डोकोमा साग बेचेर घरमा चुलो



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा–४, भृकुटीपथमा तरकारी पसल सञ्चालन गर्दै आएका ४३ वर्षीय नारायणप्रसाद पौडेलको आजभोलि दैनिकी फेरिएको छ । पहिले पसलमै बसेर तरकारी बेच्ने पौडेलले हाल डोकोमा बोकेर घरघरै लगेर हरियो तरकारी बेच्न शुरु गर्नुभएको छ ।

मकवानपुरको आमभञ्ज्याङ स्थायी घर भएका पौडेल २५ वर्षदेखि हेटौंडा बजार क्षेत्रमा तरकारी तथा फलफूल बिक्री गर्दै आएको बताउनुहुन्छ । सामान्य समयमा पसलबाट बिक्री हुने गरेको भए पनि हालको कारोना महामारीको अवस्थामा घर धान्न मुस्किल हुन थालेपछि उहाँ डोकोमा बोकेरै भए पनि साग, धनियाँ, निगुरोजस्ता हरियो तरकारी बेच्ने गर्नुभएको छ ।

‘रोगको भन्दा भोकको डर बढी हुने रहेछ।’ –उहाँले भन्नुभयो । यसरी तरकारी बेच्दा पनि सुरक्षाकर्मीले गाली गर्छन् । उहाँले भन्नुभयो– ‘हाम्रो कमाइ खाने बाटो भनेकै यही हो । काम गर्नै छोडेर राहत दिन सरकारको मुख हेर्नुभन्दा आफूले मेहनत गर्दा राम्रो हो जस्तो लाग्यो । कोरोना लाग्ला भन्ने हामीलाई पनि डर त छ । तर, सावधानी अपनाएर भए पनि काम त गर्नैप¥यो ।’

उहाँलाई धेरैले सोध्छन्– ‘केटा मान्छे भएर डोको बोकेर हिँड्न लाज लाग्दैन?’ उहाँले हाँसेर उत्तर दिने गर्नुभएको छ– ‘काम गरेर खान लाज होइन, आफूमाथि गर्व हुनुपर्छ ।’ पौडेलले दिनमा १ हजार २ सय रुपियाँदेखि १ हजार ५ सयसम्म आम्दानी गर्ने गर्नुभएको छ ।

उहाँले १९ वर्ष उमेर छँदा गाउँबाट केरा ल्याएर बेच्ने गर्नुभएको थियो । सानैदेखि गरेको कामलाई हाल पनि निरन्तरता दिँदै हुनुहुन्छ उहाँ । २०५१ सालदेखि नै मेहनती बनेर आफ्नो पेसामा लागिपरेका पौडेल आफूलाई सधैं स्वावलम्बी भन्न रुचाउनुहुन्छ ।

बेच्ने हरियो तरकारीहरु भीमफेदी, सुपिङ र कोगटेबाट ल्याउने गरेको उहाँ बताउनुहुन्छ । निषेधाज्ञा खुकुलो भएपछि उहाँ डोकोमा रायोको साग बोकेर बजारवरिपरि डुल्ने गर्नुभएको छ । सबैको भान्सामा आवश्यक तरकारी भएकोले सजिलै बिक्री हुने गरेको उहाँको अनुभव छ । धेरैजसोले चाँहि बोकेर हिँडेको देखेर माया लागेर पनि साग किन्ने गरेको उहाँ बताउनुहुन्छ ।

पौडेलमात्र होइन, उहाँकी पत्नी पार्वती पनि यसरी नै तरकारी बेचिरहनुभएको छ । ‘महामारी छ भन्दैमा भोकै बस्न नसकिने रहेछ’, उहाँको पनि भनाइ छ– ‘यसरी नै जीवन धानिरहेका छौं । घरमा ६ जना छौं । खान, लगाउन परिगो । अरुको आशमा बस्नुभन्दा डोको बोकेरै भए पनि जीवन धानेका छौं ।’ डोको बिसाउन खोज्यो कि बेलाबेलामा सुरक्षाकर्मीले लखेट्ने गरेको उहाँको गुनासो छ ।

हेटौंडा–१० मा कोठा भाडामा लिएर बस्नुभएका पौडेल परिवारको मेहनतले कोरोना महामारीले थोरै असर पु¥याए पनि चुलो निभ्ने अवस्था नभएको उहाँहरु बताउनुहुन्छ । ‘चोर्न र बिराम गर्न पो लाज मान्ने गर्नुपर्छ । काम गरेर खान लाज नमाने जीवन सहज बन्छ।’ –पौडेल दम्पतीको भनाइ छ ।

चैत ११ गतेदेखि शुरु भएको लकडाउन साउन ५ गतेबाट हेटौंडामा खुल्यो । तर पुनः संक्रमितको संख्या बढ्न थालेपछि नेपालका विभिन्न जिल्लासँगै मकवानपुरमा साउन २६ गते रातिबाट निषेधाज्ञा जारी गरियो ।
कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले केही मात्रा कोरोना रोकथाम पनि भयो भयो । हुनेखानेलाई खासै प्रभाव पारेन । तर, हुँदाखाने तथा बिहान कमाएर बेलुका छाक टार्नुपर्ने बाध्यता रहेकालाई भने अभिशाप नै बन्यो ।

निषेधाज्ञाका कारण अत्यावश्यकबाहेक पसल तथा व्यवसाय बन्द गरिए । बन्दका कारण परिवार पाल्न समस्या भएपछि धेरैजसो मानिसहरु वैकल्पिक पेसातिर लाग्न थालेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्