काठमाडौं विश्वविद्यालयमा एकीकृत ग्रामिण विकास परियोजना शुरु



मोतीराम तिमल्सिना, काभ्रे ।

काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एन टी आई सी) भवनको शिलान्यास गरिएको छ । काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु, संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, नेपाल नगरपालिका सघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, रजिस्टार डा. सुवोध शर्मा डिनहरु तथा विश्वविद्यालयका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागितामा उक्त भवनको शिल्यान्यास गरिएको हो ।

भवन शिल्यान्यास सँगै उक्त संस्थाको आधिकारिक वेबसाइटको शुभारम्भ गरिएको छ । ३ हजार १ सय १७ स्क्वायर मिटर भित्र निर्माण गरिने उक्त भवन दक्षिण कोरियाली सरकारको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको हो । परियोजनाका लागि प्राप्त भएको १० मिलियन डलरमध्ये भवनका लागि ४ मिलियन डलर खर्च गरिने छ ।

कृषि र ग्रामीण विकास, वैकल्पिक र नवीकरणीय ऊर्जा तथा स्वास्थ्य र उत्पादनका क्षेत्रमा विश्वस्तरीय अनुसन्धान गर्ने उक्त संस्थाले सम्बन्धित प्रविधिका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । तीन वर्ष अघि प्रारम्भ भएको उक्त कार्यक्रमले औपचारिकता प्राप्त गरेको छ । कार्यक्रम सम्पन्न गर्न विश्वविद्यालयले रजिस्टार डा. सुवोध शर्माको संयोजकत्वमा ५ सदस्यीय स्टेरिङ्ग कमिटी गठन गरेको छ । सबै कार्यक्रमको मास्टर प्लान समेत तयार गरी भवन र अनुसन्धानको कार्य सँगै शुरु गरिने डा. विराज कर्माचार्यले जानकारी दिनुभयो ।

प्रो.डा. विमप्रसाद श्रेष्ठ, प्रो.डा. हेमराज काफ्ले, डा. विराज कर्माचार्य लगायतले परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बोल्दै उपकुलपति डा. रामकण्ठ माकजुले नेपालमा धेरै कुराको विकास शुरु भए पनि ब्यवहारमा अनुभुति हुन नपाएको बताउँदै अनुभुति हुने खालको विकास र अध्ययन अनुसन्धान काठमाडौ विश्वविद्यालयबाट शुरु भएको बताउनु भयो ।

‘एउटा समय थियो अध्ययन थिएन तर प्रयोग नेपाली हुन्थ्यो अहिले अध्ययन हुन्छ तर प्रयोग नेपाली हुँदैन’–उपकुलपति डा. रामकण्ठ माकजुले भन्नुभयो–‘नेपालीहरुले प्राप्त गरेको शिक्षाबाट दैनिक आवश्यक पर्ने आवश्यकता पुरा गर्न चाहन्छन, त्यो सबैको सहकार्यबाट मात्रै सम्भव छ ।’ संस्थापक उपकुलपति डा. रामकण्ठ माकजुले विश्वविद्यालयले लिएको लक्ष्य र उदेश्यले मुर्त रुप पाउँदै गएको बताउनु भयो ।

विश्वविद्यालयले चरित्र र स्वरुप देखाउँदै समाज र समुदायका लागि उययुक्त हुने शिक्षाको विकास गर्नु पर्ने उहाँले बताउनु भयो । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पठनपाठनसँगै समुदायको आवश्यकता पुरा हुने शिक्षा उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

गतिशिलता प्राप्त गर्न विश्वविद्यालयले शुरु गरेको अनुसन्धानको क्षेत्रले सहयोग पुग्ने उहाँले बताउनु भयो । विश्वविद्यालय र समुदाय जोडिने शिक्षा आजको आवश्यकता भएको सहभागिहरुले बताए । दक्षिण कोरियाले विश्वका २५ देशमा बैदेशिक सहायता उपलब्ध गराउँदै आएको छ । परियोजनाले दुई देश बीचको सम्वन्ध र अनुभव आदान प्रदानमा सहयोग पुग्ने छ । विश्वविद्यालयले शुरु गर्न लागेको परियोजनाले नेपाल र नेपालीहरुका लागि थप सहजता प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्