महिषासुरको कथा– कथन



Old radio

चिरञ्जीवी मास्के

अहिले पो मानिससँग मनोरञ्जनका थुप्रै विकल्प छन्। टेलिभिजन या फिल्म मात्र हैन फेसबुक, टिकटक, युट्युबलगायतबाट समेत मानिसले प्रशस्तै मनोरञ्जन लिइरहेका छन्।

आजभन्दा ५०÷५५ वर्षअघिको समय कल्पना गरौं न, झन्डै–झन्डै रेडियो नेपाल एक्लो थियो मनोरञ्जनको साधन। २००७ सालबाट शुरु भएको रेडियो नेपालले लामो समय आम मानिसलाई मनोरञ्जन प्रदान गरिरह्यो।

आजभन्दा ४०÷५० वर्ष अघिदेखि रेडियो नेपालमा दशैंताका दूर्गा सप्तचण्डी रेडियो नाटकमार्फत एउटा हाँसो सुन्दै आएका छौं महिषासुरको। त्यो हाँसो त्यति बेलादेखि अहिलेसम्म पनि बालबालिका, युवा र जेष्ठ नागरिकबीच लोकप्रिय छ। महिषासुर बनेर त्यो हाँसोसहित रेडियो नाटक खेल्ने लोकप्रिय अभिनेता मदनदास श्रेष्ठ ७३ वर्षको उमेरमा अहिले पनि ५०÷५५ वर्षअघिकै जोश र उत्साहका साथ रेडियो नाटक र अभिनय कलामै सक्रिय छन्।

रेडियो नाटकका चर्चित पात्र, लोकप्रिय अभिनेता उनै महिषासुर मदनदास श्रेष्ठ भदौ २३ गतेदेखि हरेक मंगलबार साँझ ७ बजेबाट झन्डै २० मिनेट द स्टोरी टेलर्स युट्युब च्यानलमार्फत कथा– कथन कार्यक्रममा सुनिने छन्। रेडियो नेपालमा २०२१ सालबाट रेडियो नाटकमार्फत विभिन्न भूमिकामा स्वर अभिनय गरेका मदनदास श्रेष्ठ आफ्नो आवाजलाई माया गर्ने सबै उमेर समूहका स्रोताको माग र चाहनालाई सम्मान गर्दै द स्टोरी टेलर्स युट्युब च्यानलमार्फत कथा– कथन कार्यक्रम शुरु गर्न लागेको बताउँछन्।

२०३५ सालबाट रेडियो नेपालमा नाटक निर्देशक तथा कलाकारका रूपमा समेत सक्रिय रहेका श्रेष्ठले स्वस्थानीलगायतका विभिन्न धार्मिक नाटक, जेटिए र बूढी आमैको कृषि कार्यक्रम, आईएलओको सहयोगमा बनेको बाल श्रमिकसम्बन्धी ६५ भागको आरोहण अवतरणजस्ता रेडियो नाटकमा काम गरेका छन् । रेडियो नेपालबाट २०६६ सालमा अवकाश पाएपछि पनि उनले विभिन्न रेडियो नाटक, फिल्म, विज्ञापन, टेलिसिरियललगायतमा अभिनय गर्दै आएका छन्।

अहिले पनि आम मानिसले रेडियो नाटकलाई माया गरिरहेको र आफ्नो आवाजलाई रेडियो कार्यक्रममा सुन्न चाहेकाले आफूले युट्युब च्यानलमार्फत विभिन्न कथामा आवाज अभिनय गर्न कथा– कथन कार्यक्रम शुरु गरेको कलाकार श्रेष्ठ बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्