पहिरोको पीडा



सिन्धुपाल्चोक जिल्लामा यस वर्ष आएको बाढी पहिरोको कारण निकै ठूलो जन–धनको क्षति हुनपुग्यो । २०७२ मा आएको विनाशकारी भूकम्पको कारण सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोकमा बारम्बार प्राकृतिक विपत्ति आइरहेको छ । भौगोलिक हिसाबमा विनाशकारी भूकम्प र त्यसपछि बारम्बार आइरहेको पराकम्पन नै बाढी पहिरोको कारण बन्ने गरेको निष्कर्ष निकाल्न थालिएको छ ।

भूकम्पपछि सरकारले जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गरेर सुरक्षित बस्ती निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा एकीकृत वस्ती निर्माणको योजना अघिसारेको थियो । तर एकीकृत वस्ती विकास गर्ने अवसरको सरकाले उपयोग गर्न सकेन । भूकम्प प्रभावित जिल्लामा अधिकाशं घर भत्किएका थिए ।

समुदायलाई सहभागी गराएर निजी आवास निर्माण गर्न सरकारले दिएको अनुदानबाटै एकीकृत वस्ती निर्माण गरेर सुरक्षित बस्ती निर्माण गर्न सकिने ठूलो सम्भावना थियो । तर, अहिले पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेकाले एकीकृत वस्ती विकास गर्ने योजना घोषणामै सीमित बन्न पुगेको छ । पहाडी क्षेत्रमा हरेक वर्ष बाढी पहिरो जाने र तराई क्षेत्रमा डुबान हुनेगर्छ ।

पहाडी क्षेत्रमा विनाशकारी भूकम्पपछि र त्यसपछि निरन्तर रुपमा आइरहेको पराकम्पनको कारण जमिन भासिने र पहिरो जाने जोखिम उत्तिकै बढेको छ । भूकम्प अति प्रभावित जिल्लाहरुमा प्राविधिक अध्ययनबाट दर्जनौ बस्ती जोखिमा रहेको र स्थानान्तरण गर्न सुझाव दिइएको थियो । तर उक्त सुझाव अझै कार्यान्वयन हुन सकिरहेको छैन, जसको कारण हरेक वर्ष नागरिकहरुले ज्यान गुमाउने गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लामा गत साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा पहिरोले बस्ती नै पु¥यो । २९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला प¥यो । अझै दुई जना बेपत्ता नै छन् । साउन १९ गते मेलम्ची बजारमै पहिरो जादा मजदुरी गर्न आएका ८ जनाले ज्यान गुमाए । असार २५ मा बाह्रवीसे नगरपालिकाको जम्बु र भोटेकोसीको झ्याले भिरमा पहिरो जादा दुई जनाको अकाल मृत्यु भयो । अन्य २० जना बेपत्ता रहेको अवस्था छ, जसको जीवित हुने सम्भावना, दुर्भाग्यवश, शून्य छ ।

त्यसैगरी शनिवार राति बाह्रवीसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएर नौ जनाले ज्यान गुमाए । पहिरोमा परी २२ जना अझै बेपत्ता छन् । भिरखर्क पहिरोमा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको थियो । आइतवार बिहान गएको पहिरोले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । सोही गाउँपालिकोका वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएका छन् ।

सिन्धुपाल्चोमा बारम्बार पहिरो जाने क्रम बढेको छ । जिल्लाको भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नुपर्ने देखिन्छ । सरकारले बुझ्नैपर्ने सत्य के हो भने, राम्रो विकल्प पाए कुनै पनि नागरिक भीर–पाखा र पहिरोको उच्च जोखिमको ठाउँमा टाँसिएर बसिरहन चाहँदैन । यस विषयमा सरकारले गम्भीरताको साथ लाग्नुपर्छ । पीडितहरुलाई उचित राहत दिनुका साथै सुरक्षित बस्तीमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्