अनुदानको मलले माग धान्न सकेन



नेपाल समाचारपत्र, विराटनगर

सरकारले समयमै मल आयात नगर्दा रोपाइँको सिजनमा रासायनिक मल नपाएका मोरङका किसानले धान गोड्ने बेला पनि मल पाउन निक्कै सकस खेप्नुपरेको छ । मागअनुसार मल आपँर्ति हुन नसक्दा रासायनिक मलका लागि किसानले सकस खेप्नुपरेको हो ।

विराटनगर–४ इक्राहिका रविलाल यादवले एक बोरा युरिया मल लिन ४ दिनदेखि विराटनगर धाइरहनुपरेको छ । मल लिन विराटनगरस्थित कदमाहा सहकारी संस्थामा आउनुभएका यादवले मल लिन धेरै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो । सहकारीले मल आउँछ भनेर पर्खाइरहे पनि कहिले आएको मल बाँड्दा बाँड्दै सक्ने गरेको र कहिले आउँदै नआउने गरेको उहाँको भनाइ छ ।

उहाँ मात्रै हैन विराटनगर–१८ बुधनगरका भुवनेश्वर यादव पनि मल लिन दुई दिनदेखि धाइरहनुभएको छ । मल लिन कति दिन धाउनुपर्ने अझै टुंगो नभएको यादवले बताउनुभयो । पर्याप्त वर्षाका भएका कारण समयमै धान रोपाइँ गरे पनि यो वर्ष किसानले रोपाइँका लागि मल पाएनन् । धान रोपाइँलाई मल नपाए पनि धान गोडेपछि मल पाउने आशा गरेका किसान एक बोरा युरिया मलका लागि दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् ।

सरकारले ढिला गरी मल आयात गरेका कारण किसानहरूले धान गोडेपछि मात्रै मल पाउन थालेका छन् । तर, मल लिनका लागि किसानले निक्कै धपेडी गर्नुपरेको छ । धानमा रासायनिक मल प्रयोग नगरे उत्पादन घट्ने भएका कारण मल लिन सहकारीमा किसानको भीड लाग्ने गरेको छ । विराटनगरमा मलको मँल्य सस्तो भएकै कारण विराटनगर आसपासका मोरङ र सुनसरीका विभिन्न गाउँहरूबाट किसान मल लिन विराटनगर आउने गरेका छन् ।

मोरङको कटहरी, धनपालथान, जहदा, बँढीगंगा गाउँपालिकादेखि मल लिन किसान विराटनगर आउने गर्दछन् । यस्तै सुनसरीको दुहवी, देवानगञ्जलगायतका ठाउँबाट पनि मल लिन किसानहरू विराटनगर आउने गरेका छन् ।
यता साल्टट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख राधेश्याम चौधरी सरकारले अनुदानमा आयात गरेको मलले माग धान्ने अवस्था नभएको बताउनुहुन्छ ।

माग अनुसार मल आयात नहुँदा मल पाउन किसानलाई गाह्रो भएको चौधरीको भनाइ छ । चौधरीका अनुसार नेपालमा वार्षिक ७ लाख मेट्रिकटन मलको माग भए पनि सरकारले ३ देखि ४ लाख मेट्रिकटन मात्रै मल आयात गरिरहेको छ ।

आयात गरिएको मल पनि समयमा नआउँदा मुख्यबाली लगाउने सिजनमै मलको हाहाकार हुने गरेको छ । गत आर्थिक वर्षमा साल्टट्रेडिङ लिमिटेडले विराटनगर कार्यालयलाई ३ हजार ८ सय ३९ मेट्रिकटन मलको कोटा तोकेको थियो । कोटाको सबै मल वितरण गरिसक्न लागिए पनि मल अभाव कायमै रहेको उहाँले बताउनुभयो । सरकारले कृषिलाई प्राथमिकतामा राखेको बताए पनि किसानले मलसमेत पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्