जेभरेभ पहिलोपटक ग्रान्डस्लाम फाइनलमा



न्युयोर्क, (एजेन्सी)

जर्मनीका एलेक्सान्डर जेभरेभले पहिलोपटक ग्रान्डस्लाम टेनिस प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्।
जेभरेभले यूएस ओपनअन्तर्गत सेमिफाइनल खेलमा स्पेनका पाब्लो क्यारेना बुस्टाविरुद्ध ५ सेटमा तनाव झेल्दै जित हात पारेका हुन्। पाँचौं वरीयताका उनी क्यारेनो बुस्टासँग हार निकट पुगेका थिए। तर, उनले सानदार पुनरागमन गर्दैै सो खेल ३–६, २–६, ६–३, ६–४, ६–३ ले जितेका हुन्।

आइतबार हुने फाइनलमा जेभरेभको सामना अस्ट्रियाका डोमिनिक थिएमसँग हुनेछ। दोस्रो वरीयताका थिएमले रूसका डानिल मेडभेडेभलाई ६–२, ७–६, ७–६ को सोझो सेटमा हराएका थिए। योसँगै पहिलोपटक नयाँ ग्रान्डस्लाम उपाधि विजेता घोषित हुनेछन्।

कोरोनाको महामारीले गर्दा गत वर्षका विजेता राफायल नाडाल र रोजर फेडेररले सहभागिता जनाएनन्। त्यस्तै, शीर्ष वरीयताका नोभाक जोकोभिचले चौथो चरणको खेलमा लाइन निर्णायकलाई बलले प्रहार गरेपछि अयोग्य घोषित भएका थिए। जोकोभिच बाहिरिएपछि प्रतियोगितामा नयाँ विजेता हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्