पल र दुर्गेशले गरे बागलुङका बाढीपीडितलाई सहयोग



चक्लेटी नायक पल शाह पछिल्लो समय म्युजिक भिडियो छायांकनसँगै समाजसेवामा समेत सक्रिय छन्। कोरोना महामारीको जोखिमका कारण सरकारले लगाएको पहिलो चरणको लामो लकडाउनका समयमा आफू संलग्न फिल्म तथा म्युजिक भिडियो क्षेत्रका प्राविधिकहरुलाई निजी खर्चमै खाद्य सामग्री राहत प्रदान गरेका शाहले पछिल्लो समय बागलुङ पुगेर त्यहाँका बाढीपीडितलाई राहत प्रदान गरेका छन्।

पलका साथमा भाइरल गायक तथा मोडल दुर्गेश थापालगायतको टोलीले बागलुङको ढोरपाटन पुगेर त्यहाँको बाढीपीडितलाई राहत प्रदान गरेको हो।

नायक शाहको पल शाह फाउन्डेसन र हाम्रो टिम नेपालको तर्फबाट नगद ५० हजार रुपियाँसहित खाद्यान्न, लत्ताकपडा र स्टेसनरी सामग्री प्रदान गरेको हो। अहिले पनि लगातार पहिरो गइरहेकाले प्रभावित क्षेत्रमा पुग्नै मुस्किल भइरहेको अवस्थामा समेत पल र दुर्गेशसहितको टोलीले कष्टपूर्वक त्यहाँ पुगेर राहत प्रदान गरेको छ।

टोलीले ३० बोरा चामल, ३० जोर सिरक र डसना, नुन, तेल, कपी, कलमलगायतका राहत सामग्री प्रदान गरेको छ। उनीहरुले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली तथा वडा नं ८ र ९ का वडाध्यक्षलाई राहत हस्तान्तरण गरेका हुन्।

‘यस्तो दुःखको समयमा साथ दिनु हामी कलाकारको पनि दायित्व हो भन्ने लागेर यहाँसम्म आइसकेको सहयोग गरेका हौं।’ –नायक शाहको भनाइ छ। गायक तथा मोडल थापाले गृह जिल्लामा बाढीले प्रभावित पारेकाले सहयोगको हात अगाडि बढाएको बताए। पलले बाटोमो समस्याका कारण पीडितसमक्ष पुग्न सम्भव नमएको जनाए। पल र दुर्गेशले पछिल्लो समय म्युजिक भिडियो क्षेत्रमा सहकार्य गरिरहेका छन्।

नगरप्रमुख नेपालीले राहत जतिसक्दो चाँडै प्रभावित परिवारसम्म पु¥याइने बताए। बाढीग्रस्त क्षेत्रमा पुग्ने सडक भत्केका कारण राहत पु¥याउन कठिनाइ भइरहेको उनले जानकारी गराए। नायक शाह र गायक थापाले बाढीमा परी ज्यान गुमाएका गलकोट नगरपालिका–४ का नवीन भण्डारीको परिवारलाई भेटेर समवेदना प्रकट गरेका थिए। गत भदौ १७ गते राति भुजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो क्षति पु¥याएको छ। बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् भने १६ जना बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्