जंगबहादुरद्वारा शुरु गरिएकोे बली प्रथा १ सय ७२ वर्षमा पहिलो पटक रोकियो



sf7df8f}F, !* r}tM ;’g;fg xg’dfg9f]sf sf]le8–!( sf] ;ªqmd0fnfO{ /f]syfd tyf Go”gLs/0f ug{ ;/sf/n] nfu” u/]sf] ns8fpgsf] cf7f}+ lbg dªunaf/ b]lvPsf] ;’g;fg xg’dfg9f]sf If]q . t:jL/ M /Tg >]i7÷/f;;

ईश्वरराज ढकाल, काठमाडौं

कोभिड–१९ का कारण यो वर्ष दशैंमा बली रोकिने भएको छ । पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९०३ मा कोतपर्वलगत्तै दशैंघर र मूलचोकमा शुरु गरेको बलीप्रथा पहिलोपटक स्थगित हुने भएको हो ।

बली व्यवस्थापन गर्ने निकाय कौशितोषाखानामा बसेको बैठकले यो वर्षको दशैंमा मूल घरमा दिइने बली रोक्ने निर्णय गरेको हो । यो निर्णय करिब एक साताअघि भएको थियो ।

कौशितोषाखानका शाखा अधिकृत राजभाइ श्रेष्ठले गृह र संस्कृति मन्त्रालय, महालेखा परीक्षकको कार्यालय, पुरोहित र सरोकारवाला निकायको बैठकले कोरोना महामाहारीका कारण यो मूलचोकमा दिने बली स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अष्टमी (कालरात्रि), नवमी र चतुदर्शीको दिनमा मूल चोकको बली यो वर्षका लागि स्थगित गर्ने निर्णय भएको छ ।’

तीन दिन गरी १ सय ६२ बोका, त्यति नै संख्यामा राँगा बली दिइन्थ्यो । काठमाडौंमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको कारण बली रोक्नुपरेको श्रेष्ठको भनाइ छ । दशैंमा मूलचोकमा बली दिँदा भीडभाड बढ्ने भएपछि यो वर्ष बली नदिने निर्णय भएको उहाँले बताउनुभयो । मूलचोकमा बली नदिए पनि अन्य पीठमा भने बली जारी रहेको उहाँको भनाइ थियो ।

सरकारले यो वर्षको चैते दशैंमा पनि मूलचोकको बली स्थगित गरेको थियो । तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले जंगबहादुरले कोतपर्व भएको दुई वर्षपछि देवीलाई खुसी पार्न बली दिन थालेको किंवदन्ती बताउँदै करिब १ सय ७२ वर्षपछि पहिलोपटक मूलचोकको बली रोकिएको हुन सक्ने जानकारी दिनुभयो । सरकारले मूलचोकको मौलोमा बली रोके पनि दशैंघरको बली यथावत् राख्ने जनाएको छ ।

दशैंघरमा १० दिनसम्म बोका र अष्टमीको दिन राँगाको बली दिने प्रचलन रहेको छ । कौशितोषाखानाका अधिकृत श्रेष्ठले अहिलेसम्म मूलचोकबाहेक अन्य दिन बली दिने प्रचलन यथावत् रहने बताउनुभयो । तर, कोरोना संक्रमण बढेमा सरकारले गर्ने निर्णयको बारेमा कार्यालयले कुनै जानकारी दिन नसक्ने उहाँको भनाइ छ ।

तलेजुका मूल पुजारी कर्माचार्यले परम्परालाई जोगाउन सावधानी अपनाएर बली दिनुपर्ने अवस्थामा एकाएक स्थगित गर्नु गलत भएको बताउनुभयो ।

फूलपातीको दिन तलेजुलाई त्रिशूलचोकमा ल्याएर राख्ने र सोही दिनबाट बली दिने प्रचलन छ । तलेजुका मूल पुजारी कर्माचार्यले तलेजु भवानीलाई ४२ वटा निख्खर कालो र एउटा बेचोखो बली दिने प्रचलन रहेको जानकारी दिनुभयो ।

तलेजुमा ४३ वटा बोका र ११ वटा राँगा र केही हाँस बली दिने प्रचलन रहेको कर्माचार्यको भनाइ छ । उहाँले दशैंमा बलीको व्यवस्था नभए तलेजु भवानीलाई नल्याउने चेतावनी दिनुभयो । राज्यले दशैंमा तलेजुको बली प्रथा स्थगित गरे आफूहरुले अस्वीकार गर्ने चेतावनी दिँदै भन्नुभयो– ‘संस्कृति मास्ने नाममा बली रोक्न मिल्दैन ।’

उहाँले सरकारले अपनाएको स्वास्थ्य मापदण्ड पालना गरेर भए पनि मूलचोकबाहेक पीठ र तलेजुमा बली यथावत् राख्नुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्