महिलाको पहिचान पुरुषको शान



डा. रेणु अधिकारी

हरेक व्यक्तिको जीवनमा पहिचानले महत्वपूर्ण स्थान राख्छ । उसको पहिचान के–कस्तो छ, त्यसले उसको आत्मविश्वासलाई प्रभावित गर्दछ भने उसको आत्मविश्वासले उसको पहिचानलाई । यी दुई एक–अर्कामा अन्तरसम्बन्धित हुन्छन् ।

महिला आन्दोलनभित्र पहिचानको सवाल शुरुवाती कालदेखि नै महत्वपूर्णरुपमा रहेको छ । महिलावादी लेखिका सिमोन दे बेभोयेरको भनाइमा संसारभर स्थापित पितृसत्ताले पुरुषलाई विषय र निर्विकल्प सत्यको रुपमा स्थापित गराएको छ भने महिलालाई अर्को व्यक्तिको रुपमा । यो यथार्थता हो । यसले नै महिला आन्दोलनभित्र पहिचानको आवश्यकता किन र कति छ भन्ने तथ्यलाई उजागर गर्दछ ।

पहिचान के हो भन्नेबारे धेरै पक्षबाट लेखिएका छन् । व्यक्तिका अनुभवहरु संँगालिएका छन् । यी सबैको एउटै निष्कर्ष छ– हरेक व्यक्तिको पहिचान, उसले आफूले आफूलाई कसरी हेर्छ, उसलाई समाजले कसरी हेर्छ, त्यसकै आधारमा स्थापित हुन्छ । पहिचान, व्यक्ति कुन लिंगमा जन्मेको हो भन्ने मात्र भन्दा ऊ कस्तो समाजमा जन्म्यो–हुक्र्यो, त्यो समाजको संस्कृति कस्तो छ, त्यहाँ कस्तो राजनीतिक व्यवस्थाले सरकार चलाएको छ भन्ने कुराले पनि निर्धारण गरिन्छ ।

समग्रमा भन्नुपर्दा कुनै पनि व्यक्तिको पहिचान सधैँ एउटै रहन्छ र हुन्छ भन्ने हुँदैन । यो समय परिस्थितिअनुसार बदलिँदै जान्छ । व्यक्तिको पहिचानअनुसार नै समाज, घर, राज्यजस्ता स्थापित संस्थाहरुमा उक्त व्यक्तिसंँग शक्ति–सम्बन्ध स्थापित हुन्छ र गरिन्छ । व्यक्तिको एउटै पहिचानभन्दा बहु–पहिचान हुन्छ । पहिचान समयअनुसार परिवर्तन हुन सक्छ । व्यक्तिलाई दिइएको पहिचान र व्यक्ति आफूले आत्मसात् गरेको पहिचानअनुसार घर, परिवार, समाज र राष्ट्रमा शक्ति–सम्बन्ध स्थापित हुन्छ ।

हाम्रोजस्तो विभिन्न खाले प्रथा–परम्परा, धर्मको व्याख्या, सामाजिक व्यवहारजस्ता विभिन्न अस्त्रहरूको प्रयोग गरी समाजमा स्थापित गरिएको पितृसत्तात्मक संरचनाभित्र महिलाको पहिचान के र कस्तो हुने भन्नेमा व्यक्ति स्वयंले स्थापित गर्न सक्ने स्थिति रहन्न । अझ भनौं, स्थापित पितृसत्तात्मक संरचनाभित्र स्थापित कानुन, सामाजिक मूल्य–मान्यता, महिला–पुरुष यौनिक तथा लैंगिक अल्पसख्यकहरुप्रति रहेका धारणाहरुले व्यक्तिभित्र आफू को हुँ, आफ्नो पहिचान के हो ? भन्ने सोचाइलाई नै प्रभावित गरेको हुन्छ । ऊ नजानिदो तवरले मनोवैज्ञानिकरुपबाट आफ्नो पहिचानलाई समाजले भनेअनुसार नै हो भन्ने मान्न पुग्छ ।

नेपालमा महिलाको पहिचान देशमा जरा गाडेर रहेको पितृसत्तात्मक संरचनालाई जोगाउन सहज हुने तवरबाट स्थापित गरिएको छ । यसलाई नै देशको कानुन, सञ्चार र व्यक्तिका सोचहरुले स्थापित गरेको छ । हुन त लामो संघर्षबाट स्थापित नयाँ संविधान र त्यसमा आधारित नयाँ कानुनहरुले देशका सबै नागरिकहरु समान हुन् भन्ने मान्यता स्थापित गरेको छ । तर पनि व्यवहारमा लोकतन्त्र आएको १४ भइसक्दा पनि सुनिश्चित हुन सकेको छैन । महिलाको सवालमा त्यो अझै दूरदेशको कुराजस्तो देखिन्छ । यस्तो किन र यसको अन्त्य गर्न के गर्नुपर्दछ भन्ने अहं सवाल सामाजिक न्यायमा विश्वास राख्ने व्यक्तिहरुका लागि हो ।

