संक्रमितकै परिवारका सदस्य खुलेआम बजारमा



नेपाल समाचारपत्र, पर्वत ।

पर्वत सदरमुकाम कुश्मा बजारमा समुदाय भित्रका व्यक्तिमा कोरोना देखिएपनि तिनै संक्रमित व्यक्तिको परिवारका सदस्यहरु खुलेआम बजारमा हिडडुल गरेका छन् ।

कुश्मा नगरपालिका ३ दुर्लुङ घर भई कुश्मा बजारमा बस्दै आएका ६८ बर्षिय बृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वतको सदरमुकाम कुश्माबजारमा क्वारेन्टाईन बाहिर समुदायका ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि शनिबारदेखि एक हप्ताका लागि बजार क्षेत्र ‘सिल’ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएपनि संक्रमित परिवारकै सदस्यहरु खुलेआम सडकमा निस्किएपछि प्रशासनलाई चुनौती थपिएको छ ।

संक्रमित बृद्धकी श्रीमती र बुहारी शनिबार साँझ आफ्नो नीजि निवासबाट कुश्माबजारको आचार्यचोक हुँदै लोकतन्त्रचोकमा निस्किएर गन्तव्य तर्फ लागेको एक प्रत्यक्षदर्शीले जानकारी दिनुभयो ।

‘तपाईहरु त निस्किन नहुने थियो, के कामले कता हिड्नुभएको भनेर सोध्दा आफुहरु कोरोना अस्थायी अस्पताल जान लागेको जानकारी दिए’ संक्रमित परिवारका सदस्यहरुको भनाई उद्घृत गर्दै उहाँले भन्नुभयो ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरु संक्रमित व्यक्तिका लागि खाना र औषधी लैजान लागेको भन्दै त्यस तर्फ गएको उहाँको भनाई छ ।

जिल्ला कोरोना संक्रमण व्यवस्थापन केन्द्रको निर्णय अनुसार पर्वतको कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का सवै वडामा सर्वसाधरणको आवातजावत कडाई गरिएपनि निर्णय कार्यान्वयनका लागि कडाई गरिएको छैन । ‘सर्वसाधरण आफैले बुझ्ने कुरा हो, कसलाई के भन्ने ?’

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भन्नुभयो ‘आफ्नो व्यक्तिगत सुरक्षाका लागि पनि मानिसहरु अटेर गर्छन्, जति भने पनि लाग्दैन’ उहाँले संक्रमित व्यक्तिको परिवारका सदस्य बजारमा निस्किएको कुरालाई पनि ध्यानाकर्षण गराउन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई मौखिक रुपमा जानकारी गराएको बतानुभयो ।

शुक्रबारको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको रिपोर्टमा पर्वतमा २ जना संक्रमित थपिएको र समुदायका व्यक्तिहरु संक्रमित भएको जानकारी प्राप्त भएपनि संक्रमितका परिवारमा थप ट्रेसिङ भइसकेको छैन । संक्रमित व्यक्तिमा भाइरसको प्रकृति हेरेर परिवारका सदस्यलाई पिसिआर परिक्षण गरिने स्वास्थ्य कार्यालय पर्वतका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिनुभयो।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले संक्रमित व्यक्तिकै परिवार बाहिर निस्किनु गलत भएको बताउँदै आफुले अस्थायी कोरोना अस्पताल युनिटमा उक्त जानकारी अग्रिम रुपमा गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्