पहिरोमा परेर मुडिकुवामा एक बालिकाको मृत्यु,दर्जनौ घर जोखिममा

मध्यपहाडी लोकमार्ग दर्जनौ स्थानमा अबरुद्ध



दुर्गाप्रसाद शर्मा,पर्वत।

पर्वतको फलेवास नगरपालिका वडा नंं ४ मुडिकुवाको शिर्शुवामा आइतबार राती पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो । मृतक बालिकाको शब घर भन्दा झण्डै डेढ सय मिटर तल खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पहिरोमा पुरिएर नविन विककी श्रीमती लक्ष्मी विक सहित अन्य दुई जना घाईते भएका छन् । घर पुरिँदा घाईते भएकाहरुको गाउँले र स्थानीयवासीले उद्धार गरेका थिए । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरिएको थियो ।
घाइतेहरुको पर्वत अस्पताल कुस्मामा उपचार भैरहेको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिनुभयो ।

पहिरोले पुरिएर उनको घरमा पालिएका दुई भैसी र एवटा गोरु समेत पुरिएको छ । पहिरोले दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । यसैगरी रातभर परेको अबिरल बर्षाले पर्वतको फलेबास नगरपालिका सहित जिल्लाका बिभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको छ । फलेबास नगरपालिका वडा न. १० कुर्घामा ठुलो जनधनको क्षति भएको छ ।

कुर्घामा माथिबाट झरेको पहिरोले दुई गोठ पुरेको छ भने दर्जनौ घर बिस्थापित भएका छन । बिस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘तत्काल घाइतेको उद्दार र जोखिममा परेका परिवारलाई सुरक्षित स्थानामा स्थानान्तरण गरेका छौ’ उहाँले भन्नुभयो‘क्षतिको बिबरण संकलन गरेपछि राहात बितरण गर्छौ।’
जिल्लाको बिभिन्न ठाउँमा भएको क्षतिको बिबरण संकलनको काम भैरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । सुरक्षाकर्मी परिचालन गरेर उद्दार र क्षतिको बिबरण संकलन गर्ने काम भैरहेको प्रजिअ रेग्मीले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग अबरुद्ध

शनिवार रातीदेखि देखि परेको अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्ड विभिन्न स्थानमा पहिरोले अबरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका ८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका ४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका १ अन्तर्गत पर्ने सहस्रधारामा अबरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अबरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो । सोमबार सहस्रधारामा सडक माथिबाट भेल सहितको पहिरो आएपछि सडकको ५० मिटर भन्दा बढी भाग पुरेको छ । सडक अबरुद्ध भएपछि सोमबार विहानै देखि सवारी र यात्रुहरु सडकमा नै अलपत्र परेका छन् । पहिरो खसिरहेका कारण सर्वसाधारणहरु हिडेर समेत वारपार गर्न पाएका छैनन् ।

सडक सञ्चालनका लागि प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभएपनि खाद्यन्न ढुवानी सँगै विरामी र एम्बुलेन्सहरुलाई समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्