थातथलो फर्किंदै



वीरबहादुर बम, मुगु

दशकौंअघि विस्थापित भई जुम्लामा बस्दै आएका मुगुको विकट गाउँका नागरिक आफ्नो थातथलो फर्कन थालेका छन् । जीवनयापनमा कष्ट भएपछि मुगुमकार्मारोङ गाउँपालिका–१, पातारासी–२, ३ र ४ का करिब ४० घरधुरीले गाउँ छाडेका थिए ।

उनीहरूको थातथलोमा न त सडक सञ्जालले छोएको छ, न त शिक्षा, स्वास्थ्य, रोजगारी छ । मुगुमकार्मारोङ गाउँपालिकाको पनि दुर्गम वाङरी गाउँ सदरमुकाम गमगढी बजारदेखि करिब ४ हजार मिटर टाढा छ । यो गाउँको सिमाना तिब्बतसँग जोडिएको छ । वाङरीवासीले सदरमुकाम पुग्न करिब ४ दिनको पैदलयात्रा तय गर्नुपर्छ ।

उनीहरूले आवश्यक सरसामान चीनबाटै ओसार–पोसार गर्ने गरेका छन् । सामान्य विकासका पँर्वाधार पनि नभएकाले सास्ती खेप्न नपरोस् भनी जुम्लाको पातारासी गाउँपालिकामा बसाइँ सरेको स्थानीय बुद्धिजीवी ताक्ला तामाङ बताउनुहुन्छ । उहाँले अनुसार खेतबारीमा अन्नबाली कम उत्पादन हुँदा खानेकुरा कि त चीनको सिमानाबाट महिना दिन लगाएर ल्याउनुपर्छ कि त यही जुम्लाबाट लौजानुपर्छ । त्यही राशन पनि वर्ष दिनलाई पु¥याउन हम्मेहम्मे हुने गरेको तामाङको भनाइ छ ।

अर्का स्थानीय धावाग्याल्जान तामाङको पनि उस्तै भनाइ छ । ‘स्थानीय सरकारले हेर्ला भनी जन्मथलोमा आयौं । तर, गाउँपालिकाले नजरअन्दाज गर्दा हामी भोकभोकै बस्न बाध्य भएका छौं ।’ –उहाँ भन्नुहुन्छ । एकातिर विश्व महामारीका रूपमा फैलिरहेको कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेका बेला रोगभन्दा भोकको चिन्ताले मर्ने वाङरीवासी बताउँछन् ।

कोरोनाको हल्ला चलेको शुरुआती अवस्थामा यहाँका स्थानीय सरकार, राजनीतिक दल, समाजसेवी, तथा अन्य संघ–संस्थाले राहत वितरणमा होडबाजी चलेको थियो । राहत वितरणमा एकद्वार प्रणाली नहुँदा अहिले मुगुमा खाद्यान्नको अभाव छ । खाद्यान्न अभाव शुरु हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री–वितरणमा पनि रोक लगाएको छ ।

‘खाद्यान्नका गमगढी बजार जाऔं भने पैसा छैन, नजाऔं भने घरमा भएको खाद्यान्न सकिएको छ ।’ –उनीहरूको कथन छ।

प्रतिक्रिया दिनुहोस्