नेपालका सरकारी संस्थानहरुको दुर्भाग्य



रमेशकेशरी वैद्य

कुनै समय नेपालका प्रायः सरकारी संस्थानहरुको अवस्था निकै खराब थियो । जसले गर्दा मानिस बिरामी भएर पनि चलिरहेसरह संस्थानहरु चलिरहन्थे । यस्ता सरकारी संस्थानहरुको नाम अंकित गर्नुपर्दा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायु सेवा आदिलाई लिन सकिन्छ ।

कतिपय कलकारखाना तथा संस्थानहरु घिटी–घिटी भएर चले भने कतिपय सखाप नै भएर गए । मानिसको मृत्युसरह त्यति बेला समाज हेरेको हे¥यै भयो । कसैले केही गर्न सकेनन् । बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, चोभारलगायतको सिमेन्ट कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, जुट मिल कारखाना आदि त्यति बेलाका उदाहरण हुन् ।

मुलुक आन्तरिक द्वन्द्वमा फसेकोले देश चलाउनेहरुलाई आर्थिक संकट थियो । पार्टी चलाउन गाह्रो थियो । यसकारणले गर्दा कलकारखाना तथा संस्थानहरुमा भ्रष्टाचार बढ्दै गयो । आफ्ना व्यक्तिहरुको भर्ती अनावश्यकरुपमा बढ्दै गयो । नचाहिने कुराहरुमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । यसले गर्दा प्रायः सरकारी संस्थाहरु रोगी हुँदै गए । यसलाई जनताले बिर्सन सकेका छैनन् ।

यसप्रति जनताले खण्डन, लेख, आलोचना, आन्दोलन पनि गर्दै गए तर समयको खेल न हो, केही संघसंस्थाको हालत ठीक हुँदै गयो, जुन आजभोलि नेपाल वायु सेवा निगमबाहेक बैंकहरु, आयल निगम, नेपाल विद्युत् प्राधिकरण आदिको हालत सुध्रिएर राम्रो देखिएको छ । यी संस्थानहरु राम्रो हुँदै जानुको कारण विदेशी राम्रा पार्टीहरुलाई कुनै संस्थानको कार्यभार करारमा दिइयो । कुनै संस्थानमा राम्रा व्यक्ति प्रवेश भई संस्थान चलाउने मौका पाए । जे होस्, यी संस्थानहरु राम्रो हुँदै गएकोमा सरकार, कर्मचारी, व्यवस्थापन पक्ष आदिलाई हामीले सराहनीय मान्नुपर्दछ ।

यसै सन्दर्भमा कुरा गर्दा नेपाल वायु सेवा निगमको अवस्था भने सुध्रन सकेको छैन । कारण यो संस्था एउटा यस्तो संस्था भयो, यहाँ जुन सरकार आए पनि शायद यो एउटा मागी खाने भाँडो भएकोले होला । यो संस्थानको समस्या सुल्झाउन गाह्रो भएको छ अहिलेसम्म । समस्या पनि कसरी सुल्झोस् त, समय–समयमा जहाज किन–बेच गर्दा, मर्मत गर्दा देश चलाउनेहरुलाई कमिसन आउने, हवाई टिकट फ्रिमा आउने, आफ्ना मानिसलाई भर्ती गर्न पाउने आदि । कोही पनि चाहँदैन यो संस्थान पूर्ण सखाप होस् भनेर ।

कुनै समय एक–दुईवटा ठूला जहाजका लागि दिक्क भइराखेका कर्मचारीहरु तथा व्यवस्थापन आज ४÷५ वटा ठूला जहाज भएर पनि यो संस्थानले राम्रो प्रगति गर्न सकिराखेको छैन । अन्यथा आज यो संस्थानमा दशौं अर्ब रुपियाँ घाटामा जाँदा पनि अल्झिराख्नुपर्ने थिएन होला । यदि यस्तै हो भने त्यति बेला ठूला हवाई जहाजहरुका लागि किन अपेक्षा गरेको होला ? यो संस्थान एउटा सधैँ कमजोर भइराख्नु लाज लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ । यो एउटा संस्थानले मात्र किन तरक्की गर्न सकिराखेको छैन ?

