बिउ प्रतिकिलो आठ हजार !



न्युज अफ नेपाल,हेटौंडा ।

हर्नामाडी गुम्बाडाँडामा लोपोन्मुख प्रजाति विजयसालको बिउ स्ट्याण्ड स्थल बनाइएको छ । ज्योति सामुदायिक बन उपभोक्ता समूहको निगरानीमा रहेको गम्बाडाँडामा अब विजयसालको बिउसमेत पाइने भएको हो । विजयसाल औषधीय गुण भएको रुखवर्गमा पर्ने वनस्पति हो ।

डिभिजन बन कार्यालय मकवानपुरले दुई लाख लगानीमा दुई हेक्टर क्षेत्रफलमा विजयसाल लगाएको हो । विजयसालको बिउ स्ट्याण्डकै रुपमा भने मकवानपुरमा पहिलो पटक सुरु गरिएको कार्यालयका सहायक बन अधिकृत अच्युत लामिछानेले जानकारी दिनुभयो । विजयसाल हेटौंडाको शहीद स्मारक क्षेत्रमा समेत रहेको उहाँले बताउनुभयो ।

विजयसालमा विभिन्न औषधीय गुण भएको बताउँदै लामिछानेले उत्पादन तथा वृक्षरोपणमा ध्यान दिन लागिएको बताउनुभयो । हेटौंडाको नर्सरीबाट बिरुवा ल्याएर रोपण गरिएको बिरुवाबाट बिउ संकलनयोग्य भएका रुखबाट बिउ संकलन कार्य यस वर्षबाट शुरु भएको लामिछानेले जानकारी गराउनुभयो ।

बिउ संकलनपश्चात् उक्त बिउ नर्सरीमा बिक्री गर्ने र इच्छुकले खरिद गर्न पाउने उहाँको भनाइ छ । बिउको प्रतिकेजी आठ हजार रुपियाँ मूल्य तोकिएको सहायक बन अधिकृत लामिछानेले जनाउनुभयो । काठको मूल्य भने प्रतिक्युफिट १ हजार पाँच सयदेखि एक हजार ९ सयसम्म पर्ने बताइएको छ ।

विजयसाल विभिन्न रोगको अचुक औषधी भएका कारण यसको बिउ उत्पादन र बजारका लागि समस्या नहुने उहाँले दाबी गर्नुभयो । विशेषगरि विजयसाल नेपालको चुरे क्षेत्र, तराईको भित्री मधेशको जिल्ला नवलपरासीदेखि कञ्चनपुरसम्मका जंगलमा साल, सिन्दुरे, हर्रो, वर्रोसँग मिश्रितरुपमा पाइने वनस्पति हो ।उक्त वनस्पति तराईका भित्री मधेश र चुरे क्षेत्रमा एक हजार मिटर उचार्इंसम्म पाइन्छ ।

यो प्रजाति उर्वर, गहिरो, चिम्ट्याइलो, दुमट माटो भएको ठाउँमा राम्ररी हुर्कन्छ । उक्त वनस्पतिको रुख ३० मिटर उचार्इं र २ दशमलव पाँच मिटर मोटाइसम्मका पाइन्छन् ।विजयसाल माध्यम ठूलो आकारको पतझर र मध्यमखाले प्रकाश रुचाउने उत्तरी मोहडामा प्रायः देखिने वनस्पति हो । उक्त वनस्पतिको फूल साउन—भदौमा फुल्छ भने फल पुस—माघमा लाग्दछ ।

यसको रुख उर्वर भूमिमा सोझो र सफा काण्ड भएको देखिन्छ । यसको काण्डमा बलियो रेजिन निस्कने गर्दछ, जसलाई किनो गम भनिन्छ ।विजयसाल नेपालका सबै तराई, भित्री मधेश, चुरे क्षेत्रमा पाइँदैन । यो प्रजाति विशेषगरि पश्चिम नेपालका बनक्षेत्रमा मिश्रित तथा फाट्टफुट्ट र सीमितरुपमा पाइन्छ ।

यो प्रजातिको वृद्धिदर कमजोर हुने र कमसल अंकुरण हुने भएकोले नेपालको प्राकृतिक बनक्षेत्रमा न्यून देखिन्छ ।त्यसैले यस प्रजातिलाई नेपाल सरकारले बन नियमावली, २०५१ द्वारा कटान, निकासी/पैठारीमा प्रतिवन्धित गरेको छ । इन्टरनेसनल युनियन फर कञ्जर्भेसन अफ नेचरले यस प्रजातिलाई नियर थ्रेटेण्ड क्याटगोरीमा राखेको छ ।

त्यसैले यस प्रजातिलाई संरक्षण तथा सम्वद्र्धन गर्नुपर्ने देखाएको छ ।यसको पातको रस घाउ र चर्मरोगमा प्रयोग गर्न सकिन्छ भने बोक्रा मानिसको दाँत दुखाइमा दाँतमा दल्दा सञ्चो हुन्छ । यसको रुखको काठ वा काठको धुलो पानीमा भिजाउँदा पानी निलो रङको बन्छ ।

यसको रुखको काठबाट बनाइएका भाँडामा बेलुका पानी राखी भोलिपल्ट विहान सेवन गरे मधुमेह, कुष्ठरोग, चर्म रोग, जिउमा आउने सेतो दाग, पिसाबको रोग, हात्तीपाइले, मुटु पोल्ने, जिउ दुखाइ, पेटमा जुका परेको जस्ता रोगको उपचार गर्न सकिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्