एघार पासलाई एघार रुपियाँको जागिर



कृष्णहरि बास्कोटा

मेरा पिताश्री हरिहर बास्कोटा ९४ वर्ष पूरा गरी ९५ वर्षमा प्रवेश गर्ने क्षणमा हुनुहुन्छ । यसै सन्दर्भमा बुबाको पढाइ र जागिरका बारेमा कुराकानी गर्दा रोमाञ्चकारी स्मरणहरु हाम्रा सामु आए । जुन इतिहासलाई सार्वजनिक गर्ने ध्येयले यो आलेख तयार गरेको छु ।

केवलपुरको जन्म ः
नब्बे सालको भुइँचालो जानुभन्दा करिब ८ वर्षपहिले मेरो बुबा धादिङ जिल्लाको केवलपुरमा जन्मिनुभयो, त्यहीँ हुर्किनुभयो । पहाडी स्थान भए पनि परिवारमा केही सम्पन्नता भएकाले बुबाको बाल्यकाल सहजै बित्यो । उहाँलाई ठूलो बुबाहरुले घरमै क–ख, जोड–घटाउलगायत सिकाउनुभयो । पछि वि.सं. १९९२ मा केवलपुर पाठशाला खुलेपछि त्यहीँ प्रारम्भिक शिक्षा हासिल गर्नुभयो ।

पाठशाला खुल्दाको घटना ः
केवलपुरमा आचार्य बज्यै बस्नुहुन्थ्यो । उहाँले आफ्नी छोरीको विवाह काठमाडौंका अधिकारीसँग गराउनुभएको थियो । जब छोरीले नाति पाइन्, तब उनी र ज्वाइँ दुवै कालगतिले बिते । ती अर्याल बज्यैले अनेक कोशिश गरी ती नातिलाई बालगृहमा राख्न सफल हुनुभयो ।

जब ती नाति ७ वर्षका भए तब बज्यैले बालगृहबाट केवलपुर ल्याएर व्रतबन्ध गराइदिनुभयो । त्यसपछि सबैको सल्लाह र सिफारिसमा काठमाडौंको तीनधारा पाठशालामा राखी दरबार स्कुलमा पढाउन सफल हुनुभयो । ती नातिले राम्ररी पढाइ पूरा गरे । साथै, बनारसबाट दिएको परीक्षामा उत्तीर्ण भई पण्डित शंखप्रसाद अधिकारी कहलाए । यो कुराले केवलपुरको डाँडो हल्लियो ।

मेरो बुबाका ठूलोबुबा रामजीप्रसाद बास्कोटा नेपालभरि रहेका पाठशालाको सुपरभाइजर हुनुहुन्थ्यो । उहाँले सबै गाउँलेसँग मिलेर केवलपुरमा पाठशाला खुलाउने र उनै पं. शंखप्रसाद अधिकारीलाई शिक्षक बनाउने पहल गर्नुभयो । पहल सफल भएपछि केवलपुरमा १९९२ सालमा सरकारी पाठशाला खुल्यो ।

शुरुमा सो पाठशालामा पढ्न जाने करिब डेढ सय थिए । त्यसमा मेरो बुबा पनि हुनुहुन्थ्यो । उहाँले सो पाठशालामा करिब ३ वर्ष चण्डी र हितोपदेश पढ्नुभयो । त्यस बेला घरबाटै चगटी बोकेर जानुपर्ने, सिलोटमा लेख्नुपर्ने, पानी परे छुट्टी हुने चलन थियो । बुबाको सम्झनाअनुसार स्कुलमा घण्टी बजाउने, छुट्टाछुट्टै कक्षा सञ्चालन हुने अवस्था थिएन । हाजिर भने लिने गरिन्थ्यो । शिक्षकको हातमा छडी हुन्थ्यो । सो छडी हल्ला गर्ने विद्यार्थीको टाउकोमा बज्रिन्थ्यो ।

स्कुलको पियनमा नियुक्ति भएका मुडबरीले पनि क–ख सिकाउँथे तर पनि कक्षामा हल्ला हुने, भद्रगोल हुने, झगडा हुने गर्दैनथ्यो । पछि विद्यार्थी घटेर ५०–६० जना जति भए पनि पढाइ राम्रो नै थियो । सिलोट र खरी भीमसेनस्थानमा रहेको कृष्णमान र रत्नमानको पसलमा किन्न पाइन्थ्यो । पछि यी दाजुभाइका एक–एक छोरा भए । ती टाउके साहू र चाउरे साहूको नामले केवलपुरमा प्रख्यात हुँदा भए ।

