दाइ पद्म ज्योतिले अस्पतालको पानीको पाइपसम्म काटिदिएको भाइ रुप ज्योतिको गुनासो



नेपाल समाचारपत्र, काठमाडौं

नेपालको प्रतिष्ठित अर्बपति व्यावसायिक घराना ज्योति परिवारभित्रको विवादमा भाइ रुप ज्योतिमाथि दाइ पद्म ज्योतिबाट बढी नै ज्यादति भएको तथ्यहरूले देखाएका छन्।

‘ग्य्राण्डी सिटी हस्पिटलमा आउने पानीको पाइपसम्म काटिदिनुभयो, तैपनि आगामी १४ वर्षसम्म पुग्नेगरी त्यस क्षेत्रको उहाँको भागको घरभाडा जम्मा गरिसकें, यसका बाबजुद उहाँ मैले जबरजस्ती हस्पिटल हडपें भनेर मिडियावाजी गरिरहनुभएको छ’ रुपज्योतिले नेपाल समाचारपत्रलाई भन्नुभयो– उहाँले आफू बसेको अफिस छोडेर ल यहाँ अस्पताल चलाऊ भन्नुएअनुसार मैले काम गरेको हुँ, अब यतिखेर जबरजस्ती हडपेको भनेर आरोप लगाउने !

भाइ रुप ज्योतिको विश्लेषणमा ग्य्राण्डी सिटी हस्पिटलबाट दाइ पद्म ज्योतिले जति लाभ होला भन्ने सोच्नुभएको थियो, त्यो भएन। बहत्तर सालको महाभूकम्पले क्षति पु¥याएपछि रेक्टोफिटिङमा खर्च भयो, अहिले मासिक २०–३० लाखको नोक्सान छ।

‘२४ बेडको सानो तर बाहिरको हावासमेत प्रशोधन गरेर भित्र पठाउने गरी अत्याधुनिक सुविधासम्पन्न किसिमले बनाइएको यस हस्पिटलले निकै कमायो भन्ने दाइलाई भ्रम भएको हुनसक्छ, तर सबै पारदर्शी छ, उहाँले ममाथि यस प्रकारको आरोप लगाउनु दुखद कुरा हो’ रुप ज्योतिले भन्नुभयो– हस्पिटलको नोक्सान बहन नगर्ने भए, दाइ हो, म सहुँला, तर यसरी खेद्नु त भएन नि !

विगत करिब तीन महिनादेखि चरम उत्कर्षमा पुगेको झगडामा थप बल पुग्नेगरी बुधबार ज्योति ग्रुपका पूर्वअध्यक्ष पद्म ज्योतिले सार्वजनिक सूचना जारी गरेर आफ्ना कमजोरी आफैले उदांग पार्नुभएको छ।
पद्म ज्योतिको आरोप छ, ‘रूप ज्योतिले सञ्चालन गरेको ग्राण्डी सिटी हस्पिटलमा आफ्नो पनि केही खण्ड स्वामित्व रहेको र त्यो खण्ड भाइ रूप ज्योतिले बलजफ्ती हडपेका छन्। उनले बहालसम्म तिरेका छैनन्।’

‘दाइको खातामा महिनैपिच्छे बहाल जम्मा भएको छ, हामीसँग प्रमाण छ, त्यसमाथि पारिवारिक मामिला हो भनेर मैले आगामी १४ वर्षसम्मलाई पुग्ने भाडा जम्मा गरिसकेको छु, एकै परिवारभित्र जसको खातामा रकम जम्मा गरे पनि के भयो र भन्ने सोचें, तर मैमाथि यो आरोप !’ रुप ज्योतिले दुख व्यक्त गर्नुभयो।

भाइ रुप ज्योतिले विवादको जरो खुलासा गर्नुभयो, ‘मलाई भागवण्डा दिनुपर्छ भनेर उहाँले ज्योति ग्रुपको अध्यक्ष बन्ने क्रममा आफ्ना छोरा सौरभ र सुहृदलाई लगाएर मनपरी रूपमा जग्गा बिक्री गर्ने, नामसारी गरेर जग्गा लुकाउने गरेपछि मैले आपत्ति जनाएँ, सञ्चालक समितिले बहुमतबाट अध्यक्ष परिवर्तन ग¥यो, त्यो रिस ममाथि साधिरहनुभएको छ। दाइले गल्ती गरेकाले नै हामी सबै परिवारले दाइलाई अध्यक्षबाट निकालेका हौं।’

रुप ज्योति हाल ज्योति ग्रुपका अध्यक्ष हुनुहुन्छ। ज्योति ग्रुपमा तीन दाजु–बहिनी पद्म ज्योति, रूप ज्योति र कमला कंसारकार सञ्चालक हुनुहुन्छ। सञ्चालक समितिको बहुमतले अध्यक्ष परिवर्तन गरेको हो। कानुनी उपचार हुँदाहुँदै पनि दाइ आफूमाथि निरन्तर जाइलागेको आरोप रूप ज्योतिको छ।

