चीनले ट्रम्प होइन, बाइडनको चुनाव क्याम्पेनलाई निसाना बनाएको छ: माइक्रोसफ्ट



वासिङ्टन, (एजेन्सी)

अमेरिकामा राष्ट्रपति चुनाव नजिकिएसँगै विदेशी हस्तक्षेपमा अप्रत्यासित वृद्धि भएको छ। अमेरिकाको गुप्तचर एजेन्सी, फेसबुक तथा ट्वीटरपछि अब माइक्रोसफ्टले पनि यसलाई लिएर चेतावनी दिएको छ। रूससँग चीन र इरानका ह्याकरले पनि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका चुनाव प्रचारप्रसार कार्यकर्ता, कन्सल्ट्यान्ट तथा थिंक ट्यांकलाई निसाना बनाएका छन्।

यद्यपि, माइक्रोसफ्टले चीनका ह्याकर ट्रम्प क्याम्पेनभन्दा धेरै बाइडनको क्याम्पेनलाई निसाना बनाइरहेको खुलासा गरेको छ। त्यसैगरी, इरानका ह्याकर ट्रम्पको चुनाव प्रचारप्रसार अभियानलाई ह्याक गर्ने प्रयासमा रहेका छन् भने रूस दुवै पार्टीलाई निसाना बनाइरहेको छ।

गत महिना नेसनल इन्टेलिजेन्स एजेन्सीका निर्देशकले चीन २०२० चुनाव डेमोक्र्याटिक उम्मेदवार जोय बाइडनको पक्षमा जाओस् भन्ने पक्षमा रहेको बताएका थिए। तर, माइक्रोसफ्टले यसको विपरीत चिनियाँ ह्याकरहरू बाइडनको प्रचार अभियानलाई प्रभावित पार्ने प्रयासमा रहेको जनाएको छ। साथै, प्राज्ञिक र राष्ट्रिय सुरक्षासँग जोडिएका व्यक्तिहरू पनि उनीहरूको निसानामा परेका छन्। चिनियाँ अधिकारीहरूको निसानामा ट्रम्पसँग जोडिएका एक मात्र अधिकारी भएको जनाइएको छ, तर उनको नाम भने उल्लेख गरिएको छैन।

माइक्रोसफ्टका अनुसार रूसको सैन्य गुप्तचर एकाइ (जीआरयू) यस चुनावलाई लिएर गोप्य तरिका अपनाइरहेको छ। उसको उद्देश्य चुनाव प्रसारमा आबद्ध व्यक्तिहरूको मेल ह्याक गर्ने र त्यसलाई बाहिर ल्याउनु हो। सन् २०१६ मा हिलारी क्लिन्टनको क्याम्पेनका इमेल पनि ह्याक भएर सार्वजनिक भएका थिए।

रूसी ह्याकरहरू एक प्रकारको सफ्टवेयरका माध्यमबाट आक्रमण गरिरहेका छन्। यसले ह्याकरहरूको पहिचान सजिलै हुन सक्दैन। माइक्रोसफ्टका अनुसार चीन र इरानका ह्याकरले पनि दुःख दिने काम गरिरहेका छन्। यद्यपि, राष्ट्रपति ट्रम्प र उनको पार्टीले भनेजस्तो त्यति धेरै होइन।

माइक्रोसफ्टको चेतावनीपछि बाइडन क्याम्पेनले ट्रम्पमाथिको आक्रमण तीव्र पारेको छ। बाइडनका लामो समयदेखि विदेश नीति सल्लाहकार एन्टनी जे ब्लिंकनले चीन फेरि एकपटक चुनावमा ट्रम्पको जित चाहेको बताएका छन्। ट्रम्पले चीनलाई कैयौं प्रकारको सहयोग गरेको आरोप लगाउँदै उनले अमेरिकाका सहयोगीलाई कमजोर पारेको बताए।

उनले भने– ‘ट्रम्प आफैले कोभिड–१९ को गम्भीरतालाई थाहा पाएर पनि झुठो बोलेको स्वीकारेको छ। यी सबै चीनलाई फाइदा पु¥याउनका लागि गरिएको हो।

माइक्रोसफ्टका अनुसार इरानका ह्याकर पनि चुनाव प्रभावित पार्ने कार्यमा लागेका छन्। उनीहरूको निसाना ट्रम्प क्याम्पेनमा संलग्न व्यक्तिहरूमाथि हो।

इरानका ह्याकर्सद्वारा उपयोगमा ल्याइएको १५५ वेब डोमेन्सलाई नियन्त्रणमा लिइसकेको छ। मे र जुनदेखि नै इरानका ह्याकर्स ट्रम्प प्रशासनका अधिकारीहरूको इमेल अकाउन्ट ह्याक गर्ने प्रयास गरिरहेका छन्। यद्यपि, उनीहरूलाई सफलता भने प्राप्त भएको छैन।

माइक्रोसफ्टले चीन र इरानका ह्याकरका तुलनामा रूसका (जीआरयू)का ह्याकरको खतरा अत्यधिक रहेको चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्