प्रमुख प्रशासकीय अधिकृत अर्याल र बिभागीय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्पन्न



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले आज बिभाग, महाशाखा र शाखा प्रमुखहरुसँग कार्य सम्पादन करार गर्नुभएको छ । गएको असार महिनामा सम्पन्न, महानगरको सातौं नगर सभाबाट स्वीकृत वार्षिक नीतिलाई कार्यान्वयन गर्न मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदामा करार गरिएको हो ।

यसअनुसार बिभागीय प्रमुखहरुले मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक रुपमा प्रमुख प्रशासकीय अधिकृत, उपमेयर र मेयरसमक्ष प्रगति प्रतिवेदन पेश गर्नुपर्नेछ । सम्झौतापछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो – ‘सबै जिम्मेवार भएर लक्ष्य हासिल गर्ने काम गरौं भन्नका लागि यसप्रकारको सम्झौता गरिएको हो । स्थानीय तहका लागि यो नयाँ अभ्यास पनि हो ।

मैले आफ्नो जिम्मेवारी अरुलाई दिएर आफू दायित्वबाट पन्छिन खोजेको होइन । म चाहन्छु, नगरसभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रममा सबैलाई सहभागी गराएर नतिजामुखी काम गर्न सकुँ ।’आज करार गर्नेहरुमा प्रशासन, बित्त र राजस्व, सहकारी बिभागका प्रमुखहरु क्रमशः नमराज ढकाल, बुद्धरत्न मानन्धर, नुरनिधि न्यौपाने र देवेन्द्र पोखरेल हुनुहुन्छ ।

यसै गरी कानुन महाशाखाका प्रमुख बसन्त आचार्य, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा र आन्तरिक लेखा परीक्षण शाखाका प्रमुख गोपाल पोखरेलसँग पनि करार सम्पन्न भएको छ । महानगरका निर्देशक दिपक अधिकारीकाअनुसार सबै बिभाग, महाशाखा र शाखासँग क्रमशः करार हुनेछ ।

सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ । यसरी प्रत्यायोजित अधिकारलाई जनताको हित हुने काममा प्रयोग गर्ने गरी कार्य सम्पादन करार गरिएको हो । करारमा उल्लेख गरिएका अनुगमन सूचकका आधारमा लक्षित कार्यक्रमको प्रगति तत्काल थाहा पाउन सकिने र समयमा नै सुधार गर्न सकिने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्