१२ गाउँका छाना अब टिनको



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आव २०७७/०७८ मा प्रदेशका गाउँपालिकामध्ये मानव विकास सूचकांकमा सबभन्दा कम अंक भएका १२ गाउँपालिकालाई खरको छानामुक्त गराएर टिनको छातामा रुपान्तरण गर्ने कार्यक्रम बनाएको छ ।

खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रमअन्तर्गत्का गाउँपालिकामा सिन्धुलीका घ्याङ्लेख, फिक्कल, मरिण र हरिहरपुरगढी, दोलखाका गौरीशंकर र बिगु, सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल र हेलम्बु, रसुवाका नौंकुण्ड र आमाछोदिङमो तथा धादिङका खनियाबास र रुविभ्याली गाउँपालिका छन् ।

चुहिने छानो, आगलागी, हावाहुरी र विपद्बाट जनतालाई जोगाउन बागमती प्रदेश सरकारले ४ करोड चालु आवमा विनियोजन गरेको छ । छनौटमा परेका लाभग्राही परिवारलाई टिनको छाना उपलब्ध गराउन प्रत्येक गाउँपालिकालाई २५ लाखका दरले रकम उपलब्ध गराउने व्यबस्था मिलाइएको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति र सम्बन्धित गाउँपालिका अध्यक्षको अध्यक्षतामा लाभग्राही र निबेदक छनौट समिति रहने व्यबस्था ‘खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड, २०७७’ मा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्