हप्तौं पछि पेटमा अन्नको दाना पर्दा मान्छेले रुँदै-रुँदै खादो रहेछ



भगवती तिमल्सिना, काभ्रे ।
मागेर खाने कसैको रहर हुदैँन, कोरोना कहरले विश्वव्यापी रुपमा पारेको असर नेपालमा पनि त्यतिकै परेको छ । नेपाल जस्तो न्यून आय भएको मुलुकका जनता हुनेखाने र हुँदा खाने दुईखालका रहेछन् । हुँदा खाने बर्गको अवस्था निकै पीडादायि बन्दै गएसँगै विभिन्न संघसंस्था, स्थानीय निकाय बनेपा नगरपालिका लगायतका समाजसेवी तथा दाताहरुले हुँदा खाने श्रमिकहरुको मारमा मलमपट्टी लगाउनका लागि दैनिक खाना खुवाउने अभियान नै चलाएको छ ।

केही दिनदेखि बनेपा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा खाना खुवाउने कार्यमा नगरपालिका, उद्योगी व्यवसायी, समाजसेवी, कलाकार, स्थानिय बासिन्दाहरु एकजुट भएर लागेका छन् भने बनेपा नगरपालिका स्वयमले व्यक्तिगत दुरी लगायत सुरक्षाका मापदण्ड समेत पालना गराउँदै सकृय रुपमा समन्वय गरिरहेको छ ।

यो अभियानमा सकृय रुपमा सहभागी हुँदै आउँनुभएका गुल्मी गाईजका बरिष्ठ कलाकार हरि कर्माचार्यले सामाजिक संजालमा लेख्नुभएको स्ट्याटस यस्तो छ—“आज धेरै सिक्ने मौका पाएँ हप्तौं पछि पेटमा अन्नको दाना पर्दा रुदै रुदै खादो रहेछ मान्छेले । जुनसुकै जाति र धर्मको भगवान दाल भात तरकारी रहेछ । तातो भातले निर्दोष मुहारमा मुस्कान ल्याउदो रहेछ । बनेपा ब्वाइज क्लबको खाना खुवाउने कार्यक्रमको पहिलो दिन अप्ठ्यारोमा परेका १ सय ५ जना संतुष्ट भएको दिन आज आफ्नो कर्म बाट सन्तुष्ट छु ।”

नेपालका नेता तथा सरकारले खानविना कुनैपनि नेपालीले मर्नुपर्ने छैन भन्ने गरेको भनाईलाई यस्ता हुँदा खाने बर्गको मर्मले गिज्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्