वास्तवमा भन्ने हो भने, यो संस्थानको लागि राज्यले पनि आर्थिक दृष्टिकोणले मद्दत नगरेको होइन, तैपनि यो संस्थान अघि बढ्न सकेन । अर्कोतर्फबाट हेर्ने हो भने, नेपाल वायु सेवा निगम नसप्रनुमा राज्य पनि दोषी छ । कारण राज्यले कडा र राम्रा पोख्त व्यक्तिलाई यो ठाउँमा प्रवेश गराउन नै सकेन । जबकि खुल्ला प्रतियोगितामार्फत यो ठाउँमा काबिल व्यक्तिको नियुक्ति अनिवार्य थियो । एक–दुईजना राम्रा व्यक्ति यो ठाउँमा नआएको पनि होइन तर स्वार्थ र कमिसनको चक्करमा सरकार हुँदा यिनीहरु पनि कुमालेको माटोजस्तो हुन पुगे ।

सरकारको भूलबाहेक व्यवस्थापनका मुख्य व्यक्तिले पनि अडान लिएर काम गर्न सकेनन् । रिमोटले चलेको खिलौनासरह भए । बढी कर्मचारी रोक लगाउन नसक्नु, सधैँ जहाजहरु ग्राउन्डेड हुनुु, पाइलटहरुको तहबह मिलाउन नसक्नु, अनावश्यक खर्च तथा चुहावट रोक्न नसक्नुजस्ता कुरा व्यवस्थापनले गर्न नसक्नु पनि उँभो लाग्न नसक्नुका तत्वहरु हुन् । त्यसकारण हामी भन्न सक्छौं कि यो मामलामा राज्य तथा व्यवस्थापन दुवै पक्ष दोषी देखिन्छ ।

अहिले विश्व नै कोभिड–१९ ले गर्दा हरक्षेत्रमा डामाडोल छ, यस्तो बेला हामीले तुरुन्त संस्थानको विकासको अपेक्षा राख्नु ठीक हुँदैन । यो रोग सधैँ रहने रोग होइन, यो रोगको समाप्तिपछि मानिसको जीवनमा राम्रो दिन फेरि आउनेछ । त्यति बेलाचाहिँ हामी सबैले नेपाल वायु सेवा निगमको बारे सोच्नै पर्ने हुन्छ । यदि कर्मचारी, व्यवस्थापन पक्ष, राज्यले यसप्रति सकारात्मक भएर अघि बढ्ने हो भने यो सुध्रन असम्भव भन्ने कुरा हुँदैन ।

अब हाम्रो प्रयासबाट पनि यो संस्थान बनेन भने यो संस्थानलाई १० वर्षको लागि राम्रो विदेशी पार्टीलाई दिँदा बेस हुनेछ, जसले गर्दा यो संस्थान पनि बिस्तारै नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकजस्तै उँभो लाग्नेछ ।
समग्रमा एउटा के भन्न सकिन्छ भने, नेता र प्रजाले दुःख गरेर लोकतन्त्र ल्याएका हुन् । यो लोकतान्त्रिक मुलुकमा सबैले सुख, सुविधा, सहुलियत पाउनुपर्दछ ।

राष्ट्र–धनको दुरुपयोग हुनुहुँदैन । तर जुन अपेक्षा जनताले गरेका हुन्, त्यसको उल्टो भइराखेको छ । त्यसकारण एक पक्षलाई मात्र दोष नदिई नेता, कार्यकर्ता, कर्मचारी, व्यवसायी, जनप्रतिनिधि आदि सबै स्वाभिमानी र इमानदार हुनु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्