मेरो विचारमा यसो हुनुको मुख्य दुई कारण छन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोणका कारण बनाइएको र बनेको महिलाको पहिचान, महिला आफैंले आफूलाई दिएको पहिचान । यी दुई कुरा फरक भनिए पनि सारमा भने एउटै छ, त्यो हो समाजले दिएको महिलाको पहिचान र महिलाले त्यसलाई आत्मसात् गर्दै बनाएको आफ्नो पहिचान । देशमा संविधान र कानुन परिवर्तित भए पनि महिलामाथि हुने हिंसाले निरन्तरता पाउनु, न्याय पाउन सक्ने वातावरण तयार नहुनुजस्ता स्थितिहरु आउने प्रमुख कारण पनि यही हो ।

यो अवस्थामा परिवर्तन नहुन्जेलसम्म संविधानको मर्मको रुपमा रहेको समानता र सामाजिक न्यायमा आधारित समाज कहिल्यै पूरा हुन सक्दैन । यो स्थिति सबैको सहकार्यविना सम्भव छैन । तर पनि यो स्थितिमा परिवर्तन ल्याउनका लागि विशेषरुपमा सामाजिक न्यायमा विश्वास गर्ने पुरुष र आफूलाई महिलावादी भन्ने महिलाहरुको विशेष भूमिका रहन्छ्र । म आज महिलावादीको भूमिकाका बारेमा केही चर्चा गर्न चाहन्छु ।

महिलावादको मुख्य उद्देश्य भनेकै महिलाहरुले आफ्नो दैनिक जीवनमा भोग्नुपर्ने असमानता, अन्यायका कारक तत्वको रुपमा रहेको संरचनागत विभेदलाई चुनौती दिनु हो । महिलावाद भनेको समाजमा रहेका हरेक लिंगको सामाजिक, आर्थिक, राजनीतिकलगायतका क्षेत्रमा समानता हुनुपर्छ भन्ने विश्वास गर्ने वाद हो । यो एक राजनीति हो । महिलावाद भनेको पुरुषविरोधी नभई मानिसलाई लिंग, वर्ग, जात, समूह, भाषा, शारीरिक स्थितिजस्ता कुनै पनि कारणले विभेद गर्नुहुन्न भन्ने मान्यता राख्ने राजनीतिक सोच हो ।

तर दुर्भाग्य, समाजमा पछाडि पारिएका समूहको रुपमा रहेका महिलालाई प्राथमिकता दिँदै आवाज उठाएकै कारण महिलावादलाई पुरुष विरोधीवादका रुपमा स्थापित गर्ने प्रयास गरिएको छ । यसको पछाडि पनि आफ्नै राजनीति छ । समानता र सामाजिक न्याय नचाहने पितृसत्तालगायतका विभेदपूर्ण सामाजिक संरचनाका
हिमायतीहरु नै महिलावादलाई बदनाम गर्न र गलतरुपले व्याख्या गर्न लागिपरेका हुन्छन् ।

महिलावादलाई कुनै पनि लिंगका व्यक्तिले आत्मसात् गर्न सक्छन् । यसरी आत्मसात् गर्ने व्यक्तिलाई महिलावादी भनिन्छ । आफूलाई महिलावादी भनेर पहिचान दिने व्यक्तिले आफ्नो समूह (आफ्नो लिंग र राजनीति दुवै) लाई समाजले दिएको पहिचानलाई चुनौती दिन्छन् । परिवर्तनका लागि अगुवाइ गर्छन् । कहिलेकाहीँ जब यो समूह पनि आफ्नो पहिचान के हो भन्नेमा अलमलिन्छ तब देश र संसारमा विभिन्नरुपमा चलाइएका गैरराजनीतिक सोचको सिकार हुन गई समस्या सिर्जना हुन्छ । महिलाको पहिचानलाई एक समान नागरिकको पहिचानको रुपमा स्थापित हुन दिन अहिलेको विश्व संरचनाले चाहँदैन । यसका आफ्नै विभिन्न आर्थिक, राजनीतिक पक्षहरु छन् ।

त्यसैले बेला–बेलामा मूल प्रवाहीकरण, सामाजिक समावेशिताजस्ता नाराहरु लगाएर महिलावादले राजनीतिलाई चुनौती दिइरहन्छ । त्यसो हुन नदिनका लागि महिलावादीहरुलाई विभाजित गरिन्छ, गैरराजनीतिक हुनुपर्दछ भन्ने आवाज उठाइन्छ, पैसासँग राजनीति साट्ने चलखेल हुन्छ अनि फाइदा उठाइन्छ । यसबारे महिलावादीहरु सचेत हुनै पर्छ ।
महिलावादी लेखिका सिमोन दे बेभोयेरले भनेजस्तो पुरुषलाई विषय र निर्विकल्प सत्यको रुपमा स्थापित गराउँदै महिलालाई अर्को व्यक्तिको रुपमा स्थापित गराउने राजनीतिक सोच र संरचना परिवर्तन गर्ने जग बसाल्नुपर्दछ । तसर्थ, अहिले महिलावादीका लागि महिला र यौनिक तथा लैंगिक पहिचान भएको समूहलाई राजनीतिकरुपमा स्थापित गराउन जति जरुरी छ त्यति नै जरुरी ती समूहको आफूभित्र यो समाजले बनाइदिएको स्थापित पहिचानको परिवर्तनका लागि अभियान चलाउन पनि ।

प्रतिक्रिया दिनुहोस्