तीन दिन देखि मध्यपहाडी लोकमार्ग अबरुद्ध, पहिरो हटाउन कठिन



न्युज अफ नेपाल, पर्वत ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा तीन दिनदेखि लगातार पहिरो झर्दा यातायात सञ्चालनमा समस्या भएको छ। पोखरा–बाग्लुङ सडक पर्ने उक्त ठाउँमा शनिबार राति पहिरो खसेको थियो। पहिरो खस्ने क्रम मंगलबार बिहानसम्म पनि नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताउनुभयो।

पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक खुलाउने काम शुरु हुने उहाँले बताउनुभयो । पहिरोको बीच भागमा केही ढुंगाहरू पनि अडकिएका छन । शनिबार राति र आइतबार दिनभर खसेको गेगर र ढुंगालाई हटाएर आइतबार साँझपखबाट सडक सञ्चालन गराइएको थियो।

तर आइतबार राति र सोमबार दिनभर पनि पहिरो खस्ने क्रम नरोकिँदा मंगलबार बिहानसम्म पनि बाटो अवरुद्ध रहेको छ। सडकमा जम्मा भएको हिलो र गेगर हटाउन एक्स्काभेटर व्यवस्थापन गर्न लागिरहेको र काम सुरु गरेको दुई घण्टापछि सडक खुल्ने बिश्वास लिइएको प्रमुख खडकाले बताउनुभयो ।

सडकबाट झन्डै आधा किलोमिटर माथिबाट खसेको पहिरोले सडकको करिब ५० मिटरभन्दा बढी भाग पुरिएको छ। सहस्रधाराको पहिरोको कारण बाग्लुङ, म्याग्दी र मुस्ताङबाट सवारी साधान बाहिरिन पाएका छैनन्। ती जिल्ला जानका लागि पोखरा लगायतका ठाउँबाट छुटेका सवारी पर्वत सदरमुकाम कुस्मामा नै रोकिएका छन्।

तीन दिनसम्म सडक बन्द रहँदा जागिरका बाग्लुङ–कुस्मा आउजाउ गर्ने सरकारी तथा गैरसरकारी कर्मचारीहरूलाई समस्या भएको छ। बाग्लुङ, म्याग्दी र मुस्ताङबाट आकस्मिक अवस्थाका बिरामी थप उपचारको लागि पठाउँदा सोही बाटो हुँदै पोखरा जानुपर्छ।

त्यस्ता खालका बिरामी रिफर भएमा सडककै कारण ज्यान समेत जान सक्ने भएकोले पहिरो खस्दै गर्दा पनि पन्छाउँदै, सडक सुचारु गराउनुपर्ने बाध्यता भएको ट्राफिक प्रहरी प्रमुख खड्काको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्