स्कुल आफ्नै नाममा ः
संयोग नै भन्नुपर्छ, बुबा जुन पाठशालाको प्रथम विद्यार्थी हुनुहुन्थ्यो, हाल सो पाठशालाको नाम बदलिएको छ । नाम बदलिएर सो पाठशालाको नाम हरिहर भोजकुमारी उच्च मावि भएको छ । मेरो बुबाले सो स्कुललाई नगद सहयोग गर्नुभयो, जसको कारण विद्यालयको सिफारिसमा सरकारले विद्यालयको नाम बदली मेरो आमा–बुबाको नाम राखिदियो । यसरी पहिलो लटको विद्यार्थीको नामबाट उक्त विद्यालय उचाइका साथ सञ्चालन भैरहेको छ ।

हाकु पाठशालामा भर्ना ः
केवलपुर पाठशालाको पढाइ सकेर बुबा थप पढाइका लागि काठमाडौं आउनुभयो । न्युरोडको पीपलबोटनजिक गोरखापत्र संस्थानको छापाखाना रहेको स्थानमा कालो रंग लगाएको पाठशाला थियो, जो हाकु पाठशाला नामले चिनिन्थ्यो । सो स्कुलबाट बुबाले ६ पास गर्नुभयो । यो हालको आधारभूत शिक्षा ५ कक्षा वा ८ कक्षा पढेसरह थियो ।

पाँच पास ः
त्यसपछि बुबा ५ पासका लागि मखनटोलका मोहनमान श्रेष्ठकहाँ पुग्नुभयो । श्रेष्ठ सरले प्राइभेट पढाउनुहुन्थ्यो । बुबाले सम्झेअनुसार २–३ वर्ष पढाएर ५ पास गराउन सके मात्रै उहाँले ४ सय फी लिनुहुन्थ्यो । विद्यार्थीलाई बिहान, दिउँसो र साँझ तीन सिफ्टमा पढाएर योग्य भएपछि घण्टाघरस्थित शिक्षा कार्यालयमा परीक्षाका लागि फाराम भर्नुहुन्थ्यो । परीक्षाको दिन घण्टाघरको परीक्षा केन्द्रभित्र विद्यार्थीलाई छिराएर श्रेष्ठ सर बाहिर कुरी बसेको कुरा बुबाको स्मरणमा ताजा छ ।

यसरी बुबाले ५ पास गरेपछि यसलाई ११ पास भनियो । यसैलाई कसैले ४ पास पनि भन्ने गरेको बुबाको भनाइ छ । तर, बुबाको भनाइअनुसार यो ५ पास नै हो । उहाँले भूगोल, अंकगणित, लेखा, ऐनश्रेस्ता र इतिहास गरी ५ विषय उत्तीर्ण गर्नुभएको थियो । उहाँले लेखामा सर्वाधिक अंक ७७ ल्याएको समेत स्मरण गर्नुभएको छ । यसलाई निजामती मध्यमा परीक्षा उत्तीर्ण भनिन्थ्यो । यो परीक्षा उत्तीर्ण भएपछि बुबा जागिरको खोजीमा लाग्नुभयो ।

पजनीबाट नौसिन्दा ः
बास्कोटा परिवारमा सो बखत सरदार सोमप्रसाद बास्कोटा उच्च पदमा हुनुहुन्थ्यो । यसर्थ, बुबा जागिरको खोजीमा उहाँकहाँ पुग्नुभयो । सोमप्रसादले श्रेस्ता अदालतका सुब्बा दामोदरसँग काम सिकाइदिन आग्रह गर्नुभयो । त्यसपछि मेरो बुबाको काम इन्टर्नको रुपमा श्रेस्ता अदालत पुगी लिखत तयार गर्ने हुन थाल्यो ।

सो कार्यालयमा खरिदार पद रिक्त रहेछ । सो बखतको प्रचलनअनुसार पजनीका दिन रिक्त खरिदारमा मुखियाबाट पदोन्नति गर्ने, मुखियामा राइटरलाई बढुवा दिने र बहिदार राइटरमा उक्लिई नौसिन्दा पद रिक्त हुने रहेछ । सो रिक्त नौसिन्दामा बुबालाई नियुक्ति गर्ने बन्दोबस्त हुन थाल्यो । त्यस बखतको नेपालमा पाले सर्वाधिक तल्लो दर्जाको पद थियो । दुनियाँदार सामान्यतः नौसिन्दामा प्रवेश गर्दथे । ती बढुवा हुँदै क्रमशः राइटर, मुखिया, खरिदार, सुब्बा, मिरसुब्बा र काजीसम्म पुग्थे । सोभन्दा माथिल्लो पदमा राणाहरु मात्रै नियुक्ति हुन्थे ।

एकदिन पजनीको दिन आयो । बुबाको सम्झनाअनुसार सो पजनीका दिन श्री ३ जुद्धशमशेर सिकार खेल्न गएका थिए । मेरो बुबा पजनीका दिन पद्मशमशेरको दरबार पुग्नुभयो । उनी सो बखत कमान्डर इनचिफका साथै मुलुकी अड्डाको हाकिम पनि थिए ।

