स्थानीय तहको कोरोना नियन्त्रणमा सवा चार अर्ब खर्च



OLYMPUS DIGITAL CAMERA

नेपाल समाचारपत्र, पर्वत ।

जिल्लाका सात वटा स्थानीय तहले कोभिड १९ रोकथाम, नियन्त्रण, व्यवस्थापन र राहत वितरणमा हालसम्म सवा चार करोड खर्च गरेका छन् । कोरोना नियन्त्रण र राहात वितरणमा पर्वतका सबै पालिकाले ४ करोड २२ लाख ४३ हजार ४७ रुपियाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन् ।

गत चैत ११ गतेपछि हालसम्म दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा धेरै पर्वतको कुश्मा नगरपालिकाले १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपियाँ खर्च गरेको छ । सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहभन्दा झण्डै दोब्बर रकम कोरोना व्यवस्थापनमा खर्चिएको हो ।

कुस्मा नगरपालिको नगरपालिकाले वडागत रुपमा राहत वितरण, पुलिङ क्वारेन्टिनको खर्च, पीपीई, औषधिजन्य सामग्री, मास्क र सेनिटाइजर, कोभिड नियन्त्रण सामग्री र जनचेतना तथा कोरोना अस्पताल व्यवस्थापनलगायतका शीर्षकमा खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणपछि कोराना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको २ करोड ६३ लाख ५ हजार रुपियाँमध्ये १ करोड १८ लाख ९५ हजार ७ सय ३७ रुपियाँ खर्च भएको छ । अब कोषमा १ करोड ४४ लाख ९ हजार रुपियाँ मौज्दात रहेको छ । नगरपालिकाले तीन हजारभन्दा बढी परिवारलाई राहत वितरण गरेको थियो ।

फलेबास नगरपालिकाले ९९ लाख ६७ हजार ६ सय राहात कोषमा जम्मा गरेकोमा ६३ लाख ६७ हजार २ सय रुपियाँ मात्र कोरना रोकथममा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिनुभयो ।

पर्वतको जलजला गाउँपालिकाले ६१ लाख २९ हजार ३३४ रुपियाँ खर्च गरेको छ । सबैभन्दा बढी विपन्न वर्ग राहत वितरणका लागि खाद्यान्न खरिद गर्न २३ लाख ३० हजार २११ रुपियाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ५७ लाख २४ हजार २२२ रुपियाँ जम्मा भएको थियो ।

त्यस्तै मोदी गाउँपालिकाले हालसम्म साढे ३९ लाख बढी खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीका अनसुार राहत सामग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार प्रसारलगायतमा ३९ लाख ६४ हजार ३ सय ७६ रुपियाँ खर्च भएको छ ।

कोरोना भाइरसको संक्रमणपछि मोदीले स्थापना गरेको कोरोना राहत कोषमा ४२ लाख ३३ हजार ५ सय रुपियाँ जम्मा भएको थियो ।

जम्मा ८५ लाख २३ हजार ८ सय रुपियाँ राहात कोषमा जम्मा गरेको बिहादी गाउँपालिकाले कोरना भाइरस रोकथाम तथा नियन्त्रणमा ४६ लाख ९७ हजार १ सय रुपैयाँ खर्च गरेको गाउँपालिका प्रमुख कमल भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार अब राहात कोषमा ३८ लाख २६ हजार ६ सय रुपियाँ बाँकी रहेको छ । पैयु गाउँपालिकाले भने ६५ लाख ७२ हजार ३ सय रुपियाँ खर्च गरेको छ ।

गाउँपालिकाले राहात कोषमा ८० लाख ७५ हजार ३ सय रुपियाँ जम्मा गरेको प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार राहात कोषमा अब १५ लाख २९ हजार रुपियाँ मौज्जाद रहेको छ ।

त्यस्तै महाशिला गाउँपालिकाले राहात कोषमा जम्मा भएको ३६ लाख ४८ हजार ४ सयमध्ये २६ लाख १७ हजार कोरना रोकथाम कोषमा खर्च गरेको महाशिला गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष जीवन ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्