कोभिड–१९ को ‘हटस्पट’ काठमाडौं महानगर, यस्तो छ अवस्था



ईश्वरराज ढकाल, काठमाडौं ।

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं महानगरभित्र हालसम्म ४१ जनाको मुत्यु भएको छ । दैनिक करिब ३ सयको संख्यामा संक्रमित थपिँदै जाँदा महानगरभित्र आइसोलेसनको समस्या बढ्दै गएको छ ।कामपा जनस्वास्थ्य विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ हजार ५ सय जना संक्रमित रहेका छन् । कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हिजो सोमबारसम्म ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौंको तथ्यांक बढी देखिए पनि कामपाभित्रको कोभिड–१९ बाट मर्नेको संख्या ४१ जना मात्र रहेको बताउनुभयो ।

काठमाडौंमा करिब ६० जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य शाखा काठमाडौंले महानगरपालिकाको तथ्यांक एक दिनपछि मात्र उपलब्ध गराउने भएकाले महानगरभित्र मर्र्ने र संक्रमितको संख्या बढी देखिएको हो ।तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा देखिएको छ । सो वडामा ४ सय ७७ संक्रमित छन् । त्यस्तै दोस्रोमा ठेगाना नखुलेकामा देखिएको छ । उनीहरुको संख्या ४ सय ५७ रहेको छ । तेस्रोमा १६ नम्बर वडामा संक्रमित देखिएका छन् । सो वडामा ३ सय ८७ संक्रमित छन् ।

नखुलेका संक्रमितहरुका विषयमा कामपाले मन्त्रालयमा जानकारी गराएको सम्पर्क अधिकृत ओलीले बताउनुभयो । कतिको फोन नम्बर नमिलेको त कतिले स्विच अफ गरेका कारण उनीहरुलाई सम्पर्क गर्न समस्या भएको उहाँको भनाइ छ । त्यस्ताको विषयमा मन्त्रालयलमा जानकारी गराउने गरेको उहाँले बताउनुभयो ।

कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कँुवरले कोरोना संक्रमणको संख्या बढ्दै गएपछि कन्ट्र्याक्ट ट्रेसिङ र आरटी पीसीआर गर्नेको संख्या पनि त्यतिकै संख्यामा बढाइएको जानकारी दिनुभयो ।हालसम्म झन्डै १२ हजारको संख्यामा आरटी पीसीआर गरिसकेको छ । २८ गतेसम्मको तथ्यांकलाई आधार मान्दा वडा नम्बर १३ मा सबैभन्दा बढी पीसीआर गरिएको छ । सो वडामा १ हजार ३ सय ६३ जनाको आरटी पीसीआर गरिएको छ ।

त्यसपछि सोह्रखुट्टे क्षेत्रको १६, स्वयम्भूको १५ र कलंकी क्षेत्रको १४ रहेका छन् । १३ मा १ हजार ३ सय ६३, १६ मा ८ सय ७५, १५ मा ८ सय १६ र १४ मा ७ सय १९ रहेका छन् ।हालसम्म १ हजार ६ सय ९६ जना होम आइसोलेसन, ४ सय २४ जना अस्पतालमा, संस्थागत आइसोलेसनमा १ हजार २ सय ३९, सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५९ रहेको छ । त्यस्तै १ हजार ४ सय ७० जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमितको संख्या बढ्न थालेपछि कामपाले एक सातायता दैनिक ५ सयको हाराहारीमा आरटी पीसीआर परीक्षण गर्ने गरेको छ ।विभागीय प्रमुख कुँवरले सोमबार वडा नम्बर १४ मा १ सय ७०, २६ मा ९५, ३१ र १० मा १ सय ८५ र ३२ वडामा १ सय ३० जनाको आरटी पीसीआर परीक्षण गरेको बताउनुभयो । आज मंगलबार पनि करिब ५ सयको संख्यामा परीक्षण गर्ने योजनामा रहेको कुँवरले जानकारी दिनुभयो ।

देशभर कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुग्दा महानगरमा मात्र ५ हजार ५ सय हाराहारीमा पुगेपछि कमपाले आइसोलेसन र कोभिड अस्पतालसँग सहकार्य गरिरहेको जनाएको छ ।महानगरका संक्रमित राख्न दहचोकस्थित मनमोहन अस्पताल र सुकुम्बासी व्यवस्थापन गर्न इचंगु नारायणमा बनाइएका भवन र कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ ।

कामपाले आफैले कोभिड–१९ व्यवस्थापन केन्द्र निर्माण गरेपछि केन्द्रमा आएका गुनासोको आधारमा आरटी पीसीआर परीक्षण संक्रमितको व्यवस्थापन गर्ने गरेको छ ।महानगरको कोर क्षेत्रमा संक्रमणको दर बढ्न थाले पनि कामपा प्रहरीले पसल सञ्चालनमा कडाइ गर्ने भएको छ । महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले सो क्षेत्रमा फुटपाथ पसललाई पूर्णरुपमा निषेध गर्ने तयारी भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्