गोपिनीका हिरो श्रीकृष्ण पनि ब्रह्मचारी !



प्रेममान डंगोल

द्वापर युगमा बच्चैदेखि विभिन्न किसिमका रोमाञ्चकारी लीला गर्दै आइरहेका कृष्णलाई गोपिनीहरुका हिरोको रुपमा मानेको देखिन्छ । कालो वर्णको भएकोले कृष्णलाई काले कृष्ण पनि भन्ने गरिन्छ । कृष्ण कालो भएर के गर्नु गोकुलमा गाई चराउन जाँदा पछि–पछि युवतीहरु लठ्ठ भएर जान्थे रे । त्यतिसम्म आकर्षक काले कृष्ण । काले कृष्ण पनि कम छैनन् ।

कहिले खोलामा नुहाइरहेका गोपिनीहरुका वस्त्र लुकाएर हायलकायल गर्ने, कहिले मुरलीको धुनले वृन्दावनको वातावरण नै प्रेममय बनाई गोपिनीहरुलाई लठ्ठ पारिदिने । यसरी अत्यन्तै आकर्षण गर्न सक्ने हुन् रे श्रीकृष्ण । युवतीहरुलाई ब्ल्याक ब्युटी भनेजस्तै ह्यान्डसम छन् रे कृष्ण । त्यसैले त १६,१०८ जना गोपिनीहरु काले कृष्णको फ्यान भएर जहिले पनि पछि–पछि लागिरहन्थे रे ।

जब–जब धर्मको लोप हुन्छ, पाप बढ्दै जान्छ, साधुको रक्षा गर्न र दुष्टको नाश गरी धर्म स्थापना गर्न म युग–युगमा जन्म लिइरहनेछु भनी श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञानअनुसार भगवान्ले कृष्णको रुपमा जन्म लिएदेखि नै दुष्ट राक्षसहरुको नाश गरिरहनुभयो । कृष्णका मामा कंसले पठाएकी पुतना राक्षसनीले आफ्नो दूधमा विष राखेर बालक कृष्णलाई स्तनपान गराउँदा कृष्णले उल्टै स्तनपान गर्दागर्दै पुतनालाई नै मारिदिनुहुन्छ ।

त्यस्तै बकासुर राक्षसलाई पनि श्रीकृष्णले मारिदिनुहुन्छ । कालीय नागलाई पनि आफ्नो बसमा राखिदिनुहुन्छ । यसरी राक्षसहरुलाई मार्दामार्दै अन्त्यमा कंसलाई नै मारेर लोककल्याण गर्नुभयो । विष्णुको अवतारको रुपमा आउनुभएका कृष्णको पराक्रम र शक्तिशाली कार्यले गर्दा महाभारतजस्तो महायुद्धमा पनि धर्मकै पक्ष लिई कौरवहरुको नाश गरेर पाण्डवको रक्षा गर्नुभयो । त्यसैले महाभारत युद्धलाई धर्मयुद्ध पनि भन्ने गरिन्छ ।

यसरी पराक्रमी, शाक्तिशाली देवताका रुपमा मान्ने गरेका श्रीकृष्ण प्रेमप्रणयको क्षेत्रमा पनि कोहीभन्दा कम छैनन् । विभिन्न किसिमका लीला देखाउने भएरै श्रीकृष्ण लीला भनी प्रख्यात भैरहेको हो । सबैलाई आकर्षित गर्न सक्ने श्रीकृष्णको अनुहार हेर्नेबित्तिकै मोहित नहुने कोही छैन रे यो संसारमा ।

मोहिनीले भरिपूर्ण श्रीकृष्णको अनुहार एकपटक स्वयं श्रीकृष्णले हेर्दा आफैं मोहित भए रे । अनि श्रीकृष्णले आफ्नै अनुहारजस्तै हिस्सी परेकी राधाको सिर्जना आफ्नै शरीरबाट गरेर उनीसँग नाचगान गरी मनोरञ्जन गरे रे । राधालाई श्रीकृष्णको प्राण नै मानिन्छ । जसरी प्राणविना शरीरको अस्तित्व हुँदैन, त्यस्तै राधाविना कृष्णको अस्तित्व नै छैन भन्ने गरिन्छ ।

प्रेमको क्षेत्रमा अनेकौं लीला गर्ने श्रीकृष्ण प्रेम माधुरी, रस माधुरी, रुप माधुरीजस्ता विभिन्न किसिमका लीला गरेर बाँसुरीको धुनमा सबैलाई मोहित पार्न सक्ने भएकाले नै श्रीकृष्णलाई प्रेमको क्षेत्रमा शिरोमणि भने पनि हुन्छ । आजकलका युवापुस्ताले पनि काले कृष्णलाई प्रेम र रोमान्सका हिरोका रुपमा मान्ने गर्छन् । उही रोमान्टिक कृष्णको प्रणय, प्रेमलीला, रसलीला र विभिन्न किसिमका डेटिङ आजका युवापुस्ताले पनि नक्कल गर्दै आइरहेको देखिन्छ ।

द्वापर युगका कृष्णभन्दा हामी पनि के कम भन्दै आजका युवाहरु आफूलाई आधुनिक कृष्ण सम्झेर डिस्को, डान्सबार, पार्क, रेस्टुरेन्टमा हिरो भई हिँड्छन् भने युवतीहरु पनि गोपिनीभन्दा हामी के कम भन्दै आधुनिक कृष्णका फ्यान भएर पछि–पछि लाग्छन् । आजको आधुनिक युवापुस्ताको सभ्यतालाई द्वापर युगको कृष्णलीलाको विकसित रुप हो भन्न सकिन्छ ।

