगेरीमा पार्क निर्माण गरेर प्रमुख गन्तव्यका रुपमा विकास गरिने उहाँले बताउनुभयो ।

गंगालाल र पुष्पलालका पिता कुनै बेला रामेछाप बजारमा रहेको माल अड्डाका बडाहाकिम रहनुभएको र रामेछाप बजारसँग जोडिएको भँगेरीमा कोठा लिएर बस्नुभएको थियो । दुई दाजुभाइ गंगालाल र पुष्पलालको सोही समयमा भँगेरीमा जन्म भएको थियो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भँगेरी विश्वका कम्युनिस्टहरुको पवित्रस्थल भएकाले देशका प्रमुख गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘कम्युनिस्टहरुका लागि भँगेरी पवित्रस्थल हो, पार्कलाई अध्ययन केन्द्रका रुपमा विकास गर्छौं ।’

प्रदेश सरकारले नेकपाका संस्थापक सदस्यहरु, शहीद गंगालाल श्रेष्ठ र राणा शासनविरुद्ध मकैको खेती लेखेबापत प्रथम शहीद हुनुभएका रामेछापका कृष्णलाल अधिकारीको सालिक राख्नका लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

बागमती प्रदेशबाट प्राप्त बजेटबाट पुष्पलाल प्रतिष्ठान रामेछापले नेकपाका संस्थापक महासचिव पुष्पालाल श्रेष्ठ संस्थापक सदस्यहरु नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ, शहीद गंगालाल श्रेष्ठ र कृष्णलाल अधिकारीको पूर्णकदको सालिक निर्माणको काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्