राष्ट्रपतिसँग उद्योगी व्यवसायीले भने- ‘उद्योग व्यवसाय चलाउनु पर्यो’



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी कोभिड १९ पछि नेपालका उद्योग व्यवसायमा परेको प्रभाव र त्यसबाट उद्योगी व्यवसायीले भोग्नु परेको समस्याका बारेमा जानकारी गराएको छ ।

परिसंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिसमक्ष कोभिडको महामारीबाट जोगिनको लागि लकडाउन वा निषेधाज्ञाजस्ता व्यवस्था अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षा उपाय अवलम्बन गरी कोभिडको साथमा नै उद्योग व्यवसाय तथा बजार सञ्चालन गर्नुपर्ने माग राखेको थियो ।

राजस्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यसअघि पनि उल्लेख्य राजस्व दाखिला भएको जानकारी गराउँदै वर्तमान अवस्थामा सिर्जना भएको असहज परिस्थितिलाई मध्यनजर गरी तोकिएको समयावधिभन्दा एक महिना बढीको समय थप गर्ने व्यवस्थाको लागि समेत अनुरोध गरेको थियो । यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा राजस्व दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीलाई सहज हुने धारणा परिसंघको रहेको थियो ।

उद्योग व्यवसाय पूर्ण सञ्चालनको माग गर्दै परिसंघका पदाधिकारीहरुले उद्योगमा कार्यरत कर्मचारी र मजदूरलाई सरकारले तोकेका सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउनको लागि उद्योगी व्यवसायी प्रतिबद्ध रहेको जानकारी गराउनु भएको थियो ।

परिसंघले यस्तो विषम परिस्थितिमा उद्योगमा कार्यरत कर्मचारी र कामदारको हौसला बढाई काममा लगाउनुपर्ने धारणा राख्दै यदी उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्रयाक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पीसीआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ ।

कोभिडबाट पर्यटन क्षेत्र पनि नराम्ररी प्रभावित भएको परिसंघका पदाधिकारीले राष्ट्रपतिसमक्ष जानकारी गराएका थिए । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नको लागि राष्ट्रपतिसमक्ष अनुरोध गरेको थियो ।

कुनै पनि पर्यटक नेपाल प्रवेश गर्दा हाल भएको १४ दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने र तीन दिनको क्वारेन्टाइनपछि सम्बन्धित पर्यटकको पीसीआर टेस्ट गरी परीक्षण नेगेटिभ आएमा निर्वाधरुपमा घुमफिर गर्ने व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो । यसबाट नराम्ररी प्रभावित पर्यटन क्षेत्रमा केही राहत महशुस भई पर्यटन क्षेत्रका गतिविधि विस्तारै चलायमान हुने परिसंंघको धारणा रहेको छ ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र कोभिडको महामारीपछि गम्भीर परिस्थितिबाट गुज्रिरहेको राष्ट्रपतिसमक्ष जानकारी गराउँदै आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउनको लागि लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नुपर्ने धारणा परिसंघको रहेको थियो ।

कुनै क्षेत्रमा संक्रमण फैलिएमा संक्रमितको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमा मात्र लकडाउन गर्नुपर्ने जसबाट उद्योग व्यवसायलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन राष्ट्रपतिसमक्ष अनुरोध गरेको थियो ।

संक्रमणलाई रोक्नको लागि सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना, राम्रो क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्नुपर्ने धारणा परिसंघको थियो ।

यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेसनका सेवा निर्वाधरुपमा प्रदान गर्ने वातावरण बनाइदिनको लागि राष्ट्रपतिसमक्ष अनुरोध गरेको छ ।

त्यस क्रममा राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीको सुझावलाई सकारात्मकरुपमा लिई त्यसको कार्यान्वयमा पनि सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्