बाह्रबिसेको घुम्थाङमा भीषण पहिरो : २२ घर बगायो, ११ को शव फेला, २० अझै बेपत्ता



नानीराम नेपाल, सिन्धुपाल्चोक

अविरल वर्षाका कारण पहिरो खस्दा आइतबार बिहान सिन्धुपाल्चोकमा दर्जनौं बेपत्ता भएका छन् । बिहान ३ बजेको समयमा बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा पहिरो खस्दा ३१ जना बेपत्ता भएका हुन् ।

भीरखर्कबाट खसेको पहिरोले नागपुजे र आसपासका २२ घर बगाउँदा ३१ जना बेपत्ता भएका थिए । आइतबार अबेरसम्म ११ जनाको शव फेला परेको छ । २० जनाको शव अझै फेला परेको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीय युवाहरु बेपत्ताको खोज तथा उद्धारमा खटिइरहेका छन् । ‘अबेरसम्म ११ जनाको शव भेटिएको छ, बेपत्ता अन्यको खोजीकार्य जारी छ।’ –इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले भन्नुभयो ।

रातभर मुसलधारे पानी परेको र बिहानीपख बस्ती नै बगेको पहिरोका प्रत्यक्षदर्शी स्थानीय बताउँछन् । ‘रातभर पानी प¥यो, ३ बजेतिर ठूलो आवाजसहित पहाडै खसेजस्तो भयो’, स्थानीय जयबहादुर खड्काले भन्नुभयो– ‘अन्धकार थियो, कति त भाग्दाभाग्दै पहिरोमा पुरिए ।’

स्थानीय रेशम प्रधानले बिहानीपख ठूलो आवाजसहित पहाड खस्दा भीरखर्कको पहाडै पल्टिएर नागपुजे, विकटोल र नेवारटोलका २२ घर बगाएको बताउनुभयो । ‘चट्याङ परेजस्तो ठूलो आवाज आयो, एकैछिनमा बस्ती बगाइसकेछ।’ –आइतबार बेपत्ताको खोजी र उद्धारमा खटिँदै गरेका रेशमले भन्नुभयो ।

पहिरोमा परी बेपत्ता भएकामध्ये ८ वर्षीय सन्देश विक, २४ वर्षीया जुनु विक, ६५ वर्षीय धनलाल नेवार, ७० वर्षीया भक्तिमाया श्रेष्ठ, सय वर्षकी ल्याक्सी तामाङ, ४२ वर्षीया ज्ञानीमाया प्रधान, ६० वर्षीया हीरामाया नेवार, ६० वर्षीया सर्किनी नेवार, २८ वर्षका करण श्रेष्ठ र ५ वर्षीया सरस्वती विकको शव फेला परेको प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । पहिरोमा परी ६ जना घाइते भएका छन् । उनीहरुको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पहिरोमा परी बाह्रबिसे नगरपालिका–७ का रसबहादुर श्रेष्ठ, दिलमायया श्रेष्ठ, रीता श्रेष्ठ, नादान श्रेष्ठ, कोनियाल श्रेष्ठ, अमृत श्रेष्ठ, मनिता श्रेष्ठ, रविना श्रेष्ठ र उनको ३ महिने छोरा बेपत्ता छन् ।

त्यसै गरी रियासु शिवभक्ती, पदमकुमारी श्रेष्ठ, रामकुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, बुद्धलक्ष्मी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, कुमार विक, सोनिया विक, रुपा विक, सिंहबहादुर नेवार र अमृत श्रेष्ठको घरमा पाहुना लाग्न आएकी एक महिलाको पनि यो समाचार तयार पार्दासम्म शव भेटिएको छैन ।

भूकम्पले हल्लाएको कमजोर भूगोलमा भारी वर्षा हुँदा पहिरो खसेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । पहिरोपछि प्रशासनले तत्काल खोज तथा उद्धारमा सुरक्षा संयन्त्र परिचालन गरेको ढकालले बताउनुभयो ।

‘भूकम्पले थिलथिलो पारेको छ, भोटेकोसी करिडोरकै भूगोल कमजोर छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो– ‘कमजोर भूगोलमा भारी वर्षा हुँदा पहिरो गएको देखिन्छ ।’

भोटेकोसी करिडोरमा अझै पनि जोखिम रहेको भन्दै दूरदृष्टि राखेर बस्ती स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारसँगको समन्वयमा पीडित विस्थापितलाई राहत र उनीहरुको तत्काल व्यवस्थापन गरिने ढकालले बताउनुभयो ।

पहिरोपछि उद्धार र राहतका लागि बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशीला पाख्रिन तत्काल घुम्थाङ पुग्नुभएको थियो । पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिमृतक एक लाख सहयोग गर्ने र घाइतेको उपचारमा सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताउनुभयो ।

पहिरोबाट थप ६० घर उच्च जोखिममा परेको र डेढ सय घरपरिवार प्रभावित बनेको जानकारी दिँदै नगरपालिकाले उचित व्यवस्थापन गर्ने मेयर शेर्पाले बताउनुभयो । पीडित विस्थापितको व्यवस्थापनका लागि टेन्ट, अत्यावश्यक खाद्यान्नलगायतका सामग्री नागपुजे पुगिसकेको उपमेयर सुशीला पाख्रिनले बताउनुभयो ।

‘निरन्तर हामी विपत्तिको सामना गरिरहेका छौं, प्रकृतिले हामीलाई प्रहार गरिरहेकै छ’, पहिरोस्थलमा असिनपसिन अवस्थामा भेटिनुभएकी उपमेयर पाख्रिनले भन्नुभयो– ‘खोज तथा उद्धार जारी छ, अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा आइसकेको छ ।’

पहिरोको खबरपछि सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेश सरकारका मन्त्री अरुणप्रसाद नेपाल, प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायत घटनास्थलमा पुग्नुभएको थियो ।

घटनास्थलमा पुग्नुभएका सभामुख सापकोटाले बेपत्ताको खोज उद्धार र राहत सँगसँगै विज्ञ टोली ल्याई भू–अध्ययन गरी तत्काल सुरक्षित र एकीकृत बस्ती विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । ‘संघीय सरकारमार्फत तत्काल विज्ञ टोली खटाएर जोखिममा परेका जनताको जिउधन जोगाउने मेरो पहल हुनेछ।’ –सभामुख सापकोटाले भन्नुभयो ।

प्रदेश सरकारका मन्त्री अरुण नेपाल, सांसद सरेश नेपालले पनि खोज उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

देउवाद्वारा दुःख व्यक्त
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको नागफुजे, भीरखर्क र नेवार टोलको पहिरोमा परी मृत्युभएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले पीडितहरुको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गर्नुभएको छ ।

देउवाले एक विज्ञप्तिमार्फत प्राकृतिक विपत्को घडीमा बेपत्ताहरुको तीव्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अत्यावश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडा, औषधी र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँले सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भ विद्हरुले औंल्याएका जोखिमका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

पहिरोले पुरिएर दुई महिलाको मृत्यु
बागलुङको जैमिनी नगरपालिकामा पहिरोले पुरिएर दुई महिलाको ज्यान गएको छ । आइतबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका उनीहरुको मृत अवस्थामा शव फेला परेको प्रहरी चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले बताउनुभयो ।

पहिरोमा पुरिएर जैमिनी–१ की ६३ वर्षीया लक्ष्मीदेवी पाध्या र जैमिनी–५ विनामारेकी ७५ वर्षीया जल्पादेवी पौडेलको मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार बिहान घरमाथिबाट आएको पहिरोले घरसहित पौडेललाई पुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्