फेरि लोडसेडिङको तालिका सार्वजनिक !



न्यूज अफ नेपाल,काठमाडौं ।

जनताको अपेक्षाअनुरुप नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पूर्ननियुक्ति नगरिएपछि सरकारको चौतर्फी विरोध भईरहेको छ। यसको विरोधमा माइतीघर मण्डला, जोरपाटी, बालाजुजस्ता क्षेत्रमा प्रदर्शन भएको छ भने सामाजिक सञ्जालमा व्यापक विरोध गरिएको छ।

घिसिङको कार्यकाल सकिनै लाग्दा जनस्तरबाट उनलाई पूनः नियुक्त गर्न दबाब दिइएपछि मन्त्री परिषद् बैठकले घिसिङको कार्यकाल थप्ने निर्णय गर्नुका साटो उप कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त दिएपछि यसविरुद्ध सामाजिक सञ्जालमा व्यग्य बाणको ओइरो लागेको छ।

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षौंदेखि थन्क्याई सकिएको इन्भर्टरलगायतका विद्युतिय सामग्रीको तस्वीर पोष्ट गर्दै अब फेरि चाहिने भयो भन्दै व्यग्य गरेका छन्। यसो गर्नेमा हास्य अभिनेता राजाराम पौडेल पनि छन्।

उनले व्याट्री जडान गर्दै गरिएको एक तस्वीर सेयर गर्दै कुलमान घिसिङलाई विदा गरिएपछि नयाँ व्याट्री जडान गरिएको भन्दै व्यग्य गरेका छन्।ख्यातिप्राप्त हास्य व्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले फेसबुक पेजमा लामो स्टयाटस लेख्दै भनेका छन् ‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ।

तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका सांढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ। जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चुनाव लडेमा आँखा चिम्लेर निर्बाचीत हुने निश्चीत देखिन्छ।’

उनले सोमबार सरकारलाई झकभक्याउँदै लेखेका थिए ‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन्। लौ है आदरणिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो।

जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वबिबेक र कर्म हो। अर्को एउटा कुरा कुलमानजी जस्तो सहि ब्यक्तीलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गरेर देशलाई लोडसेडिङ मुक्त गराई दिनुहुने आदरनिय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देकोछु मैले … …’

कुलमानलाई पुनः नियुक्ति नदिइएको विरोधमा दैनिक साँझ ५ मिनेट बत्ती निभाउन आव्हान गरेका अर्का हास्य कलाकार दीपकराज गिरीले फेसबुकमा लेखेका छन् सरकारी तर्क: कर्मचारि नियुक्ति जस्तो कुरा पनि जनताको प्रेसरमा गर्ने हो ? जनताको तर्क: आफन्तको प्रेसरमा थुप्रै नियुक्तिहरू गरीएकै छ, कुलमानको नियुक्तिलाई चाहिँ प्रेसरको रूपमा नलिइ जन चाहनाको रूपमा लिँदा के बिग्रियो ? कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले दैनिक करिब २२ घण्टासम्म लोडसेडिङ हुने समयको पूरानो लोडसेडिङ तालिका सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्