‘छिट्टै पूरा होस् प्रधानमन्त्रीको अभिव्यक्ति’



रोशन पराजुली, हेटौंडा

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिडपीडितसँग भेट गर्नुभयो । भेटमा उहाँले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गर्नुभयो ।

एसिड आक्रमणबाट पीडितसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिसमेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा उहाँले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनका लागि निर्देशनसमेत दिनुभयो ।

उहाँको यस्तो निर्देशनले करिब ७ वर्षअघिकी हेटौंडाकी एक पीडित युवतीले आफूहरूलाई केही राहत मिल्ने अपेक्षा गरेकी छन् । हेटौंडाकी एसिडपीडित बिन्दवासिनी कंसाकारका अनुसार हालसम्म कुनै सरकारी निकायले उहाँलाई सहयोग गरेका छैनन् । हाल प्रधानमन्त्रीको घोषणाले आफूलाई केही सहयोग पुग्ने आस पलाएको भन्दै कंसाकारले खुसी व्यक्त गर्नुभयो ।

उहाँका अनुसार उपचारका लागि सात वर्ष अवधिमा करिब ८० लाख खर्च भएको छ । उहाँ भारतको केरला पुगेर नियमित उपचार गराउँदै आउनुभएको छ । ‘अस्पतालले ९९ प्रतिशत ठीक गराउँछु भनेको छ’, कंसाकार भन्नुहुन्छ– ‘सरकारले दिने भनेको खर्च छिटो उपलब्ध गराए हामी पीडितलाई धेरै राहत मिल्ने थियो ।’

घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाइ खर्च तथा व्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रीले सरोकारवाला तथा पीडितका अगाडि घोषणा गर्नुभएको थियो ।

गृहमन्त्री रामबहादुर थापा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिवसमेतको उपस्थितिमा भएको अन्तरक्रियामा सम्बन्धित मन्त्रालय र निकायलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको घोषणाअनुसार एसिड आक्रमणबाट पीडितको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पतालमा डेडिकेटेड युनिट स्थापना गरिनेछ ।

प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गरिने बताउनुभयो । अपराधिबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरूलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिँदै गर्दा कंसाकारलगायत एसिडपीडितले केही राहत महसुस गरेका छन् ।

‘एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजस्वमा दाखिला नगरी सीधै पीडितलाई भराउने र अपराधीलाई उम्किन नदिन तत्काल उसको सम्पत्ति रोक्का गर्ने कानुनी प्रबन्ध गर्नु आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘एसिड आक्रमणबाट मानिसमा शारीरिक चोटपटक मात्र लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिकलगायत बहुपक्षीय दुस्प्रभाव पार्छ । त्यसको समेत उपचार गर्ने प्रबन्ध गर्नुपर्छ ।’

सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्नु नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने पनि उहाँले विश्वास दिलाउनुभएको छ ।

हेटौंडामा चर्चित एसिड प्रकरणका दुवै अभियुक्त जेलमा छन् । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले दुवै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

कंसाकारमाथि एसिड प्रकरणमा मुख्य अभियुक्त भारतीय नागरिक दिलीपराज केशरी र उनका सहयोगी मानिएका सञ्जय मण्डललाई भीमफेदी कारागार पठाइएको छ । एसिड प्रहार गरेर फरार भएका भारत महाराजगन्ज अमरपँर्वन वडा–६ बस्ने राज भनिने केशरीलाई प्रहरीले रेडकर्नर नोटिसमा राखेको थियो ।

प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।

एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिनुपर्छ ।’ केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा हेटौंडाकी पीडित कंसाकारले भन्नुभएको थियो ।

२०७० वैशाख ९ गते बिहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई पसलभित्र बसिरहेको अवस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका राज केशरी उहँँको अनुहारमा एसिड फ्याँकेर फरार भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्