चेल्सीको विजयी शुरुआत



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी शुरुआत गरेको छ। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत सोमबार राति चेल्सीले खेलेको पहिलो म्याचमा ब्राइटनलाई उसैको घरेलु मैदानमा ३–१ गेलअन्तरले सहजै पराजित गरको हो।
अवे मैदानमा चेल्सीलाई जिताउन कप्तान जर्जिन्हो, रिस जेम्स र कर्ट जोउमाले गोल गरेका थिए।

चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएका थियो। नयाँ खेलाडी टिमो वार्नरलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा जर्जिन्होले गोल गर्दै खेल १–० ले अग्रता लिएका थिए। ब्राइटनका गोलकिपरले वान भर्सेस वानमा वार्नरलाई लडाएपछि रेफ्रीले उक्त पेनाल्टी दिएका थिए।

खेलको ५४औं मिनेटमा घरेलु टोली ब्राइटन खेलमा फर्कियो। लियान्द्रो ट्रोसार्डले टारिक लाम्पाटको पासमा गोल गर्दै खेल १–१ का बराबरीमा ल्याएका थिए। तर, त्यसको दुई मिनेटमै चेल्सीले पुनः अग्रता लियो। खेलको ५६औं मिनेटमा रिस जेम्सले गोल गर्दै खेल २–१ बनाए। जर्जिन्होको पासमा जेम्सले लामो दूरीबाट हानेको कडा प्रहारमा बलले सोझै जाली चुमेको थियो।

त्यस्तै, खेलको ६६औं मिनेटमा चेल्सीका लागि कर्ट जोउमाले गोल गर्दै टोलीको अग्रता तेब्बर पारे। जेम्सको कर्नर प्रहारमा जोउमाले बललाई जाली चुमाएका थिए। बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल चेल्सीले ३–१ ले जितेको हो। जितसँगै चेल्सीले सिजनको पहिलो खेलबाट ३ अंक जोडेको छ। चेल्सी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा आर्सेनल र दोस्रो स्थानमा लेस्टर सिटी रहेका छन्। पराजित ब्राइटन १६औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्