शहरी खानेपानी आयोजना विवादित



रामधन राई, खोटाङ ।

खोटाङस्थित दिक्तेलबजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजना विवादित वनेको छ । स्थानीयको मागप्रति उदासीन बनेर जबरजस्ती मुहानको पानी लैजान खोजेको भन्दै स्थानीयले विरोध जनाएपछि आयोजना विवादित वनेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्चालनमा आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । खानेपानी आयोजनामा पानीको मुहान उपभोग गरिरहका सोल्मा र नेर्पाका स्थानीयले आफूहरुका माग पूरा नगरेसम्म कुनै पनि हालतमा पानी लैजान नदिने स्थानीयको अडान छ ।

खानेपानी निर्माण उपभोक्ता समितिले स्थानीयसँग गरेको १२ बुँदे सम्झौता बिपरित छेपेखोला र काहुले मुहानको समेत पानी लाने तयारी गरेकाले विरोध गरिएको छेपेखोला काहुले मुहान सङ्घर्ष समितिका संयोजक हर्कबहादुर पराजुलीले बताउनुभयो ।

सोल्माको रम्बाखोला र माझखोलाबाट पानी दिने सहमती भएपनि मुहानै थुन्नुका साथै छेपेखोला र काहुले मुहानबाटसमेत जबरजस्ती पानी लाने तयारी गरेकाले अवरोध गरिएको खानेपानी समन्वय समितिका संयोजक धनिराम राईले बताउनुभयो ।

खानेपानीको मुहानमा बाँध नबाँधी ७५ मिलीलिटरको पाइप राखेर पानी लाने आपसी सहमती भएको संयोजक राईको भनाई छ । अहिले माझखोलामा बाँध बाँधेर पानी लगेकाले स्थानीयलाई पानी अभाव हुने र खेतीयोग्य जमिन प्रभावित हुने देखिएको छ । गत वर्षको सम्झौता पूरा नगरी नगरपालिका र शहरी खानेपानी आयोजनाले हेपाहा प्रवृत्ति देखाएकाले आयोजना नै बन्द गर्न बाध्य वनेको संघर्ष समितिले जनाएका छन् ।

संयोजक राईका अनुसार गत वर्ष नै पानी दिनका लागि उपभोक्ता समिति र स्थानीय बासिन्दाबीच विभिन्न १२ बुँदे सहमति भएको थियो । सम्झौतामा उल्लेख भएअनुसार सोल्मामा पनि उक्त खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने, विभिन्न ठाउँमा रिचार्ज पोखरीहरु निर्माण गर्नुपर्ने, शहरी खानेपानी आयोजना उपभोक्ता समितिमा सोल्माका स्थानीय बासिन्दालाई पनि समेट्नुपर्ने, सोल्मालाई विशेष क्षेत्र बनाई त्यसै अनुसार योजनाहरु सञ्चालन गर्नुपर्ने लगायत सहमती गरिएको छ ।

निर्माणाधीन उक्त आयोजना अन्तरगत एक हजार ४९ घरधुरीलाई पानी उपलब्ध गराउने योजना थियो । करीब २२ करोड ५६ लाख लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत चैतमा शिलान्यास गरिएको थियो ।

एसियाली विकास बैङ्क ९एडिबी०को ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानी हुने उक्त आयोजनाको काम अहिलेसम्म करिब ६५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले जानकारी दिनुभएको छ । शहरी खानेपानी आयोजनामा देखिएको समस्या केहि दिनभित्रै टुङ्गो लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । ।

प्रतिक्रिया दिनुहोस्