बुबा पजनीका दिन नियुक्ति पाउन सुकिलो मयलपोस सुरुवाल, कोट, ढाका टोपी र असनमा किनेको नयाँ गलबन्दीमा ठाँट्टिएर पद्मशमशेरको दरबार पुग्नुभएको थियो । पजनीका लागि लामा–लामा जुँगा भएका किताबी सुब्बा आइपुगे । भव्य दरबारको झ्यालमा पद्मशमशेर देखा परे । सबैले आदारपूर्वक उनलाई अभिवादन गरेपछि पजनीको काम आरम्भ भयो ।

ती जुँगे किताबी सुब्बाले रिक्त खरिदारमा मुखियाको बढुवा, मुखियाको ठाउँमा राइटरको बढुवा र राइटरमा नौसिन्दाको बढुवाको प्रस्ताव विन्ती बिसाए । शायद पहिल्यै ब्रिफ्रिङ भैसकेकाले सबै प्रस्तावमा पद्मशमशेरले मुन्टो हल्लाएर सहमति जनाए । प्रस्ताव सदर भएपछि किताबी सुब्बाको आदेशमा कर्मचारीहरु दाम राखी पद्मशमशेरमा कृतज्ञता अर्पण गर्दथे । किताबी अड्डाका अन्य कर्मचारीले ती बढुवा पाएका कर्मचारीलाई पाखुरामा समातेर अर्को छेउतिरको रुखमुनि लगेर राख्ने गर्थे ।

दाम राखेपछि जागिर पक्का ः
अब मेरो बुबाको जागिरको प्रस्ताब गर्ने समय आयो । जुँगे किताबी सुब्बाले बुबालाई अघि सार्दै रिक्त नौसिन्दामा नियुक्तिको लागि प्रस्ताव गरे । साथै निजामती मध्यमा उत्तीर्ण गरेको बुबाको प्रमाणपत्र माग गरी सो प्रमाणपत्र ठीक हो भनेर पद्मशमशेरलाई सुनाए ।

पद्मशमशेर केही नबोली झ्यालबाट हराए । त्यसको करिब ३ मिनेटपछि पुनः झ्यालको डन्डीमा समातेर चउरतिर हेरी अँ भने । पुनः किताबी सुब्बाले प्रस्ताव दोहो¥याए । त्यसपछि, पद्मशमशेरले लौ भनेपछि मेरो बुबा नौसिन्दा हुनुभयो । यो घटना वि.सं. १९९९ को हो ।

पद्मशमशेरले बुबाको नियुक्तिमा सहमति जनाएपछि किताबी सुब्बाले दाम राख्न लगाए । मेरो बुबाले एक रुपियाँको डबल पद्मशमशेरको पाउमा चढाएको प्रतिकमा चउरमा फाल्नुभयो र अभिवादन गर्नुभयो । सो दिनको पजनी सकियो । पद्मशमशेर दरबारको झ्यालबाट हराए । बुबालाई आफूले चढाएको दाम टिप्न किताबी सुब्बाले आदेश दिए । बुबाको सम्झनाअनुसार यसरी चढाएको दाम छट्टु आठपहरियाहरुले टिप्थे ।

एघार रुपियाँको जागिर ः
अब बुबालाई किताबी अड्डाका कर्मचारीले पाखुरामा समातेर अर्को कुनातिरको रुखमुनि पु¥याए । अर्को दिन उनीहरुले किताबखानामा बोलाए । सो दिन उनीहरुले निजामती मध्यमा परीक्षा उत्तीर्ण गरेको शिक्षा कार्यालयले दिएको प्रमाणपत्रको पडाडि नौसिन्दामा नियुक्ति भएको प्रमाणित गरिदिए र श्रेस्ता अदालत, चारखालमा काम गर्न जान अराए । सो बखत बुबाको मासिक तलब ११ रुपियाँ थियो ।

झिल्के केटो ः
मेरो बुबाको नाम नियुक्तिका लागि प्रस्तावित भएपछि तत्काल पद्मशमशेरले स्वीकृति नगरेर आपसमा भलाकुसारी गरेका रहेछन् । सो बखत सरदार सोमप्रसाद बास्कोटा पद्मशमशेरको हजुरिया भएर पद्मशमशेरसँग नै रहनुभएको रहेछ । पछि बुबाले थाहा पाएअनुसार पद्मशमशेरले यो झिल्के केटोले काम गर्छ र ? भनी प्रश्न गरेका रहेछन् । सरदार सोमप्रसादले मौकाको फाइदा उठाई केटो उमेरले झिल्के देखिए पनि इमानदारितापूर्वक नूनको सोझो चिताएर काम गर्छ जस्ता पूmलबुट्टा भरिदिएकाले बुबाको जागिर पक्का भएको रहेछ । यो कुरा आजभन्दा ७८ वर्ष पूर्वको हो ।

प्रतिक्रिया दिनुहोस्