काभ्रेपलाञ्चोकमा विपद् पुर्व तयारी प्रतिकार्य २०७७ अद्यावधिक



मोतीराम तिमल्सिना,काभ्रे 

जिल्ला विपद ब्यवस्थापन समितिको बैठक धुलिखेलमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा समन्वय समिति प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु लगायतको सहभागिता थियो ।

बैठकमा १३ वटै स्थानीय सरकारका प्रमुख एवं उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु तथा सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । चालु आर्थिक वर्षको पहिलो बैठकमा १३ वटै पालिका र जिल्लामा विपद ब्यवस्थापनका लागि गर्नु पर्ने पुर्व तयारीका बारेमा छलफल भएको थियो ।

कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका सन्र्दभमा पालिकाहरुमा भएको असल अभ्यासका बारेमा प्रमुखहरुले जानकारी गराएका थिए । बैठकले विपद् पुर्व तयारी प्रतिकार्य योजना अद्यावधिक गरी स्विकृत गर्ने, स्थानीय तहमा विपद् ब्यवस्थापन सम्वन्धी भएका असल अभ्यासहरुको आदान प्रदान गर्ने, कोभिड १९ नियन्त्रण, रोकथाम र ब्यवस्थापनलाई अझै प्रभावकारी बनाउने, वडा स्तरसम्म विपद् प्रतिकार्य समितिलाई विस्तार र कृयाशिल बनाउने, स्थानीय तहहरुले तत्काल ३० परिवारका लागि पुग्ने राहत सामाग्रीको ब्यवस्थापन गर्ने, स्थानीय तहहरुले विपदका घटनाहरुमा खोज तथा उद्धारका लागि आवश्यक पर्ने सामाग्रीको ब्यवस्था गरी स्थानीय सुरक्षा निकायलाई उपलब्ध गराउने लगायतका निर्णय भएको अध्यक्ष शिवराम पोखरेलले जानकारी दिनु भयो ।

बैठकले विपद सम्वन्धी घटनाहरुमा विपद पीडित ब्यक्ति तथा परिवारलाई २०७६ अश्विन २६ देखि २०७७ असार मसान्तसम्म उपलब्ध गराएको ४ लाख ५ हजार र २०७७ साउन देखि भाद्र ३१ गतेसम्म मृतक परिवारलाई उपलब्ध गराएको २ लाख र विपद प्रभावित १६ घरधुरीलाई उपलब्ध गराईएको १ लाख ३३ हजार रुपैया गरी ७ लाख ३८ हजार रुपैया अनुमोदन गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीले स्थानीय सरकार तथा जिल्ला स्तरबाट भएको विपद ब्यवस्थापनका कार्य सन्तुष्ट भए पनि आगामी दिनमा हुन सक्ने खतरा प्रति सतेत रहन अनुरोध गर्नु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले १३ वटै सरकारले सामुहिकताका आधारमा विपद ब्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो । साझेदारीता भएको अवस्थामा सहज हुने उहाँले बताउनु भयो ।

भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वव कुँवरले स्थानीय सरकारले सक्रियताका साथ विपद ब्यवस्थापन गरिरहे पनि जिल्लासँगको समन्वय र सहकार्य अझै हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका संयोजक संमुन्द्रलाल श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर लगायतले विपद् ब्यवस्थापनमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका राजकुमार घिमिरे लगायतले विपद् ब्यवस्थापनमा भईरहेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्