उहाँहरूका पिता मणिहर्ष ज्योतिले सन् १९४० मा ज्योति ग्रुपका नाममा विभिन्न कम्पनीहरू सञ्चालन गर्नुभएको थियो। एक दर्जनभन्दा बढी कम्पनी तथा उद्योग रहेको यस ग्रुपभित्र रूप ज्योतिले दाइले सम्पत्ति बेचेको आरोप लगाउँदै आउनुभएको छ भने पद्म ज्योतिले अवैधानिक रूपमा सम्पत्ति हडपेको आक्षेप लगाउनुभएको छ।

उहाँहरूबीचको विवाद अहिले स्थानीय प्रशासनदेखि अदालतसम्म पुगेको छ। कहिले दाइलाई प्रकाउ गर्न भन्दै भाइ र कहिले भाइलाई पक्राउ गर्ने भन्दै दाइ प्रहरी कार्यालय धाउने गरेका समाचार यसअघि पनि बाहिर आइसकेका छन्।

अध्यक्ष रहेको बेला पद्म ज्योतिले परवानीपुर गेष्ट हाउस रहेको पाँच विगाह जग्गा, भाजुरत्नको घरजग्गा, भाजुरत्न इन्जिनियरिङको शेयर बिक्री गरेको र विभिन्न कम्पनीको स्वामित्व एकल कम्पनीमा सारेको भाइ रुपको आरोप छ।

गत असार ३ मा रूप ज्योति, मिला सायमीलगायतले सञ्चालन गरेको ग्राण्डी सिटी अस्पतालको घरमा आफ्नो केही खण्ड रहेको र त्योबापतको बहाल आफूलाई नबुझाएको आरोपसहित पद्म ज्योतिले पत्र पठाउनुभएको थियो। उहाँले स्वीकृतिबिना आफ्नो नाममा रहेको प्रथम तल्ला र दोस्रो तल्ला प्रयोग गरेको भन्दै भाइलाई तल्ला खाली गराउन र ६ वर्षको बक्यौता तिर्नका लागि पत्र काट्नुभएको थियो।

यस विषयमा तीन हप्ता पारिवारिक विवाद चलेपछि ग्राण्ड सिटी क्लिनिक हस्पिटलबाट बहाल बुझाएको रकमको विवरणसहित १७ असारमा सञ्चालक मिला सायमीले पद्म ज्योतिलाई जवाफ फर्काउनुभयो। पत्रमा ६ वर्षको बहालबापतको रकम १ करोड २९ लाखको सट्टा अन्य रकमसमेत गरी ४ करोड ३९ लाख रुपियाँ अग्रिम बुझाएको उल्लेख गरिएको छ।

रुप ज्योतिले भन्नुभयो ‘अवैध रुपमा ग्य्राण्ड सिटी चलाएको जो आरोप दाइले लगाउनुभएको छ, यो पनि आधारहीन छ, यस्तो सानो हस्पिटल संघीय प्रशासन वा प्रान्तीय प्रशासन कहाँ दर्ता गर्ने भन्नेमा सरकारको नीति नै अलमलमा छ। हो, रेट्रोफिटिङ पूरा नभएको कारणले भवन विभागको प्रमाण लिन भने बाँकी छ।’
मुद्दा अहिले अदालतमा पुगेको छ। पद्म ज्योतिले रूप ज्योतिका कम्पनीहरू खराब अवस्थामा छन् भनेर

बैंकहरूलाई सावधान गर्दै पत्रसमेत काट्नुभयो। रुपलाई तत्काल चारवटा बैंकको कर्जा चुक्ता गर्नुपर्ने अवस्था आयो। हिमालयन बैंक, सनराइज बैक, सिभिल बैंकले पत्र काटेका कारण भाइ रूप ज्योतिले ऋण चुक्ता गर्नुपरेको थियो।

पद्म ज्योति नेसनल बिजनेस इनिसिएटिभका संस्थापक अध्यक्ष हुनुहुन्छ। यस संस्थाको उद्देश्य व्यावसायिक आचारसंहिता र जिम्मेवारी अभिवृद्धि गर्नु हो। पारिवारिक कारणले आफ्नै भाइको व्यवसाय डुबाउन उद्दत उहाँले अरूलाई व्यावसायिक नैतिकता कसरी सिकाउनुहोला भन्ने प्रश्न व्यापारिक क्षेत्रमा छ।

शनिबार मात्र ग्य्राण्डी सिटी अस्पतालका तर्फबाट एक विज्ञप्ति जारी गर्दै आफू पूर्णतः कानुनसम्मत तरिकाले सञ्चालनमा रहेको र पद्म ज्योतिको गलत प्रचारवाजीमा नलाग्न सरोकारवाला सबैमा आग्रह गरिएको छ। विज्ञप्तिमा पद्म ज्योति, शौरभ ज्योति, सुहृद ज्योतिलाई ढोकामा फलाम पाता, प्लाइउड लगाई बन्द गर्ने जस्ता काम गर्दै अस्पताल प्रवेशमा रोक लगाउने तथा कर्मचारीलाई धम्क्याउने जस्ता काम बन्द गर्न समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्