झिलिमिली हुँदै ललितपुर महानगर



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाभित्रका सडक झिलिमिली हुन थालेका छन् । महानगरभित्रका सडकमा धमाधम स्मार्ट सडक बत्ती जडान हुन थालेपछि सडक भिलिमिली हुन थालेको हो ।

कुपण्डोल जावलाखेल लगनखेल सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अन्य रुटमा बत्ती राख्नका लागि खम्बाहरु गाड्ने काम भइरहेको छ । यो रुटमा अहिले एक सयभन्दा बढी बत्ती जडान भएका छन् ।

महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडान शुरु गरेको हो । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो स्थानीय तह हो ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान हुने भएका छन् । महानगरका अनुसार बागमती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल ( इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिने भएको छ ।

बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुने भएको छ । प्रमुख महर्जनले भन्नुभयो– ‘यो बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी हुनेछ, महानगर झिलिमिली हुन्छ ।’ उहाँले स्मार्ट सडक बत्ती स्मार्ट सिटीको एउटा तŒव भएको बताउनुभयो ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको एक महिनाअघि शुभारम्भ गर्नुभएको थियो ।

ललितपुर महानगरपालिकाले पाँच करोड २० लाखको लागतमा यो योजना शुरु गरेको हो । ललितपुर महानगरपालिकाको लगानीमा जडान हुन लागेको स्मार्ट सडक बत्ती परियोजनाकोे कन्ट्रयाक्टर क्रम्टन महावीर जेभी रहेको छ । जडान भएका बत्तीहरु क्रम्टन कम्पनीका उत्पादन हुन् ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले स्मार्ट सडक बत्तीको जडानले सहरको सुन्दरता बढाउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो योजना सम्पन्न भएपछि रिङरोडबाहिरका महानगरका वडाहरुमा पनि बत्ती जडान शुरु गर्नेछौं ।’

महानगरले पहिलो चरणको काम सकिएलगत्तै दोस्रो चरणमा बुङमती, खोकना, सुनाकोठी, धापाखेल, हरिसिद्धीमा पनि बत्ती जडान गर्ने योजना बनाएको छ ।

यसका साथै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत् प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्वारा महानगरपाकिाका प्राविधिक कर्मचारीलाई ट्रेनिङसमेत दिइनेछ । काम शुरु भएको मितिले यो परियोजना ४५ दिनभित्र सम्पन्न हुने भनिए पनि निशेषाज्ञाका कारण काम सम्पन्न हुन केही समय लाग्नेछ ।
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ ।

अर्थात् पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा पुग्नुपर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी महानगरले जनाएको छ । प्रत्येक बत्तीलाई सर्भरबाट कन्ट्रोल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्