मेसी वर्षको सर्वाधिक कमाइ गर्ने फुटबलर



वासिङ्टन, (एजेन्सी)

स्पेनिस ला लिगा क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसी वर्ष २०२० को सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी बनेका छन् ।

विश्व चर्चित अमेरिकी पत्रिका ‘फोब्स’ले सोमबार सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार ३३ वर्षीय मेसी वर्ष २०२० को सबैभन्दा बढी कमाइ गर्ने फुटबलर भएको सँची सार्वजनिक गरेको छ। यस वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर बन्ने क्रममा उनले इटालियन सिरी ए क्लब युभेन्ट्स तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्।

गत वर्ष रोनाल्डो सबैभन्दा बढी कमाइ गर्ने फुटबल खेलाडी बनेका थिए। सोही वर्ष उनी अर्बपति फुटबलरको लिस्टमा समेत सँचीकृत भएका थिए। तर, यस वर्ष भने सर्वाधिक कमाइ गर्नेमा मेसीले रोनाल्डोलाई उछिनेका छन्।

रिपोर्टअनुसार यस वर्ष मेसीको कुल कमाइ १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर कमाए भने ३४ मिलियन विभिन्न व्यापारिक प्रायोजनबाट कमाएका छन्। यता, रोनाल्डोको यस वर्षको कमाइ कुल १ सय १७ मिलियन अमेरिकी डलर रहेको छ। रोनाल्डोको कमाइ मेसीको भन्दा ९ मिलियन कम हो।

उनीपछि फ्रेन्च क्लब पीएसजीका ब्राजिलियन नेयेमार रहेका छन्। उनको कुल कमाइ ९६ मिलियन अमेरिकी डलर रहेको छ। उनीपछि पीएसजी तथा फ्रान्सका क्लियन एमबाप्पे छन्। उनको कमाइ ४२ मिलियन अमेरिकी डलर छ। यस सँचीको चौथो स्थानमा इंलिग्स क्लब लिभरपुल तथा इजिप्टका मोहमद सालाह रहेका छन्।

उनको कमाइ ३७ मिलियन अमेरिकन डलर रहेको छ। त्यस्तै, म्यानचेस्टर युनाइटेडका फ्रेन्च खेलाडी पाउल पोग्बा ३४ मिलियनसहित छैठौंमा, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान ३३ मिलियनसहित सातौंमा र २९ मिलियनसहित रियल मेड्रिडका वेल्स फरवार्ड ग्यारेथ बेल आठौं स्थानमा छन्।

त्यसैगरी, बायर्न म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौंमा रहँदा २७ मिलियनसहित दसौं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डि जिया रहेका छन्।

प्रतिक्रिया दिनुहोस्