डोटीमा जंगली जनावरले पाकेको बाली नाली नष्ट गर्दै



विमल विष्ट, डोटी

पछिल्लो केही सयमयता डोटीका बिभिन्न स्थानीय तहमा जंगली जनावरले किसानले लगाएका बाली नाली नोक्सान गर्न थालेका छन् । पाकेको बाली नाली राति आउने जंगली जनावरले खाएर तथा बिगारेर नोक्सान गर्न थालेपछि किसानल समस्यामा परेका हुन् ।

जिल्लाका जोरायल, बडिकेदार, सायल, पूर्वीचौकी, आदर्श, बोगटान फुड्सिल, केआईसिंह गाउँपालिका तथा शिखर, दिपायल सिलगढी नगरपालिका बिभिन्न वडा क्षेत्रमा जंगली जनावरले भित्र्याउने अवस्थामा रहेको बालीनाली नोक्सान गर्न थालेपछि किसान चिन्तिन बनेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज तथा तेलेलेक लगायतका क्षेत्रबाट आउने जंगली बँदेल, दुम्सी, स्याल तथा बाँदरले कोदो, फापर, भटमास, मकै तथा धानबाली नष्ट गर्न थालेपछि किसान राति खेतमै गएर रात बिताउन बाध्य भएको जोरायल गाउँपालिका–५ फलेडाका किसान लालबहादुर सार्कीले बताउनुभयो ।

त्यसै गरी, जिल्लाकै शिखर नगरपालिका–३ आलीअतुरालीको मटेला खेतमा जंगली जनावरले धान र कोदोबाली आधा भाग नष्ट गरेको किसान खगेन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार सो वडाका अधिकांश किसानले लगाएको खेती दिउँसो बाँदर र राति बँदेललगायत अन्य जनावरको बथानले धान बाली नष्ट गरेपछि किसानका खेत करिब–करिब बाँझो अवस्थामा पुगेका छन् ।

जिल्लाका किसान अहिले आफ्नो अन्नबाली जोगाउन राति समूह बनाएर खेतको ठाउँठाउँमा पालको छानो बनाएर राति समूहमा बस्नुका साथै थाल, डिब्बा र कोलाहल मच्चाएर जनावर धपाउन थालेको केआईसिंह गाउँपालिका–५ की स्थानीयबासी चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘दिनमा बाँदरको आतंक तथा राति अन्य जनावरको आतंकले हामी राम्रोसँग सुत्नसमेत पाएका छैनौं ।’

महिनौं मेहनत गरेर हुर्काएको धानबाली जंगली जनावर नष्ट पारिदिएपछि के खाने भन्ने चिन्तामा किसान परेका छन् । दुःखले हुर्काएको बालीलाई यसरी जंगली जनावरले नष्ट पारिदिँदा भोकमरीको समस्या हनसक्ने शिखर नगरपालिकाका स्थानीयबासी भरतबहादुर बोगटीले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्