बङ्गलादेशमा कोरोना सङ्क्रमितमध्ये झण्डै १.४ प्रतिशतको मृत्यु



ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ । निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ ।

बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार २८२ रहेका छ भने ३४ जनाको मृत्यु भएको छ । यहाँ शनिबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ४४ पुगेको छ भने चार हजार ७०२ जनाको मृत्यु भइसकेको छ ।

बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख ३८ हजार २७१ रहेको छ । तथ्याङ्क अनुसार विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या भने दुई हजार २४७ रहेको छ ।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्