यस्ता रोमान्टिक श्रीकृष्णका १६,१०८ पत्नी छन् भनिन्छ । अनि हरेक पत्नीबाट १०–१० जनाका दरले पुत्रहरु जन्मेका थिए रे । यो हिसाबले हेर्ने हो भने श्रीकृष्णका छोराहरुको संख्या १ लाख ६१ हजार ८० जना पुग्छ । उही कृष्ण ब्रह्मचारी रे । को पत्याऊला ? श्रीकृष्णले आफू ब्रह्मचारी हुँ भन्ने कुरा प्रमाणित गरी देखाउनुभएको एउटा लीला यहाँ उल्लेख गर्ने प्रयास गरेको छु ।

एकपटक हजारौं गोपिनीहरु मिली कात्यायनी देवीको व्रत बसेर भव्यरुपमा पूजा गरे । गोपिनीहरुले कृष्णलाई आफ्नो वशमा राख्ने उद्देश्यले यो व्रत गरेका थिए । गोपिनीहरुले आ–आफ्ना मनका इच्छा पूरा गर्न कात्यायनी देवीलाई गरेको पूजाको पारायण गरेपछि ब्राह्मणहरुलाई भोजन गराउनुपर्ने रहेछ ।

कोही यस्ता एकजना ब्राह्मण भए धेरै राम्रो हुनेथ्यो, जसलाई भोजन गराउँदा सयौं ब्राह्मणलाई भोजन गराएसरह होस् । यस्तो ब्राह्मण को होला भनी सल्लाह गर्दा उनीहरुले श्रीकृष्णसँग नै सोध्ने निर्णय गरे । श्रीकृष्णसँग सोध्दा उनले भने– ‘मैले पनि मानेका गुरु दुर्वासालाई भोजन गराउँदा तिमीहरुको मनले सोचेको इच्छा पूरा हुनेछ ।’

श्रीकृष्णले भनेजस्तै यमुना नदीपारि बसिरहेका दुर्वासा ऋषिकोमा फलफूल र मिठाईका सयौं टोकरी लिएर गोपिनीहरु जान्छन् । तर बाढी आइरहेकोले यमुना नदी तर्न नसक्ने ठानी श्रीकृष्णकहाँ आई हामीले नदी तर्न सकेनौं, अब के गर्नुपर्ला भनी प्रश्न गर्छन् । श्रीकृष्ण भन्छन्– ‘यदि श्रीकृष्ण ब्रह्मचारी हुन् भने बाटो छोडिदेऊ यमुना भनी प्रार्थना गर्नु, यमुनाले बाटो दिन्छिन् अनि तिमीहरु नदीपारि जानु ।’

श्रीकृष्णका कुरा सुनेर गोपिनीहरु आपसमा हेराहेर गरी फर्किन्छन् र बाटोमा कुरा गर्छन्– हाम्रो पछि–पछि लाग्ने, १६,१०८ गोपिनीहरुसँग रासलीला गर्ने लोफर कृष्ण ब्रह्मचारी रे । यसरी गोपिनीहरु ठट्टा गर्दै यमुना नदीमा पुग्छन् । श्रीकृष्णले भनेजस्तै भनी त हेरौं भनी गोपिनीहरुले यमुना नदीलाई भन्छन्– ‘हे यमुना नदी, श्रीकृष्ण साँच्चिकै ब्रह्मचारी हुन् भने हामीलाई बाटो छोडिदेऊ ।’ यति भन्नेबित्तिकै नदीमाथि फूलैफूलको पुल तयार हुन्छ अनि गोपिनीहरु श्रीकृष्णको कुरा त हो रहेछ भनी रमाउँदै यमुनापारि जान्छन् ।

दुवार्सा ऋषिकोमा गएर गोपिनीहरु भोजन गराउने इच्छाले आएको बताउँछन् । ऋषि भन्छन्– ‘यदि साँच्चै राम्रोसँग खुवाउने हो भने म मुख आँ गरिरहन्छु, तिमीहरुले के–के खुवाउनुपर्ने हो सबै मेरो मुखमा खन्याउनु ।’ गोपिनीहरुले सबै खाद्यवस्तु मुखमा खन्याएर सकाउँछन् र ऋषिलाई दण्डवत् गरी फर्किन्छन् । यमुना नदीमा अघि भएको पुल रहेनछ । गोपिनीहरु दुर्वासा ऋषिको आश्रममै गएर यमुना नदी कसरी तर्ने भनी सोध्छन् । ऋषि भन्छन्– हे यमुना, दुर्वासा दुबो मात्र खाएर बस्ने ऋषि हुन् भने हामीलाई बाटो दिनुस् भन्नु, तिमीहरुलाई बाटो दिन्छिन् ।

भर्खर यति धरै मिठाई र फलफूल खाएका दुर्वासाले दुबो मात्र खाएर बस्ने कुरा कसले पत्याऊला ? भनी कुरा गर्दै गोपिनीहरु यमुना नदी किनारमा पुग्छन् । अनि ऋषिले भनेजस्तै भन्छन् । तुरुन्तै नदीमा पहिलाको जस्तै पुल बन्छ । गोपिनीहरु आश्चर्य मान्दै यमुना नदी पार गरी आउँछन् ।

यी दुई घटनाले के देखाउँछ भने, यो संसारमा जति मानिस छन् उनीहरु सबै सांसारिक मायाजालमा मात्र अल्झेर आफ्नो अस्तित्व बिर्सेका हुन्छन् । यो संसारमा बसे पनि यहाँ भएका काम, क्रोध, लोभ, मोहले भरिएको मायाजालमा नअल्झिई मानवीय मूल्य, मान्यता र आदर्शको बाटोमा स्थिर भएर अघि बढ्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्