हत्यापछि आत्महत्याको आशंका, शव गन्हाउने अवस्थामा पुगिसक्दा पनि घटना गुपचुप हुनु अचम्म



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना घरमै मृत अवस्थामा भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी पसिसर भक्तपुरले अनुसन्धान सुरु गरेका छन् ।

निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको धारिलो हतियार प्रहार गरी हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ।

शुक्रबार मथिनपा ९ निकोसेरामा उनीहरु शंकास्पद अबस्थामा मृत फेला परेका थिए। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आमा र छोरा दुबैको टाउकोमा गहिरो चोट देखिएकोले सुदिपले दाउ प्रहार गरी हत्या गरेर आफूले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ ।

उनका अनुसार भित्तामा समेत रगतको छिर्का देखिएको छ। फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदिपको बाहिरी चोट देखिँदैन।घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। ऋामा छोराको शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

सुदिपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ।
भान्सामा रहेका भात, तरकारी लगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकोले परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको छ ।कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

भक्तपुर प्रहरी पसिरसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरील शव पोष्टमार्टमका लागि पठाइएकाले घटनाको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने बताउनुभयो ।प्रहरीले शंकास्पद मृत्यु भएको बताए पनि घटनाको विषयमा विस्तृत जानकारी आइसकेको छैन ।हामीले अनुसन्धान थालेका छौं ,घटनाको यथार्थ पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ गिरीले भन्नुभयो ।

मृतकका भाइ सुनिल अधिकारी शुक्रबार घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको थियो । अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा छ भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्ता देखिने अवस्थामा छ। सम्झनाको लास अर्ध नग्न अवस्थामा थियो। छोरा सुशान्तको लास पनि खाटमै घोप्टो अवस्थामा भेटिएको थियो।

घटनास्थल पुगेका प्रत्यक्ष दर्शीका अनुसार हत्या केही दिन पहिले भएको जस्तो देखिन्छ । घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।प्रत्यक्ष दर्शीले भने महानगरीय प्रहरी वृत्त थिमिको एक किलोमिटर भन्दा पनि नजिकको दुरीमा यत्रो ठुलो घटना हुँदा पनि प्रहरीले यत्तिका दिनसम्म सुईको नपाउनु प्रहरीको धेरथोर सुरक्षा कमजोरी भएको गुनासो गरेका छन् ।

शहरकैबीच सडक छेउकै घरमा शव गन्हाइरहेको अवस्थामा पुगीसक्दा पनि प्रहरीले सुईको नपाउनुबाट प्रहरीको कार्यकुशलतामा कमजोर भएको जस्तो देखिएको मृतकका आफन्तको भनाई छ ।घटनाबारे जानकारी पाए लगत्तै भक्तपुर प्रहरी पसिरसरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा घटनास्थलमा पुग्नुभएको थियो ।

प्रहरी अधिकारीका अनुसार घरको कुनैपनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेबी थापाले निषेधाज्ञाका कारण घरमा मानिसको चहलपहल नहुँदा पनि छिमेकीले वास्ता नगरेको हुन सक्छ भन्नुभयो । प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ।

अधिकारी दम्पत्ति पछिल्लो समय आफ्नै घरको भुइँतलामा किराना पसल गर्दै आएका थिए। सुदिप केही समयअघिसम्म भक्तपुरमै रहेको एक औषधि फ्याक्ट्रीमा काम गर्ने गरेको बताइएको छ। पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन्

मध्यपुर थिमि नगरपालिका वडा नं.९ का वडाध्यक्ष रामकाजी चक्रधरले उनीहरुको पुर्खौली घर भने सोही नगरपालिकाको वडा नम्वर ६ मा पर्ने र पछि घर बनाएर उनीहरु यहाँ सरेको जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध अनसन्धान महाशाखाका एसएसपी दीपक थापाले घटनाको प्राविधिकदेखि अन्य पक्षबाट अनुसन्धान सुरु गरिसकेको बताउनुभयो । थापाले भीन्न भीन्न तीन चारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

ढोकामा लगाउने साँचोसहितको ताल्चा सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको प्रहरीले जनाएको छ।घटनास्थलमा फरेन्सिक विज्ञसमेत आएर अनुसन्धान गरेका छन्। घटनामा विषको प्रयोग भए नभएको यकिन गर्न कुनै प्रमाण फेला नपरेको प्रहरीको भनाई छ ।

घटनास्थल नजिकैका छिमेकी लक्ष्मी लामाका अनुसार तीन दिनदेखि उक्त घरका सदस्य बाहिर निस्किएका थिएनन् ।सुदीपका भाइ शुक्रबार घर पुग्दा घरको ढोका आधा खोलिएको थियो। अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थलमा मृतकहरुबीच घटना हुनुअघि कुनै घम्साघम्सी एवं प्रतिवाद भएको देखिँदैन,त्यसैले जसले घटना घटाए पनि योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ ,घरको मूलढोका खुलै रहेको अवस्थाले बाहिरी पक्षबाट घटना घटाएको आशंका पनि गर्न सकिन्छ।

उनका अनुसार घरमा बुढाबुढीबीच कहिलेकाही झैझगडा एवं वादविवाद हुने गरेको थियो तर घरपरिवारका अनुसार ज्यानै लिनुपर्ने स्थितिसम्मको झैझगडा वा विवाद भने नभएको उनको भनाइ छ।उक्त घरमा उनीहरुमात्रै बस्ने भएकाले यो घटनाबारे कसैले थाहा नपाएको हुनसक्ने प्रहरीले जनाएको छ।

आमा छोराको शव गन्हाउन थालेको अवस्थामा भेटिनु तर बाबु सुदीपको शव भने भर्खरै मृत्यु भएजस्तो अवस्थामा भेटिनुले पनि घटनामा बाहिरको मान्छेको संलग्नता नरहेको तर्फ संकेत गरेको ती अधिकारीको भनाइ छ। दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

मृतक सुदीप को शरीरमा कुनै चोटपटक नलाग्नु र थालमा विष फेला पर्नुले विष सेवनबाट मृत्यु भएको आशंका गरिएको छ । अनुसन्धानमा खटिएको प्रहरीले सुदीप डिप्रेशनमा गइसकेको समेत पाइएको बताएको छ। पछिल्लो समय घर बनाउँदाको ऋणले उनी थप तनावमा थिए। उनी लागूऔषध प्रयोगकर्तासमेत भएको पाइएको प्रहरीले जनाएको छ। जसका कारण घटनाको क्लु घरबाहिर हुन नसक्ने आँकलन प्रहरीले गरेको जनाएको छ।

मृत्यु संकास्पद भएकाले उनीहरुको पोष्टमार्टमसँगै भिसेरा परीक्षणसमेत गरिने भएको छ। भिसेरा परीक्षणका लागि मृत शरीरबाट स्प्लीन, लिभर र किड्नीको भाग संरक्षित गरिन्छ तर यसको रिपोर्टमा आउन सामाान्यतया २१ दिन लाग्ने गर्दछ ।

सबैको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) पठाइएको छ। मृत्यु अस्वाभाविक भएकोले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्दै रहेको प्रहरीको भनाई छ ।घटना भएको चारतले घर महानगरीय प्रहरी वृत्त थिमि नजिक निकोसेराबाट सिन्टिटार जाने सडकमा करिब ७०० मिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्