इरानी रेसलर नाभिदलाई फाँसी



तेहरान, (एजेन्सी)

इरानका रेसलर नाभिद अफ्कारीलाई शनिबार फाँसी दिइएको छ। २७ वर्षीय उनी २०१८ मा सरकार विरोधी अभियानमा सामेल भएको र सोही दौरान एक सुरक्षा गार्डको हत्याको आरोपमा दोषी पाइएका थिए। नाभिदलाई दक्षिण इरानस्थित सिराज शहरको आदिलाबाद जेलमा फाँसी दिइएको हो।

उक्त घटनामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले दुःख व्यक्त गरेको छ। आईओसीले ट्वीट गरेर भनेको छ– ‘हामी र रेस्लिङसमेत कैयौं फेडेरेसनले हालै नाभिदको ज्यान बचाउन पूरै कोसिस गरेका थियौँ। इरानी सरकारसँग पनि अपिल गरेका थियौँ। तर, हामी सबै कोसिसमा पराजित भयौँ र लक्ष्य पूरा गर्न सकेनौँ।’

इरानी अदालतका अनुसार नाभिदलाई एक वाटर डिपार्टमेन्टका सुरक्षा गार्ड हुसेन टार्कमनको हत्या गरेकोमा दोषी पाइएका थिए। रेसलर र उनका अन्य साथीले २ अगस्ट २०१८ मा चक्कुले घोपेर हुसेनको हत्या गरेका थिए। विदेशी मिडिया रिपोर्ट्समा भनिएको थियो– ‘नाभिदलाई यातना दिएपछि आरोप साबिती गरेका थिए। उनको एउटै मात्र गल्ती थियो कि उनले सरकारविरुद्ध प्रदर्शन गरेका थिए।’

नाभिद फ्रि स्टाइल र ग्रीको रोमन रेसलर थिए। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा धेरै पदक पनि जितेका थिए। सोही हत्याको मामिलामा उनका भाइहरू वाहिद र हबिबलाई सजाय सुनुवाइ गरिएको छ।

ट्रम्पद्वारा गरिएको अपिल पनि निरर्थक
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गर्दै नाभिदलाई आममाफी दिन अपिल गरेका थिए। उनले भनेका थिए– ‘नाभिदलाई आममाफी दिएमा म इरानी नेताप्रति आभारी हुने थिएँ।’

प्रतिक्रिया दिनुहोस्