लिम्बूलाई मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति



काठमाडौं, (नेस)
नेपाली यू–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस टू अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ। चुच्चेपाटीस्थित मनास्लुले व्यवस्थापन अध्ययनका लागि लिम्बूलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो।
मनास्लुका चेयरमेन गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा लिम्बूबीच सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यसै शैक्षिक सत्रदेखि शुरू भएको मनास्लुमा हाल व्यवस्थापनसहित विज्ञान, मानविकी र कानुन संकायमा पढाइ हुने चेयरमेन लामाले जनाएका छन्।

चेयरमेन लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले हरेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल लिम्बूबाट यो कदमको शुरुआत गरिएको बताए। उनले इच्छुक भएको खण्डमा यू–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाएका छन्।

लिम्बूले २०७६ को एसइई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए। कक्षा ३–४ देखि नै फुटबल खेल्न शुरू गरेका लिम्बू झापाको सरामतीका स्थायी बासिन्दा हुन्। उनले विभिन्न उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। लिम्बूका पिता पनि भलिबलका पूर्वराष्ट्रिय खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्